उत्तराखण्डमा हिमपहिरोमा परेकामध्ये ५० जनाको शव भेटियो, १५० अझै बेपत्ता


३ फाल्गुन २०७७, सोमबार
22c9dbfc39362e0731dbfe72b8e843ae w1000 h500 cp 1

काठमाडौं, ३ फागुन । एक साताअघि भारतको उत्तराखण्डमा आएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये ५० जनाको शव भेटिएको छ ।

भेटिएका शवमध्ये अहिलेसम्म २५ जनाको मात्रै पहिचान नभएको स्थानीयप्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । ‘कूल शवमध्ये १२ वटा शव आइतबार भेटिएको हो । तीमध्ये पाँच वटा तपोवन सुरुङमा, छ वटा रानीवन गाउँमा र अर्को एउटा शव रुद्रप्रयागमा भेटिएको हो,’ प्रहरी कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

शवबाहेक घटनास्थलबाट अरु २३ वटा मानव अङ्ग पनि भेटिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । चमोली जिल्लाका विभिन्न ठाउँबाट मानव अङ्गहरू भेटिएका हुन् । घटनास्थलमा भेटिएका शवहरूको डीएनए परीक्षण गर्ने र पहिचान गर्ने तयारी भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

हिमपहिरोका कारण अरु झण्डै १५० जना अझै पनि हराइरहेका छन् । बेपत्ता भएका अधिकांश व्यक्ति विद्युत गृहमा कार्यरत मजदुर हुन् । उत्तराखण्डमा गत आइतबार विद्युतगृह भएको ठाउँमा हिमपहिरो गएको थियो ।

मृतक तथा बेपत्ता भएका व्यक्तिहरू भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बङ्गाल, विहार, झारखण्डका छन। त्यसैगरी बेपत्ता हुने केही व्यक्ति नेपाली पनि छन् । हिमपहिरोका कारण तीव्र बेगको पानी र हिउँले पुल, सडक र दुई वटा विद्युतगृहमा ठूलो क्षति पुगेको छ । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुङ्गाका कारण सुरुङभित्रै थुनिएका व्यक्तिहरूको खोजी तथा उद्धार प्रयास अझै पनि जारी छ । राष्ट्रिय र राज्य उद्धार टोली, सेना र प्रहरीका टोली घटनास्थलमा खटिएका छन् ।

भारतीय अधिकारीले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन् । तर यो हिमताल विष्फोट भएर हिमपहिरोमा परिणत भएको र त्यो नदीमा खसेको पाइएको छ । विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण त्यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र विस्तारै सुक्दै गएका छन् भने जलविद्युत् निर्माणले पनि हिमपहिरा बढी नै जान थालेको विज्ञले औँल्याएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७