भाजपाको योजना खुलासा, नेपालमा यही वेला साम्प्रदायिक गतिविधि : सुनियोजित हो कि संयोग ?


४ फाल्गुन २०७७, मंगलवार
front story2021 02 16 03 28 38

काठमाडौं, ४ फागुन । भारतको दक्षिणपन्थी भाजपाले आफ्नो संगठन के नेपालसम्म विस्तार गर्न खोजिरहेको छ ? आफ्नो देशलाई हिन्दू र अल्पसंख्यकमा विभाजित गरेर शासन गरिरहेका नरेन्द्र मोदी यो संक्रमण के छिमेकमा पनि विस्तार गर्न चाहन्छन् ? त्रिपुराका मुख्यमन्त्री विप्लव देवले भारतीय गृहमन्त्री अमित शाहलाई उद्धृत गर्दै नेपालको विषयमा बोलेको विषयले धर्मनिरपेक्ष नेपाललाई चिन्तित बनाएको छ ।

विप्लव देवमार्फत सार्वजनिक भएको अमित शाहको भनाइ किन पनि गम्भीर छ भने भाजपाको विचारधारात्मक माउ संस्था हिन्दू स्वयंसेवक संघ (आरएसएस) ले नेपालमा अहिले आफ्ना कार्यक्रम तीव्र बनाएको छ । यता, कोभिड महामारीका वेला एउटा पनि भेन्टिलेटर किन्न कञ्जुस्याइँ गरेको तथा खोपका लागि चन्दा उठाइरहेको सरकारले अहिले पशुपतिको शिवलिंगमा भने एक सय ४१ किलो सुनको जलारी चढाउने निर्णय यही वेला गरेको छ ।

त्रिपुराका मुख्यमन्त्री विप्लव देवले सन् २०१८ मा भाजपाका तत्कालीन अध्यक्ष अमित शाह त्रिपुरा भ्रमणमा आउँदाको प्रसंग सार्वजनिक गरेका हुन् । उनले भने, ‘अमित शाह त्रिपुरा आउनुभएको थियो, हामी स्टेट गेस्टहाउसमा उहाँसँग कुरा गर्दै थियौँ । (भाजपा महासचिव) अजय जमवालले भारतका सबैजसो राज्यमा सरकार बनाएको प्रसंग उठाउनुभयो । जवाफमा अमित शाहले भन्नुभयो– श्रीलंका र नेपालमा सरकार बनाउन अझै बाँकी छ । हाम्रो पार्टीलाई श्रीलंका र नेपालमा विस्तार गर्नुपर्छ र त्यहाँ पनि सरकार बनाउनुपर्छ ।’

नेपालमा पनि संगठन विस्तार गर्नुपर्छ भनेर अमित शाहले भनेका हुन् भने पनि उनको बोली निरर्थक होइन । किनकि पछिल्ला दिनमा नेपालमा हिन्दू स्वयंसेवक संघको ब्यानरमा कार्यक्रम तीव्र भएका छन् । भारतमा पनि राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)कै नेतृत्वमा संगठित रूपमा हिन्दूधर्म प्रचार हुँदै आएको छ । स्वयं नरेन्द्र मोदी पनि आरएसएसमा हुर्किएका धर्म प्रचारक हुन् । आफ्नो धर्म प्रचार गर्नेभन्दा पनि अल्पसंख्यकविरुद्ध घृणा फैलाएर शक्ति हत्याउने र सत्तामा टिकिराख्ने रणनीतिका कारण विश्वभरका उदारवादीहरूले मोदीको आलोचना गर्दै आएका छन् ।

हिन्दू स्वयंसेवक संघ नेपालको राष्ट्रिय सम्मेलन २४ माघमा वीरगंजमा भएको थियो । सम्मेलनको उद्घाटन संघका राष्ट्रिय सह–सञ्चालक एवं पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक कल्याण तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा उनल उनले देशमा हिन्दूलाई विभिन्न धर्म परिवर्तन गराएर हिन्दूत्वको संस्कृतिलाई केही तत्वले ओझेलमा पार्ने काम गरेकोले सावधान हुन अपिल गरेका थिए । उद्घाटनपछि हिन्दू स्ववयंसेवकहरूले बाजागाजासहित वीरगंजमा मार्चपास गरेका थिए ।

