गणतन्त्र केपी ओली र विद्या भण्डारीहरुको चाहना र रोजाइ थिएन : राजेन्द्र राई

‘ओलीलाई आयोग र अदालतले रोकेन भने सबैको फैसला सडकले गर्छ’


प्रकाशित मिति : February 17, 2021

२०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्षम’ प्रधानमन्त्री भन्दै अपदस्थ गरे । मुलुकको सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिए । घोषणा लगत्तै तत्कालीन एमालेको भातृ संगठन अनेरास्ववियु यसको विरुद्धमा उभियो । तात्कालिन अनेरास्ववियुका अध्यक्ष राजेन्द्र राईले भने, ‘नागरिकको अधिकार एक दिन र एकछिनका लागि पनि खोस्न पाइँदैन ।’ दलहरुभन्दा एक कदम अघि राईले नेतृत्व गरेको अनेरास्ववियुले ‘राजतन्त्रको समाप्ती र गणतन्त्र स्थापना’ को नारा र मुद्दा उठाए । दलहरु डराएको वा अलमल भएकै अवस्थामा राईको नेतृत्वमा विद्यार्थीहरुले नारायणहिटी नजिकैको रत्नपार्कबाट राजतन्त्र मुर्दावादका नारा सुरु गरे ।

यही पृष्ठभुमीमा सुरु भएको आन्दोलनको तागतबाट संघीय गणतन्त्रको स्थापना भयो । उतिबेला राजेन्द्र राईहरुले जनतालाई भनेका थिए, ‘यो अन्तिम लडाई हो । सडकमा आउनुहोस् ।’ यसै कारण राजा ज्ञानेन्द्रको पहिलो निशाना राजेन्द्र राई नै भए । लामो समय राजद्रोहको मुद्दामा थुनिए । आज फेरि उनै राजेन्द्र राईहरु व्यवस्था र संबिधानको रक्षाको निम्ती भन्दै सडकमा छन् । उनै राजेन्द्र राईका हिजोका सहयोद्धाहरु राज्यको नेतृत्वमा छन्, तर उनीहरुले नै ज्ञानेन्द्रले जसरी फेरि राजद्रोहको मुद्दा लगाउन थालेका छन् । र राजेन्द्र राईहरु फेरि भनिरहेका छन्, ‘यो अन्तिम लडाई हो । तानाशाह विरुद्ध लड्न सडकमा आउनुहोस् ।’ खासमा अहिलेको यो कस्तो लडाई हो, कसको लडाई हो ? आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य राईसँग गरिएको कुराकानीको सम्पादित अंश
:-

जतिबेला राजा ज्ञानेन्द्र शाहले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिए । त्यतिबेला तपाई तत्कालिन एमालेको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष हुनुहुन्थ्यो । तपाईले राजाको घोषणा लगत्तै भन्नुभएको थियो, ‘नागरिकको अधिकार एक दिन र एकछिनका लागि पनि खोस्न पाइँदैन ।’ तपाईहरुले लडेर गणतन्त्र ल्याउनुभयो । उही तपाईको नेतृत्वको अनेरास्ववियुको एकजना नेतृ तथा आन्दोलनको ‘फ्रन्टलाइनर’ रामकुमारी झाँक्री तपाईहरुले लडेर ल्याएको गणतन्त्रमा बोले बापत राजद्रोहको मुद्दामा थुनिनुपर्ने अवस्था आयो । तपाईहरुले लडेर ल्याएको गणतन्त्र अभिव्यक्ति दिएकै आधारमा थुनिनु पर्ने अवस्थामा किन आइपुग्यो ?
-एउटा त व्यक्ति विशेषको चरित्रमा पनि भर पर्दछ । खासगरी अहिलेको कार्यकारीमा जो हुनुहुन्छ, उहाँ सन्काहा र निरंङ्कुश प्रवृत्तिको हुनुहुन्छ । त्यो सन्काहा प्रवृत्ति देखाएर गिरफ्तार गर्ने दुष्कर्म गर्नुभयो । दोस्रो चहि कही न कही हाम्रो अधिकार पूर्ण रुपले अधिकार प्राप्त भएको छैन भन्ने देखाउँछ ।

आजको प्रधानमन्त्री, राष्ट्रपति जो हिजो २०६२/०६३ जनआन्दोलनमा तपाईहरुको नेता र सहयोद्धा हुनुहुन्थ्यो । आज उनै सहयोद्धाहरुले तपाईहरुलाई मुद्दा लगाउनुपर्ने अवस्था कसरी आयो ?

