दोस्रो जनकपुर साहित्य महोत्सव फागुनमा


१ फाल्गुन २०७७, शनिबार
Janakpur2021 02 13 02 09 47

काठमाडौं, १ फागुन । मिथिला नगरी जनकपुरमा फागुन १९ देखि २२ सम्म दोस्रो जनकपुर साहित्य महोत्सव हुने भएको छ । नेपाली साहित्यको उन्नयनका लागि जनकपुरमा चार दिनसम्म साहित्य महोत्सव आयोजना गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सो साहित्यको मुख्य आयोजक नवमिथिला फाउन्डेसन हो । यसैगरी बुकहिल पब्लिकेसन तथा सानो पाइला सहआयोजकका रूपमा छन् । सो महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, सभ्यता, राजनीतिलगायत विषयमा १५ सत्रमा ४५ वक्ताहरू सहभागी हुनेछन् । यस सत्रमा १५ जना सहजकर्ताले प्रश्न सोध्ने छन् ।

‘जनकपुर क्षेत्रको उत्थान, साहित्य, सभ्यता र संस्कृतिको प्रचारका निम्ति महोत्सवले दूतको काम गर्नेछ,’ शुक्रबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने, ‘जनक, जानकी र विधापतिको सहरका एतिहासिक, पौराणिक, धार्मिक धरोहरको प्रवर्धनका लागि पनि जनकपुर साहित्य महोत्सवले अहम् भूमिका खेल्नेछ ।’

यसैगरी साहित्य महोत्सवका निर्देशक तथा सञ्चारकर्मी दिलभूषण पाठकले महोत्सवले साहित्य पर्यटनका साथै सारा नेपालीलाई जोड्न मद्दत गर्ने बताए । ‘सामाजिक मूल्य, मान्यता र नैतिकता हराएको बेलामा साहित्य महोत्सवले सबै वर्गका पाठक र आम जनमानसलाई जनकपुर एकताको सूत्रमा जोड्नेछ,’ पाठकले भने, ‘यसले पठन संस्कृतिमा केही योगदान दिने विश्वास छ ।’

यसैगरी महोत्सवका संयोजक मनीष झाले पहिलो संस्करणबाट हौसिएर दोस्रो संस्करणको साहित्य महोत्सव आयोजना गर्न लागेको बताए । यसैगरी डिजिटल संसारको साहित्य महोत्सवमा जोडिन पाउँदा गर्व लागेको मुख्य प्रायोजक फोन पे नेपालका निर्देशक सुवास शर्माले जनाए । नेपालको विभिन्न क्षेत्र वक्ताहरूदेखि भारत र बंगलादेशबाट समेत लेखकहरूको सहभागिता महोत्सवमा हुनेछ !

महोत्सवमा कवि, उपन्यासकार, पत्रकार, मिडिया व्यक्तित्व, अभिनेता, संगीतकार, साहित्यकार, राजनीतिज्ञलगायतका क्षेत्रबाट सहभागिता रहने छन् । महोत्सवमा जनकपुरको सांस्कृतिक, सामाजिक जीवनका झाँकी प्रस्तुत रहनेछ । महोत्सवमा जनकपुरलाई चिनाउने कार्यक्रमको प्रस्तुति समावेश रहनेछ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७