देउवाको निष्कर्ष : नेकपाको झगडाले कांग्रेसमा समस्या

हाम्रै पार्टीमा कोही केपी ओली ठीक भन्छन्, कोही प्रचण्ड : देउवा


४ फाल्गुन २०७७, मंगलवार
deuwa

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि नेकपाका दुवै समूह ठुल्ठूला सभा गर्दै देश दौडाहामा छन् । तर, कांग्रेसले भने संसद् विघटनको विरोधमा सोमबार बल्ल जिल्लास्तरीय शक्ति प्रदर्शन र विरोध सभा गरेको छ ।

तेस्रो चरणको अन्तिम विरोध कार्यक्रममार्फत कांग्रेसले संसद् विघटनको मुद्दामा अदालततिर ध्यान केन्द्रित गरेको छ । यसपटक पनि नेताहरूले गुटगत रूपमा विभाजित मत व्यक्त गरे । तर, सबैको बोली अदालतको फैसलातर्फ केन्द्रित देखियो । सभापति शेरबहादुर देउवाले नेकपाको झगडाले आफ्नो पार्टीमा समस्या आएको बताए ।

‘गिरिजाप्रसाद कोइरालाले राजालाई हटाएर प्रचण्डलाई भारतबाट ल्याएर सत्तामा पुर्‍याए । तर, प्रचण्ड आफै राजा हुन अघि सरे, अहिले ओली र प्रचण्ड राजाभन्दा पनि ठूलो राजा हुन खोजे, त्यहीकारण उनीहरूको झगडा भयो,’ देउवाले भने, ‘अब अहिले आपसमा कुर्सीका लागि मारामार भयो, हाम्रोमा त यस्तो झगडा कहिल्यै छैन, बरु उनीहरूको झगडाले हामीलाई समस्या परिराखेको छ, हाम्रै पार्टीमा कोही ओली ठीक भन्छ, कसैले प्रचण्ड ठीक भन्छ । तर, हामी कतैतिर लागेर काम गरेका छैनौं ।’

देउवाले अदालतमा विचाराधीन मुद्दामा बोल्न नहुने भन्दै अदालतले निष्पक्ष निर्णय दिने विश्वास रहेको बताए । ‘अदालतले संसद् फिर्ता गर्छ भने पनि हामीलाई ठीक छ, चुनावतिर जाऔँ भन्यो भने पनि ठीक छ, सर्वोच्च अदालतभन्दा ठूलो अर्को अदालत छैन,’ देउवाले भने, ‘त्योभन्दा ठूलो जनता हो । अदालतले जनतामा जाने बाटो देखाइदियो भने पनि हामी तयार छौँ ।’

रुपन्देही कांग्रेसले भैरहवामा गरेको विरोध सभामा सभापति देउवाले ओली र प्रचण्डलाई राम्रो वकिल राख्न सुझाब दिए । ‘अदालतले जसको ठूलो जुलुस हुन्छ, उसको पक्षमा फैसला गर्ने होइन, जुलुस निकालेर यो गर, त्यो गर भन्नु गलत छ,’ देउवाले भने, ‘प्रचण्डको ठूलो जुलुस हुन्छ कि ओलीको ठूलो जुलुस हुन्छ ? अदालतले त्यो हेर्दैन । त्यस्तो भए त अदालत नै किन चाहियो । जसको जुलुस ठूलो हुन्छ, उसले भनेको माने भइगो !’

देउवाले पार्टीमा आफूले अदालतको निर्णय पर्खियौँ भनेर प्रस्ताव गर्दा कांग्रेसभित्रै कसैले नमानेको गुनासो पोखे । ‘अदालतको निर्णय पर्खियौँ, निर्णय हुन दियौँ, त्यसपछिचाहिँ हामीले निर्णय गरौँला भन्दा हाम्रै पार्टीमा कसैले के भन्छ, कसैले के भन्छ,’ उनले भने, ‘स्वतन्त्र न्यायपालिका मान्ने भए त अदालतलाई पर्खिनुपर्‍यो । अदालतले निष्पक्ष न्याय दिन्छ भन्ने हामीलाई विश्वास छ । अहिले नै हामीले यो वा ऊ भन्ने कुरा छैन ।’

