एमिकस क्युरीका कार्कीले भने, ‘प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्रीको गलत मनसाय देखियो’


४ फाल्गुन २०७७, मंगलवार
badri bahadur karki kWJvrB6fuE

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरी सदस्य वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको मालाफाइड इन्टेन्सन (दुषित मनसाय) देखिएको राय पेस गरेका छन् ।

उनले संसद र सरकार असफल भएको अवस्थामा मात्र विघटन गर्न सकिने बताउँदै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने रायसहितको निष्कर्ष सुनाएका छन् ।
उनले निर्वाचनमार्फत जनताबाट चुनिएका प्रतिनिधिबाट संसद बनेको र त्यही संसदले प्रधानमन्त्री बनाएको भन्दै प्रधानमन्त्री संसदप्रति जबाफदेही बन्नुपर्ने बताएका छन् ।

‘अदालतले चिन्ने भनेको उहाँ संसदप्रति जवाफदेही हुनुपर्छ भन्ने हो’, उनले भने । तर, प्रधानमन्त्रीले पार्टीको झगडा ल्याएर संसद विघटन गरेको देखिने उनले जिकिर गरे । उनले पार्टीको विवादका कारण संसद विघटन गरिएको र यसै कारण प्रधानमन्त्रीले गैरसंवैधानिक कार्य गरेको देखिएको पनि बताएका छन् ।

‘संसदीय व्यवस्थामा विघटनको अधिकार हुन्छ । तर ओलीको इन्टेन्सन गलत छ । गैरसंवैधानिक उद्देश्य राखेर विघटन गरिएको छ’, उनको रायको निष्कर्ष छ । इजलासले कार्कीलाई दुई दिनभित्र आज गरेको बहसको नोट बुझाउन पनि भनेको छ ।

विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा एमिकस क्युरीले मंगलबारदेखि राय दिन थालेको हो । जसअनुसार नेपाल बारको रिफारिसमा एमिकस क्युरी चयन भएका वरिष्ठ अधिवक्ता कार्कीले राय दिएका हुन् । बुधबारदेखि बाँकी ४ जनाले क्रमशः राय दिनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७