-कुनै पनि पार्टीमा अथवा कम्युनिष्ट आन्दोलनमा केही मानिसहरु चाहिँ आवरणमा आन्दोलनमा लागेका छन् । तर भित्र चाहिँ व्यक्तिगत स्वार्थको लागि, पद प्राप्तीको लागि, प्रतिष्ठा प्राप्तीको लागि र सम्पति आर्जनसम्मको स्वार्थ बोकेर लागेका हुन्छन् । त्यस्ता मान्छेहरु खास महत्वपूर्ण ठाउँमा पुगिसकेपछि कम्युनिष्ट सिद्धान्त अनुसार जनतालाई न्याय, अधिकार बाटोमा जानु भन्दा पनि आफ्नो स्वार्थ पुरा गर्नको लागि लाग्छन् । त्यसको विरुद्धमा कसैले बोल्यो भने तिनीहरुलाई नियन्त्रण गर्नका लागि यस्तो कर्म गर्छन् । अहिले उहाँहरुले आफ्नो स्वार्थ पुरा गर्नको लागि संविधान र लोकतन्त्र खाने अभियानमा हुनुहुन्छ । त्यसको विरुद्धमा सचेत आवाज रामकुमारी झाँक्री वा उहाँ जस्तो लाखौंले उठाएको छ त्यसलाई दमन गर्नको लागि यो कार्यमा लागेका हुन् ।



त्यसो भए के तपाईलाई यस्तो लाग्छ, ‘हिजो उहाँहरुको लागि आन्दोलनमा रहर भन्दा बढी बाध्यता थियो । त्यो बाध्यता प्रकट गर्ने उपयुक्त अवसर हेरीरहनु भएको थियो । त्यो बाध्यता अहिले प्रकट भएको हो ?’
-केही हदसम्म यो पनि हो । गणतन्त्र उहाँहरुको रोजाई र चाहना थिएन । खास गरी २०६२÷०६३ को जनआन्दोलनले जे सुधार र परिवर्तन गरेको थियो । त्यसमा उहाँहरुको स्वामित्व थिएन । योगदान पनि थिएन । उहाँहरुले त्यसलाई स्वीकार पनि गर्नु भएको थिएन । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई हृदयदेखि स्वीकार गर्नुभएको नै थिएन । उहाँहरु नै दुर्भाग्यपूर्ण ढंगले मुख्य ठाउँमा पुग्नुभयो । हिजोको उहाँहरुको चाहनालाई कही न कही निकास दिन खोजिरहनु भएको थियो । यसको अहिले प्रारम्भ भएको साँचो हो ।

प्रतिनिधिसभा विघटन लगत्तै तपाईहरु आन्दोलनमा हुनुहुन्छ । तपाईले भन्नुभयो हिजोको दमित चाहना र बाध्यता अहिले प्रकट हुदैछ । उहाँहरुको यस प्रकारको कदम कहाँसम्म पुग्ला, तपाईहरुको आन्दोलन कहाँ गएर टुंग्गिएला ?
-उहाँहरुको कदम धेरै अगाडी बढ्न सक्दैन । संसारमा लोकतन्त्रप्रतिको अभ्यास र चाहना धेरै अघि बढीसकेको छ । त्यो केवल राजनीतिमा मात्र होइन परिवार, समाज र संघसंस्थामा लोकतन्त्रको अभ्यास धेरै अगाडी बढिसकेको छ ।
तसर्थ यस प्रकारको हर्कत र दुष्प्रयासहरु धेरै अगाडि बढ्दैँन । जहाँसम्म कहाँ गएर टुङ्गिन्छ ? भन्ने सन्दर्भमा छ । अब संसद् पुनःस्थापनाको माध्यमबाट होस् या सडकले जितेको अवस्थामा होस् । उहाँहरुको पतन हुन्छ । फेरी पनि जनताको हातमा शक्ति शासनमा आएर यो मुलुकलाई अगाडी बढाउने अवस्था आएपछि यो टुंगिन्छ ।