देउवाले नेकपाको चुनाव चिह्नको झगडाको समाधानका लागि समेत सुझाब दिए । ‘चुनाव चिह्नमा झगडा छ भने आयोगले किन दिँदैन ? चुनाव चिह्न कसलाई दिने भनेर निर्णय गराउन नसक्ने आयोग कस्तो ?’ देउवाले भने, ‘सूर्य त एउटै छ, दुईटालाई कसरी दिन्छ ? एउटै सूर्य भाग लगाउन मिल्छ र ? आयोगले एउटालाई त्यो चुनाव चिह्न दिनुपर्‍यो, त्यसमा अदालतलाई पर्खिनुपर्ने कुरै छैन ।’ देउवाले कम्युनिस्टलाई कानुनले झगडा नगराएको बताए । ‘उनीहरू न त आफ्नो झगडा मिलाउन सक्छन्, न फुट्छन्, यो उनीहरूको तमासा मात्रै हो, कानुनले झगडा गराएको पनि होइन,’ उनले भने, ‘हामीलाई उनीहरूको तमासा हेर्ने रहर छैन ।’

देउवाले निर्वाचन आयोगले चुनावको तयारीका लागि अदालतको फैसला कुर्न नपर्ने बताए । ‘संसद्को विघटन भएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्छ, कमसेकम जेठको अन्तिमसम्म चुनाव गराउनैपर्छ । चुनाव गराउने हो भने प्रक्रिया सुरु गर्नुपर्‍यो । अहिलेसम्म चुनावको कार्यक्रम किन बाहिर ननिकालेको ?’ देउवाले भने ।

उनले निर्वाचन आयोग पनि संविधानभन्दा बाहिर जान नसक्ने बताए । ‘संविधानको कुरा आयोगले मतलब नै गरेको छैन, म यहीँबाट आयोगलाई भन्न चाहन्छु, संसद् विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ । ओलीले वैशाखमै चुनाव गराउँछु भनेका छन् । यही कुरा निर्वाचन आयोगले किन नभनेको ?’ देउवाले आयोगलाई प्रश्न गर्दै भने, ‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने वेला भएको छ ।’

उनले निर्वाचन आयोगले अदालतको निर्णय पर्खिनुको अर्थ नभएको बताए । ‘निर्वाचन गर्ने भए कार्यतालिका ल्याए भइहाल्यो, यदि अदालतले संसद् पुनस्र्थापना गर्‍यो भने बन्द गरे भइहाल्छ । तर, आयोगले ६ महिनाभित्र निर्वाचन गराउँछु भनेर जनतालाई भन्नुपर्‍यो,’ देउवाले भने । उनले लोकतान्त्रिक व्यवस्थामा पार्टीले चुनावमा जाने वा नजाने भनेर भन्नुनपर्ने बताए । ‘चुनाव त कुनै वेला पनि हुन सक्छ भनेर तयार हुनुपर्‍यो । बेलायतमा त्यस्तै छ, फ्रान्समा त्यस्तै छ । कम्तीमा आयोगले म चुनाव गराउन तयार छु भनेर बोल्नुपर्‍यो,’ उनले भने ।

देउवाले ०७४ को आमनिर्वाचनभन्दा अघि आपूmले कम्युनिस्टको सरकार आए हाँस्न, बोल्न र रुन पनि नदिने भनेको सम्झाए, ‘मैले रुन पनि पाइँदैन भनेको थिएँ, अहिले त्यस्तै अवस्था छ । गाउँ–गाउँ मान्छेलाई पुलिस लाउँछु भन्या छ, थर्काएको छ, कर्मचारीलाई सरुवा गरिदिन्छु भन्छ, थर्काउँछ, पुलिस प्रशासनलाई उस्तै ।’ देउवाले सरकारले आफ्नो तीनवर्षे कार्यकालमा मनपरी गरेको आरोप लगाए । ‘सबैलाई कम्युनिस्ट पार्टीले तलब दिएको होइन । जनताले तिरेको पैसाले तलब खाने वर्गलाई पार्टीको काममा लगाउन पाइँदैन,’ उनले भने ।

धादिङमा भएको विरोध सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनस्र्थापनाको विकल्प नभएको दोहोर्‍याउँदै नेपालमा न्यायालय र न्याय जिउँदो छ या छैन भन्ने कुरा अदालतको फैसलामा निर्भर भएको बताए । ‘संविधान हेरेर फैसला गर्ने न्यायालय र न्यायमूर्ति छ कि छैन ? संसद् विघटन, राष्ट्रघात, जनघात र वितण्डा भएको छ, मलाई अदालतमाथि विश्वास छ, संसद्को पुनस्र्थापना हुन्छ,’ पौडेलले भनेका छन् ।

