नेकपाद्वारा चौंथो चरणको आन्दोलन घोषणा, मानव साङ्लोले टुँडिखेल घेर्ने (विज्ञप्तीसहित)


२ फाल्गुन २०७७, आईतवार
nekapa 3

काठमाडौं, २ फागुन । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा गरिएको असंवैधानिक नियुक्तिविरुद्ध सडक आन्दोलन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।

नेकपा केन्द्रीय संघर्ष समितिले आज (आइतबार) पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ ।

९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन गर्ने पनि उसले बताएको छ । यसअघि नेकपाले गत माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेका थिए ।

मिति : २०७७-११-०२
प्रेस वक्तव्य
प्रिय पत्रकार मित्रहरू,

सामन्ती निरंकुशतन्त्र एवम् राजतन्त्रको विरुद्ध लोकतन्त्र स्थापनाको आन्दोलनमा ऐतिहासिक महत्वको भूमिका खेल्नुभए जस्तै प्रतिगमन विरुद्ध संविधान र लोकतन्त्र रक्षाको वर्तमान आन्दोलनमा पनि सञ्चार जगत र तपाई पत्रकार मित्रहरूले असाधारण महत्वको योगदान पुर्‍याउनु भएको छ । त्यसप्रति आभार सहित धन्यवाद व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय संघर्ष समिति पत्रकार साथीहरूलाई यस पत्रकार सम्मेलनमा हार्दिक स्वागत गर्दछ । हाम्रो पार्टीको दृष्टिकोण, विचार, नीति र संघर्षका कार्यक्रमहरूलाई जनसमुदाय समक्ष पुर्‍याउन यस अघि झै तपाईहरूको पूर्ण सहयोग रहने विश्वास लिएका छौं ।

२०७७ पौष ५ गते वर्तमान सरकारले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक, निरंकुश र प्रतिगामी कदम चालेपछि नेपालका राजनीतिक पार्टीहरू, नागरिक समाज, बुद्धिजीवि, संविधानविद् तथा कानूनविद्हरू, प्राध्यापक, पत्रकार, मजदूर, किसान, महिला, आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, थारु, पिछडिएका क्षेत्र लगायत सबै उत्पीडित तथा सिमान्तकृत समुदाय, समाजिक संघसंस्थाहरू सहित आम नेपाली जनता संविधान र लोकतन्त्रको रक्षाको निम्ति आ–आफ्नो ठाउँबाट आवाज उठाउदै संघर्षमा उत्रिएका छन् ।

यतिबेला सिंगो देश आन्दोलनमय बनेको छ र निरंकुश सरकारको बढ्दो अवैधानिक, जनविरोधी एवम् दमनकारी निरंकुश क्रियाकलापहरूका विरुद्ध लाखौं–लाख जनसमुदायहरूको सक्रीय सहभागितासहित संघर्ष उर्लदै र चर्कदै गएको छ । यसले स्पष्ट संकेत गरेको छ, आन्दोलन छिट्टै सफलताको बिन्दुमा पुग्नेछ र निरंकुशतन्त्र एवम् प्रतिगमन पूर्ण रुपमा परास्त हुनेछ ।
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय संघर्ष समितिको तर्फबाट सञ्चालन गरिरहेको संघर्ष र आन्दोलनको लक्ष्य र उद्देश्य स्पष्ट छ :

एक, प्रतिनिधि सभा विघटनको असंवैधानिक, निरंकुश एवम् प्रतिगामी कदमलाई खारेज गरी प्रतिनिधि सभा सुचारु गर्न र वर्तमान निरंकुश सरकारद्वारा गलत दिशामा धकेलिएको संविधानलाई पुनः सही ठाउँमा ल्याउन।

दुई, अलोकन्तान्त्रिक ढंगले जारी गरिएको अध्यादेशमार्फत् संवैधानिक परिषद्को अवैधानिक बैठकबाट नियुक्ति सिफारिस गरी संसदीय सुनुवाईको अनिवार्य संवैधानिक प्रावधानको ठाडो उल्लङ्घन गर्दै असंवैधानिक र गैर कानूनी रुपमा गरिएको संवैधानिक अंगका पदाधिकारी एवम् सदस्यहरूको नियुक्ति खारेज गर्न र संविधान एवम् कानून कार्यान्वयनको स्थितिमा ल्याउन ।