भारत सरकारसँग नेपालको चासो, राजदूत आचार्यले विदेश मन्त्रालयसँग मागे प्रस्टीकरण

अमित शाह र विप्लवदेवको विवादास्पद भनाइबारे नेपाली र भारतीय सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सोमबार दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयसँग चासो राखेको छ ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क हेर्ने उत्तरी डिभिजनका सहसचिव अरिन्दम बाग्चीसँग यसबारे चासो राखेका छन् । कूटनीतिक स्रोतका अनुसार भारत सरकारका बहालवाला गृहमन्त्रीले दिएको अभिव्यक्तिलाई नेपालले गम्भीर रूपमा लिएको भन्दै स्पष्ट पार्न राजदूत आचार्यले आग्रह गरेका थिए । यसबारे आचार्यले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि जानकारी गराइसकेका छन् ।

‘भारतीय विदेश मन्त्रालयका अधिकारीले गृहमन्त्रीबाट त्यस्तो अभिव्यक्ति नआएको र भारत सरकारले त्यस्तो सोच्न पनि सक्दैन भन्ने प्रतिक्रिया दिएका छन्, सार्वजनिक रूपमा पनि भारतीय विदेश मन्त्रालयले यसबारे प्रतिक्रिया दिने सम्भावनाा छ,’ कूटनीतिक स्रोतले भन्यो । दिल्लीस्थित श्रीलंकाली दूतावासले पनि यसबारे भारतीय विदेश मन्त्रालयसँग चासो राखेको छ ।

त्रिपुरास्थित सिपिआइएमका नेता तथा पूर्वसांसद जितेन्द्र चौधरीले टिप्पणी गरेका छन्, ‘मुख्यमन्त्री देवमा संविधान, लोकतन्त्र र संवैधानिक क्षेत्राधिकारबारे ज्ञान रहेनछ । अमित शाहले नेपाल, बंगलादेश र श्रीलंकामा सरकार गठन गर्ने मिसन छ भनेर बोलेको विषयमा मुख्यमन्त्रीले वक्तव्य दिएछन् । यसको अर्थ उनीहरूले अर्को देशको मामिलामा हस्तक्षेप गरिरहेका छन् ।’

चौधरीले भनेका छन्, ‘वर्तमान गृहमन्त्री अमित शाहले नेपालविरुद्ध यो प्रान्तमा षड्यन्त्र गरेका छन् । भाजपाले यसबारे जवाफ दिनुपर्छ र प्रधानमन्त्री नरेन्द्र मोदीले नै यस विषयमा स्पष्ट पार्नुपर्छ ।’ गृहमन्त्री शाह स्वयंले यसबारे जवाफ दिनुपर्ने उनको भनाइ थियो ।

त्रिपुरा राज्यका कंग्रेस उपाध्यक्ष तापस देईले भारत साम्राज्यवादमा विश्वास नगर्ने बताएका छन् । ‘त्रिपुराका मुख्यमन्त्री साम्राज्यवादका सहयोगी हुनु अत्यन्तै दुर्भाग्यपूर्ण छ । नेपाल र श्रीलंका दुवै सार्वभौम देश हुन् र हामी उनीहरूको आन्तरिक मामिलामा हस्तक्षेप वा केही गर्न सक्दैनौँ,’ देइले भनेका छन् ।

त्रिपुराका मुख्यमन्त्री देवले यसअघि भारतमै दिएका विवादास्पद अभिव्यक्ति अझै चर्चामा छन् । उनले केही वर्षअघि इन्टरनेट र भूउपग्रह महाभारतकै समयदेखि अस्तित्वमा रहेको अभिव्यक्ति दिएका थिए । उनले लोकसेवा आयोग (सिभिल सर्भिस एक्जामिनेसन) सिभिल इन्जिनियरहरू मात्रै सहभागी हुनुपर्ने पनि बताएका थिए । देवको नेतृत्वमा भारतमा कम्युनिस्टहरूको गढ मानिने त्रिपुरा राज्यमा तीन वर्षअघि भारतीय जनता पार्टीले बहुमत हासिल गरेको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७