नक्कली काजमा करोड खर्च


४ फाल्गुन २०७७, मंगलवार
BPKIHS file photo scaled
w/fgl:yt jLkL sf]O/fnf :jf:Yo lj1fg k|lti7fg . t:jL/M k|bLk d]Gofªaf]÷sflGtk’/

काठमाडौं, ४ फागुन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तत्कालीन उपकुलपति प्राडा राजकुमार रौनियारले आफ्नो काज आफै स्वीकृत गरेको तथ्य खुलेको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनमा उपकुलपति रौनियारले आफैँ काज स्वीकृत गरेको पाइएको हो ।

उनले काठमाडौंदेखि विराटनगरसम्म ४० पटक गरेको हवाईयात्राको औचित्य पुष्टि गर्ने प्रमाण फेला परेको छैन । रौनियारविरुद्ध डेढ वर्षदेखि आफ्नो काज आफैँ स्वीकृत गर्दै पद जोगाउन प्रतिष्ठानको खर्चमा हवाईजहाजमा काठमाडौं जाने–आउने गरेको आरोप छ । यसका साथै तीनतारे होटलमा बस्ने, खाने गरेर करोडजति रकम हिनामिना गरेको भन्दै परेको उजुरीसम्बन्धी सतर्कता केन्द्रले छानबिन गरेको हो ।

छानबिनमा उपकुलपति रौनियारले सन् २०१८ जुलाई ६ देखि सन् २०१९ मार्चसम्म पटक–पटक गरी २ लाख २८ हजार ८ सय बराबरको हवाई यात्रा गरेको देखिएको छ । सन् २०१८ अगस्ट ९, २४, २७, अक्टोबर ५, १०, नोभेम्बर २१, २३, २६ र सन् २०१९ फेब्रुअरी २१ को बोर्डिङ पास पेस नगरेको तथा सन् २०१८ डिसेम्बर २३ को बोर्डिङ पास अर्कै व्यक्तिको नाममा पेस गरेको छानबिनमा देखिएको छ ।

सन् २०१८ नोभेम्बर २ को टिकटमा ६ हजार ९ सय उल्लेख भएको देखिन्छ । तर, मेडिया ट्राभलको नाममा ७ हजार ९ सय को बिल पेस गरेर हिनामिना गरेको देखिएको छ । सतर्कताको प्रतिवेदनमा भ्रमण गर्दा प्रयोग गरेको भ्रमण साधन हवाईजहाजको टिकट र बोर्डिङ पास पेस भए पनि भ्रमणको औचित्व पुष्टि गर्ने प्रमाण पेस गर्न नसकेको पाइएको छ ।

उपकुलपति डा. रौनियार काठमाडौं आउँदा तीनतारे होटल मनास्लुमा बस्ने गरेको देखिएको छ । होटल खर्चबापत ९२ हजार ५४१ को बिल बीपी प्रतिष्ठानको नाममा पेस गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार उनले ०७५ साल साउन १ देखि चैत ९ सम्म पटक–पटक गरी ५ लाख ६४ हजार ४६० बराबरको दैनिक भ्रमण खर्च बुझेका छन् ।

छानबिन गर्दा भ्रमणको औचित्य पुष्टि गर्ने प्रमाण पेस गरेको नदेखिएकाले यो भ्रमणलाई कानुन सम्मत भन्न नमिल्ने देखिएको सतर्कताले जनाएको छ ।

प्रतिष्ठानको जिम्मेवार पदाधिकारीलाई भ्रमण आदेश स्वीकृत गर्दा भ्रमण गर्नुपर्नाको कारण पुष्टि गर्ने प्रमाण पेस गरेपछि मात्र स्वीकृत गर्न सतर्कताले निर्देशन दिएको छ । प्रतिवेदनमा जिम्मेवार पदाधिकारीले कार्यक्षेत्रभन्दा बाहिर भ्रमण गर्दा भ्रमणको स्पष्ट उद्देश्यसहित भ्रमण गर्न भनिएको छ ।

कार्य सम्पन्न भएपछि अनिवार्य रूपमा प्रतिवेदन पेस गर्ने व्यवस्था मिलाउन प्रतिष्ठानलाई निर्देशन दिने निर्णय गरेको सूचना अधिकारी एवं उपसचिव हरिप्रसाद शर्माले जानकारी दिए । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । घुस र भ्रष्टाचारको अर्को मुद्दा डा. रौनियारविरुद्ध अख्तियारमा चलिरहेको छ । रौनियार ०७६ साल असार २६ गते ८ लाख घुससहित पक्राउ परेका थिए ।

यसैबीच, नख्खु कारागारमा भएको अनियमितता सम्बन्धमा पनि केन्द्रले छानबिन गरेको छ । छानबिनपछि कालोबजारी नियन्त्रण गर्न प्रत्येक आर्थिक वर्षको सुरुमै कैदीबन्दीले उपभोग गर्ने उपभोग्यवस्तु र मालसामान आपूर्ति गर्न संरचनात्मक इकाइ लिने गरी कारागार व्यवस्थापन विभागलाई निर्देशन दिने निर्णय गरेको छ । यसका लागि आपूर्तिकर्ताको प्रतिस्पर्धाका आधारमा छनोट गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।

उजुरीमा उल्लिखित आरोपको तथ्य पुष्टि हुने आधार नदेखिएकाले फाइल तामेलीमा राख्ने निर्णय समेत केन्द्रले गरेको छ । टुकुचा खोला कोरिडोर निर्माण, गोल्फुटार–टोखा जोड्ने सडकको भद्रकाली खण्डमा न्यूनतम पूर्वाधार पूरा नगरी ढलान गरेको सम्बन्धमा गरेको छानबिन प्रतिवेदन पनि सतर्कताले सार्वजनिक गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७