२० लाख खोप किन्ने सरकारको तयारी

आइतबारदेखि थालिएको दोस्रो अभियानमा दुई लाख ६२ हजार ८७६ जनलाई खोप लगाइने


३ फाल्गुन २०७७, सोमबार
Khop2021 02 15 03 34 49

काठमाडौं, ३ फागुन । सरकारले कोरोनाविरुद्धका २० लाख डोज खोप किन्ने प्रक्रिया अघि बढाएको छ । भारतले अनुदानमा दिएको ‘कोभिसिल्ड’ खोप नै खरिद गर्ने सरकारको तयारी छ । तर, उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियासँग मूल्यको कुरा अझै टुंगिसकेको छैन ।

खोप खरिदको प्रस्तावसहितको फाइल स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले व्यवस्थापन महाशाखामा पठाएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र सचिव लक्ष्मण अर्यालले यस विषयमा थप छलफल गरिरहेका छन् । अर्थ मन्त्रालयले खोप खरिद गर्न दुई अर्ब विनियोजन गरिसकेको छ ।

भारतलाई बेचेकै मूल्यमै खोप उपलब्ध गराउन नेपालले सेरमलाई आग्रह गरेको छ । भारतले प्रतिडोज चार डलरमा खरिद गरेको थियो । तर, सेरमले नेपाललाई ढुवानी मूल्यसमेत गरेर प्रतिडोज साढे चार डलरमा मात्रै उपलब्ध गराउन सक्ने बताएको थियो । तर, पछिल्लो समय २० लाख डोज चार डलरकै मूल्यमा उपलब्ध गराउन कम्पनी सकारात्मक देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘हाम्रोतर्फबाट सबै तयारी पूरा भएको छ, खोप उत्पादन गर्ने कम्पनीले चार डलरमा दिने औपचारिक निर्णय गरेपछि तत्काल ल्याउँछौँ,’ व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले भने । स्वास्थ्य मन्त्रालयले सोझै कम्पनीबाट खरिद गर्ने उनले बताए ।

हालसम्म नेपालमा ‘कोभिसिल्ड’बाहेक अन्य खोपले प्रयोगको अनुमति पाएको छैन । यसअघि भारत सरकारले १० लाख डोज यही खोप अनुदानमा उपलब्ध गराएको थियो । आइतबारदेखि सुरु भएको पहिलो चरणको दोस्रो अभियानमा दुई लाख ६२ हजार आठ सय ७६ जनालाई खोप लगाउने सरकारको योजना छ । पहिलो अभियानमा एक लाख ८७ हजार आठ सय २५ जनाले खोप लगाएका थिए ।

भारतले अनुदानमा दिएको १० लाख डोजभित्रबाटै दोस्रो अभियान चलिरहेको छ । चार लाख ३० हजारलाई अनुदानको खोप लगाउने सरकारको लक्ष्य रहेको परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

पहिलो अभियानमा छुटेका स्वास्थ्यकर्मी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र कर्मचारी, निजामती सेवाका कर्मचारी, नेपाल प्रहरी, सीमामा खटिएका सशस्त्र प्रहरी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, न्याय सेवा समूहका कर्मचारी र पत्रकारलाई दोस्रो अभियानमा खोप दिइनेछ । पहिलो चरणको खोप अभियान १४ माघदेखि ११ दिनसम्म चलेको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७