विद्याकी देवी सरस्वतीको पूजा आरधना गरेर श्रीपञ्चमी पर्व मनाइँदै


४ फाल्गुन २०७७, मंगलवार
saraswati pooja

काठमाडौं, ४ फागुन । आज (मंगलबार) श्रीपञ्चमी पर्व । हरेक वर्ष माघ शुक्लपञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आरधना गरी श्रीपञ्चमी पर्व मनाइन्छ ।

वसन्त पञ्चमीको दिन सरस्वतीको पूजा गरे ज्ञान र विद्या बढ्ने विश्वास छ । आज सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लाग्ने गरेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई यहि दिनदेखि अक्षरारम्भ गराउने चलन छ । यसदिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ । यस दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । माघ र फागुन महिना शिशिर ऋतुमा मानिएकाले यो ऋतुमा पर्ने पञ्चमीलाई श्रीपञ्चमी भनिएको हो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा खुशी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताएका छन् । श्रीपञ्चमीको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश आवश्यक हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७