संसद् पुनस्र्थापना हुन नदिए कम्युनिस्टले नै चुनाव पनि हुन नदिने बताए । ‘संसद् विघटन गर्ने, अनि चुनाव पनि गर्न नदिने ? देशमा कस्तो व्यवस्था ल्याउन खोजिएको हो । यसले देश दुर्घटना पर्छ । संसद् पुनस्र्थापना नभए नेपालमा भीषण द्वन्द्व निम्तिने खतरा छ,’ उनले भने । पौडेलले कांग्रेसले पहिले संविधान जोगाएर मात्रै चुनावतिर जाने बताए ।

‘यो संविधान बनाउनका लागि ६० वर्ष संघर्ष गरेका छौँ, संविधानसभामा ६६ वर्ष कम्युनिस्टसँग संसदीय व्यवस्था राख्नका लागि लडेको मान्छे म यहीँ छु । लोकतान्त्रिक संविधान बनाएको, जनतालाई सबैभन्दा शक्तिशाली बनाउनका लागि हो, कसैलाई महेन्द्र र मोहनशमशेरको जस्तो अधिकार दिनका लागि होइन,’ पौडेलले भने, ‘त्यसैले कांग्रेसले सबैभन्दा पहिला लोकतन्त्र र संविधान हेर्छ । अनि मात्र चुनाव हेर्छ ।’ सरकारका तीन वर्ष सम्झिँदै नेता पौडेलले ओली सरकारले देशमा समस्या मात्रै पैदा गरेको बताए ।

गृहजिल्ला झापाबाट नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा विघटनको मुद्दामा अदालतले जनताको पक्षमा फैसला गर्ने दोहोर्‍याए । उनले ओलीलाई त्योभन्दा अगावै गल्ती सच्याउनसमेत सुझाब दिए । ‘कांग्रेसको तर्फबाट खुला दिलबाट भन्न चाहन्छु, प्रधानमन्त्री ज्यू तपाईं मति सुधार्नुस्, दिल सुधार्नुस्, तपाईंको मन शुद्धीकरण गर्नुस्, तपाईंको सानो दिल भएको स्वार्थको घेराबन्दीमा काम गरेर देश बन्दैन,’ सिटौलाले भने, ‘तपाईं अरूलाई ढाँट्न सक्नुहुन्छ, तर आफ्नै आत्मालाई कहिल्यै ढाँट्न सक्नुहुन्न ।’ सिटौलाले ओलीले संविधानमाथि नै आगो लगाउने खतरा बढेको बताए ।

पोखरामा भएको विरोध सभामा बोल्दै नेता प्रकाशमान सिंहले अदालतले प्रतिनिधिसभाको पुनस्र्थापना गर्छ भन्ने विश्वास रहेको बताए । ‘संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा छ, अब न्यायमूर्तिहरूले न्याय दिँदा संविधानको व्यवस्था र भावनालाई हेरेर दिनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने । नेता सिंहले भने, ‘हिजो राजा ज्ञानेन्द्रले शाही आयोग गठन गरे, त्यो वेला अदालतले त्यसलाई असंवैधानिक ठहर गर्‍यो, अहिले पनि असंवैधानिक भनेर निर्णय गर्छ भन्ने विश्वास छ ।’

सिराहामा भएको विरोध सभामा सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेस चुनावका लागि तयार हुनुपर्ने बताएका छन् । ‘अब संसद् पुनस्र्थापना भए पनि चुनाव हुन्छ, नभए त झन् छिट्टै चुनाव हुनुपर्छ, त्यसैले अब ढिलोचाँडो चुनाव हुन्छ । कांग्रेस चुनावका लागि तयार हुनुपर्छ,’ डा. महतले भनेका छन्, ‘हामीलाई जतिसक्दो चाँडो संसद् चाहिएको छ ।’

सहमहामन्त्री डा. महतले कांग्रेसले ठुल्ठूला सहरमा सभा नगरेर वडास्तरमै पुगेर जनतालाई जागरुक गराउँदै सरकारका गलत गतिविधिको विरोध गरेको बताए । ‘प्रचण्ड–माधवले जस्तो खानपानसहित बस निःशुल्क गरेर कार्यकर्तालाई काठमाडौं ल्याएर विरोध गरेनौँ,’ उनले भने, ‘हामीले जनताको घरदैलोमै गएर विरोध गर्‍यौँ । त्यो जनताको जागरणका लागि हो, जनतालाई कुरा बुझाउनका लागि हो ।’

