‘संविधानमा के लेख्या छ त्यति हेर्नुपर्छ, अन्त हेर्ने होइन’


४ फाल्गुन २०७७, मंगलवार
amikash

काठमाडौं, ४ फागुन । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला गर्दा संविधानमा के लेखेको छ, त्यति मात्र हेनुपर्ने सुल्झाएका छन् ।

संवैधानिक इजलासमा आज (मंगलबार) देखि शुरु भएको एमिकस क्युरीको राय लिने क्रममा वरिष्ठ अधिवक्ता कार्कीले जसले संविधान बनाए, उनीहरु संविधान दुर्घटनामा पर्‍यो भनेर सडक आन्दोलनमा रहेको बताए । यस्तो स्थितिमा ५ जना (संवैधानिक इजलास) ले निर्णय गर्नुपर्ने अवस्था आएको भन्दै उनले भने, ‘निर्णय दिँदा संविधानमा के लेख्या छ त्यति मात्र हेर्नुपर्छ । अन्त हेर्ने होइन । एउटा लेख्या छ अर्को होला भन्न पाइन्न । जे लेख्या छ त्यही हेर्ने हो ।’

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानबारे राष्ट्रपति र सरकारको बुझाइ एक किसिमको र अरुको बुझाइ अर्कै रहेको बताए । उनले भने, ‘सरकार र राष्ट्रपतिले बुझेको एक किसिमको, अरूले बुझेको अर्को किसिमको आयो ।’

Badri Bahadur Karki
वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की

उनले राज्यका निकायका कार्यक्षेत्रको संविधानसम्मत व्याख्या हुनुपर्ने पनि सुझाए । उनले संसद्, कार्यपालिका र न्यायपालिकालाई संविधानले अधिकार दिएको भन्दै सोही व्यवस्थाअनुसार संवैधानिक इजलासले व्याख्या गर्नुपर्ने राय दिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध संविधान लेखनमा संलग्न दलहरू नै आन्दोलनमा रहेको कार्कीको भनाइ थियो । ’जसले संविधान बनाए, जसले लागु गर्नुपर्ने थियो, अभ्यास गरे, उनीहरू संविधान समाप्त हुन लाग्यो भनेर आन्दोलनमा उत्रिएका छन् । उनीहरूले हामीले बनाएको संविधान दुर्घटनामा पर्‍यो भनिरहेका छन्,’ उनले भने ।

यो विषयको निर्क्योल गर्नुपर्ने गम्भीर जिम्मेवारी संवैधानिक इजलास सामु रहेको पनि उनको भनाइ थियो । कुनै पनि संविधान लेखनको सुरुवात गर्दा कस्तो मान्यतामा लेख्ने भन्ने निर्क्योल हुने कार्कीले बताए । उनले नेपालमा संसदीय लोकतान्त्रिक व्यवस्था, गणतन्त्रको व्यवस्थामा जाने लेखिएको पनि बताए । उनले राजतन्त्रको व्यवस्थामा संविधान नआएको पनि धारणा राखे ।

‘संसदीय व्यवस्थामा जाने भनेपछि संविधान लेखियो । धारा ७४ मा लेखियो कि बहुलवादमा आधारित हुने, प्रतिस्पर्धात्मक लोकतान्त्रिक हुने र संघीय गणतन्त्रात्मक हुने भनियो । यसमा हामी अलमलिनुपर्ने कारण छैनन्,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७