भागरथी हत्याको नवौं दिन : अनुसन्धानमा प्रहरीका तीन टोली, नतिजा शून्य


१ फाल्गुन २०७७, शनिबार
bhagarathi tUKnbr3loj

बैतडी, १ फागुन । बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा अझै पत्ता लागेको छैन । यही माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी भागरथीको शव २२ गते लवलेक सामुदायिक वनमा फेलापरेको थियो । भागरथीको शवको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको उल्लेख छ ।

भागरथीको हत्या भएलगत्तै घटनाको अनुसन्धानमा जुटेको प्रहरीलाई हत्यारा पत्ता लगाउन सकस भएको छ । नेपाल प्रहरीका एसएसपी जनकराज पाण्डे नेतृत्वको टोली सुरुदेखि घटनाको अनुसन्धानमा छ भने माघ २५ गतेपछि डिआइजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले पनि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका डिएसपीको नेतृत्वमा पनि अनुसन्धान टोली खटिएको छ । डिआइजी सुवेदीले अनुसन्धान टोलीलाई आवश्यक निर्देशन दिने, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग बेलाबेलामा भेटेर घटनाका बारेमा जानकारी लिने गरेका छन् । उनी अहिले बैतडीमै छन् । खोचलेक प्रहरीचौकीमा बसेर उनले घटनाको अनुसन्धान गर्दै आएका छन् ।

शव फेलापरेको नौ दिनसम्म पनि दोषी पहिचान नहुँदा पीडित पक्षले न्याय नपाउने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । न्यायका लागि विद्यार्थी सडकमा उत्रिएका छन् । बैतडीसहित विभिन्न जिल्लामा दैनिकजसो भइरहेका प्रदर्शनमा सहभागी विद्यार्थीको एउटै माग छ, ‘भागरथीलाई न्याय देऊ ।’

निर्मला हत्या प्रकरणमा जस्तो अहिले नागरिक समाज, महिला अधिकारकर्मी र राजनीतिकर्मी सडकमा नदेखिए पनि विद्यार्थीले छानबिन गर्ने सम्बद्ध निकायको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम आयोजना गरिरहेका छन् । दबाबमूलक कार्यक्रममा राजनीतिक दलका विद्यार्थी संगठन र युवा संगठन भने देखिएका छन् ।

प्रहरीले घटनाको अनुसन्धानमा सबै संयन्त्र प्रयोग गर्दा समेत दोषी पहिचान हुन नसकेको अधिकारकर्मी देवु ठगुन्नाले बताइन् । प्रहरीले दोषी पत्ता नलगाउँदा स्थानीय दोषी उम्किने र पीडितले न्याय नपाउने हुन् कि भनेर संशकित भएको उनले बताइन् ।

प्रहरीले भने अनुसन्धान जारी रहेको र दोषी चाँडै पत्ता लाग्ने बताउँदै आएको छ । घटनाका दोषी पत्ता लगाउन अनुसन्धान भइरहेको बैतडी जिल्ला प्रहरी प्रमुख डिएसपी अधिकारीले बताए । ‘हामी अहिले पनि अनुसन्धानमै छौं,’ उनले भने, ‘दोषी छिटोभन्दा छिटो पत्ता लाग्छ ।’ घटनासँग जोडिएका विभिन्न पक्षलाई केलाएर अनुसन्धान भइरहेको उनी बताउँछन् ।

सुदूरपश्चिम प्रदेशका प्रवक्ता मुकेश सिंहले घटनास्थलबाट संकलन भएका तथ्य र प्रमाण जाँचपछि हत्यारा पत्ता लाग्ने बताए । उनका अनुसार घटनास्थलबाट संकलन भएको रगत, मोबाइललगायत तथ्य संकलन गरी नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा जाँचका लागि पठाइएको छ ।

‘केही व्यक्तिलाई हामीले शंकाको घेरामा राखेका छौं,’ उनले भने, ‘संकलित तथ्य र प्रमाण जाँच रिपोर्टका आधारमा छिट्टै अपराधी पत्ता लाग्छ ।’ भागरथीको बलात्कार र हत्या एकजनाले गरेको हो वा समूहले भन्ने पनि अझै खुल्न सकेको छैन ।

अहिलेसम्म भागरथीका हत्यारा पत्ता नलाग्नुले घटना योजनाबद्ध हुनसक्ने स्थानीयको अनुमान छ । प्रहरी भने बलात्कार र हत्या आकस्मिक थियो वा योजनाबद्ध भन्ने कुरामा यकिन हुन सकेको छैन । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा दर्जनौं मानिसमाथि अनुसन्धान गरिसकेकाले केही व्यक्तिमाथि सूक्ष्म अनुसन्धान गरी प्रमाण भिडाउने काम भइरहेको जनाएको छ ।

विद्यार्थी त्रसित

भागरथीको बलात्कार र हत्यापछि उनले पढ्ने गरेको सनातन धर्म माविका विद्यार्थी त्रसित भएका छन् । आफ्नै सहपाठीको विद्यालयबाट घर फर्कर्ने क्रममा बलात्कार र हत्या भएपछि उनीहरू त्रसित भएका हुन् । कक्षा १२ मा पढिरहेकी भागरथी विद्यालयमा असल छात्राका रुपमा चिनिन्थिन् ।

घटनाको एक सातापछि विद्यालय खुले पनि विद्यार्थी त्रसित भएको प्रधानाध्यापक बलदेव नाथले बताए । ‘विद्यार्थीले राम्रोसँग पढ्न र हामीले पनि राम्ररी पढाउन सकिरहेका छैनौं । सबै चिन्तित छौं,’ उनले भने ।

मिल्ने साथी गुमाउनु पर्दा बेचैन भएको भागरथीकी साथी रेखा भट्टले बताइन् । ‘सँगै पढ्ने साथी आँखामा झलझली आइरहन्छे,’ उनले भनिन्, ‘ त्यो घटनादेखि विद्यालयका सबै विद्यार्थी त्रासमा छौं ।’ घटनापछि विद्यालय आउजाउ गर्न पनि डर लागेको विद्यार्थी बताउँछन् । यो घटनापछि विद्यार्थी मात्र होइन, अभिभावक पनि डराएका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७