तीन, वर्तमान सरकार आफैले प्रतिनिधि सभा विघटनको घोषणा गरिसकेपछि स्वतः कामचलाउ सरकारमा परिणत भइसकेको अवस्थामा त्यस विपरित चलिरहेको अवैधानिक सरकार र यसले गरेका अवैधानिक नियुक्ति, निर्णय एवम् दमनकारी क्रियाकलापहरूलाई खारेज र अन्त्य गर्न ।

चार, राष्ट्रपति संविधान प्रदत्त भूमिकाबाट विचलित भई निरंकुश प्रतिगामी सरकार र सरकारी गुटको सहयोगी जस्तो भूमिकामा देखिएकाले संवैधानिक राष्ट्रपतिको गरिमा र ओजलाई कायम राख्ने वातावरण बनाउन ।

पाँच, संवैधानिक अंग र तिनका पदाधिकारीहरूलाई सरकार र सरकारी गुटले सेटिङ्गको प्रचारसहित अपमान र अबमूल्यन गर्दै निरन्तर दबाब एवम् धम्की दिने कार्य गरिरहेको परिप्रेक्षमा संवैधानिक अंगहरूले सेटिङ्गको प्रचारलाई गलत पुष्टी गर्ने गरी संविधान एवम् कानूनको आधारमा स्वतन्त्र एवम् निश्पक्ष ढंगले काम गर्न पाउने वातावरण सुनिश्चित गर्न र संवैधानिक अंग एवम् पदाधिकारीहरूको रक्षा गर्न ।

छ, अन्ततः प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसहितको ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान एवम् लोकतन्त्रलाई समग्रतामा उल्ट्याई निरंकुशतन्त्र लाद्ने प्रतिगामी षड्यन्त्रलाई पूर्णरुपमा असफल पारी संविधान एवम् लोकतन्त्रको रक्षा गर्न र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक न्याय सहितको समृद्ध नेपाल बनाउन, समाजवादको आधार तयार पार्न र समाजवाद निर्माणको दिशामा अघि बढ्नु नै हाम्रो संघर्षको मुख्य उद्देश्य हो ।

उपरोक्त लक्ष्य एवम् उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर हाम्रो पार्टीले २०७७ माघ २८ सम्मको तीन चरणको संघर्षका कार्यक्रम आम जनसमुदायको व्यापक समर्थन एवम् सहभागितामा सफलतापूर्वक सम्पन्न गरिसकेको छ । हामी संघर्षको कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने सबैमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद प्रकट गर्दछौं । संघर्षको लक्ष्य एवम् उद्देश्य पूरा नभएसम्म संघर्ष जारी राख्ने हाम्रो घोषित नीति एवम् प्रतिबद्धता अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय संघर्ष समिति निम्न अनुसारको अर्को चरणको कार्यक्रमको घोषणा गर्दछ । गतकालमा झै संघर्षलाई समर्थन, सहयोग र सहभागितासहित पूर्णरुपमा सफल पार्न हामी संविधान र लोकतन्त्र पक्षधर सबैमा हार्दिक अपिल गर्दछौं ।

संघर्षका कार्यक्रमहरुः
(१) २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम ।
(२) २०७७ फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम । समय अपरान्ह ४ देखि ५ बजेसम्म ।
(३) २०७७ फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध कार्यक्रम ।
(४) २०७७ फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमन विरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन कार्यक्रम ।
(५) २०७७ फागुन ८ गते काठमाडौंमा प्रतिगमन विरुद्ध वृहत् अन्तरक्रिया कार्यक्रम ।
(६) २०७७ फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम ।
(७) २०७७ फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रम ।
(८) २०७७ फागुन ११ गते मधेशी, आदिबासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको साँस्कृतिक पहिचानसहितको संयुक्त विरोध कार्यक्रम ।
(९) २०७७ फागुन १२ गते चितवन, फागुन २१ गते दाङ्ग र जनकपुर, नेपालगञ्ज, लगायतका शहरहरूमा विरोध प्रदर्शन र सभा ।
(१०)संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवम् मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूको निरन्तरता ।
(११) २०७७ फागुन १४ गते काठमाडौंमा युवा र्‍याली ।
(१२) २०७७ फागुन १५ गते किसान र सुकुम्बासी मोर्चाको काठमाडौंमा विरोध कार्यक्रम ।
धन्यवाद !

नारायणकाजीश्रेष्ठ
संयोजक
केन्द्रीय संघर्ष समिति

b
b1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७