ललितपुरमा भएको विरोध सभामा बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको एउटा गुटसँग मिलेर कांग्रेसले संयुक्त आन्दोलन नगर्ने बताए । ‘संसद् विघटनविरुद्ध कांग्रेस आन्दोलनमा छ, तर संयुक्त आन्दोलनमा किन छैन ? भनेर प्रश्न उठिरहेको छ,’ शर्माले भने, ‘कांग्रेसले कुनै राजनीतिक दलसँग सहकार्य गर्न सक्छ र संयुक्त आन्दोलनमा जान सक्छ । तर, एउटा पार्टीको गुटको सहकार्यमा अर्को गुटको विरोधमा संयुक्त आन्दोलनमा जान सक्दैनौँ ।’

प्रवक्ता शर्माले प्रचण्ड र माधव नेपालहरू पनि ओलीकै नेतृत्वको सरकारमा दुई वर्ष १० महिनासम्म बसेर छुट्टिएकाले त्यसको समान भागीदार भएको बताए । ‘उहाँहरू दुई वर्ष १० महिनासम्म त एउटै सरकारमा सँगै हुनुहुन्थ्यो, अहिले दुई महिना मात्रै त हो उहाँहरू छुट्टिएको । यो सरकारले गरेका भ्रष्टाचारका काण्डमा उहाँहरू बोल्नुभएन । अस्पतालमा उपचार नपाएर मान्छे मर्दा उहाँहरू बोल्नुभएन,’ उनले भने, ‘अहिले कुर्सीका लागि उहाँहरूको झगडा हो, त्यसैले हामी अहिले संयुक्त आन्दोलनमा जान सक्दैनाँै ।’

सुनसरीमा भएको विरोध सभामा नेता डा. शेखर कोइरालाले कांग्रेसले अदालतमा विचाराधीन रहेको प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासमा बसिरहेका न्यायधीशहरूलाई दबाब वा आग्रह नगरेको बताए । ‘संविधानको व्याख्या गर्ने न्यायमूर्तिहरूले आफ्नो विवेक नगुमाई निर्णय गर्नुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ, हाम्रो दबाब वा प्रभाव केही पनि छैन,’ उनले भने ।

चितवनको विरोध सभामा बोल्दै नेता गगन थापाले कांग्रेस संविधानको पक्षमा रहेको दाबी गरे । ‘साथीहरू प्रश्न गर्नुहुन्छ– तपाईंहरू संसद् पुनस्र्थापनाको पक्षमा हो कि ? चुनावको पक्षमा ? । म भन्छु यो प्रश्नै गलत छ,’ नेता थापाले भने, ‘तपाईं नेपालको संविधानको पक्षमा हो कि होइन भन्ने मूल प्रश्न हो । संविधानको विघटन हुँदै गर्दा हामी संविधानको पक्षमा उभिने कि नउभिने भन्ने कुरा आजको मुख्य प्रश्न हो, कांग्रेस संविधानको पक्षमा छ ।’

उनले प्रधानमन्त्रीको धम्कीसँग अदालत डराउनु नहुने बताए । ‘मेरो अदालत प्रधानमन्त्रीको धम्कीसँग नडराओस्, मेरो कुरा पनि नसुनोस्, यो सभा पनि नहेरोस्, उहाँको वा प्रचण्डको सभा पनि नहेरोस्, अदालतले केवल धारा मात्रै हेरोस्, आफ्नो धर्म मात्र निर्वाह गरोस्,’ नेता थापाले भने । नेता थापाले प्रधानमन्त्री ओलीलाई राष्ट्रपतिलाई मिलाएजस्तो अदालतलाई मिलाउन सहज नभएको चुनौती दिए ।

दैलेखमा भएको विरोध सभामा युवा नेता प्रदीप पौडेलले केपी ओली सरकारले तीन वर्षमा जनताका लागि केही पनि गर्न नसकेको बताए । ‘प्रधानमन्त्रीले ओम्नीलाई कतिवटा ठेक्का दिए, र यती होल्डिंग्सलाई कतिवटा सरकारी सम्पत्ति जिम्मा लगाए भन्ने कुरा नेपाली जनताका लागि उपलब्धिको विषय होइन,’ पौडेलले भने, ‘यो तीन वर्षमा केपी ओलीजीले जनताका निम्ति केही पनि काम गर्नुभएन । तीन वर्षको अवधिमा यो सरकारले एउटा पनि नयाँ परियोजना ल्याउन सकेन ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७