तपाईहरु सडक मोर्चामा त उत्साही नै हुनुहुन्छ । महत्वपूर्ण मोर्चा त निर्वाचन आयोग र सर्वोच्च अदालतमा छ । यी सबै निकायमा ‘सेटिङ’को हल्ला पनि सुनिन्छ । यी दुबै निकायबाट तपाईहरुको विपक्षमा निर्णय आयो भने त तपाईहरु निकै अप्ठ्यारोमा पर्नुहुन्छ नी होइन ?
-यो सत्तापक्षको मनोवैज्ञानिक आक्रममण हो । ‘सेटिङ’को हल्ला चलाइसकेपछि पार्टी विभाजनको अवस्थामा जनता हाम्रो पक्षमा आउँछन् । जनता सडकमा आउदैंनन् भन्ने हिसाबले मनोवैज्ञानिक आक्रमणको लागि चलाइएको हल्ला हो । जहाँसम्म ‘सेटिङ’को कुरा छ । अदालत र निर्वाचन आयोगका मान्छेलाई आफ्ना कुरा राख्नु भयो होला उहाँहरुले तर, सत्ता पक्षले आफ्ना कुरा राख्दैमा उहाँहरुले स्वीकार गर्नुहुन्छ भन्नेमा हामीलाई विश्वास छैन । संविधान, कानुनमा स्पष्ट भएकोले निर्वाचन या अदालत त्यो हुने कुनै सम्भावना छैन । त्यसैले त्यो उहाँहरुको मनोवैज्ञानिक ‘वार’ मात्रै हो जस्तो लाग्छ ।

तपाईहरुले भने जस्तो संसद पुनस्थापना भयो, आधिकारिकता पाउनुभयो भने त सहज बाटोमा जाला । तर संसद पनि पुन स्थापना भएन, पार्टीको आधिकारिता पनि पाउनुभएन अनि तपाईहरु विना नै मुलुक चहि चुनावतिर गयो भने तपाईहरुको अवस्था कस्तो होला ?
-निर्वाचन आयोगका पदाधिकारी, अदालतका प्रधानन्यायधीस, न्यायधीस पनि यही समाजका सदस्य भएकोले त्यस्तो गलत निर्णय अवश्य पनि गर्नु हुन्न भन्ने हाम्रो विश्वास छ । आधिकारिक फैसला गर्नु चहि न्यायधीस/प्रधानन्याधीस वा प्रमुख निर्वाचन आयुक्त हुन पर्ला तर ऐन÷कानुन बुझ्न चहि प्रधानन्याधीस/न्यायधीस भइरहनु प्रदैन । हरेक सचेत र पढेलेखेका मानिसले बुझ्न सक्छन् । त्यसो भएको हुनाले जे लेखेको छ, त्यसको अनुसार नै फैसला हुनुपर्दछ । यदि ऐन÷कानुन राष्ट्रपतिले पनि नमान्ने, प्रधानमन्त्री वा अदालत वा संवैधानिक निकायले पनि नमान्ने हो भने त्यस्तो ऐन÷कानुन जनताले पनि मान्नु पर्ने हुदंैन । नेकपाले पनि मान्नुपर्ने हुदंैन । त्यस्तो अवस्थामा सबैभन्दा ठुलो न्यायधीस जनतामा जानुपर्ने हुन्छ । सबैभन्दा ठुलो अदालत सडकमा जानुपर्ने हुन्छ । सडकले अदालतको पनि फैसला गर्छ । संवैधानिक निकायहरुको पनि फैसला गर्छ । सबैको फैसला सडकले गर्छ । र फेरि संबिधानलाई ट्रयाकमा ल्याउँछ ।

जतिबेला तपाईहरु गणतन्त्रको लागि लड्दै हुनुहुन्थ्यो । त्यो बेला जनतालाई भन्दै हुनुहुन्थ्यो, ‘प्रतिगमन भयो । यस विरुद्ध अन्तिम लडाई लडौं आउनुहोस् ।’ फेरि त्यही भन्दै हुनुहुन्छ तर तपाईहरुको आलोचक भन्छ, यो केवल कुर्सीको लडाई हो । कुर्सीको लडाई होइन भन्न सकिन्छ र ?
-कुर्सी चाहिँ निर्णायक हुने भएको कारण केही हट्ने कोही जाने त हुन्छ नै । तर यसको आरम्भ वा मुल कुरा चै कुर्सी होइन । अहिलेको प्रधानमन्त्री वा राष्ट्रपतिले सही सही काम गरेको भए यो कुर्सीको सवाल नै उठ्ने थिएन । यदि संबिधान नमिचिएको भए अथवा अनेकौै खराब काम नगरिएको भए यो आन्दोलनको अवस्था हुदैंन थियो । अथवा कुर्सीको लागि मात्रै भए जनताहरुलाई सडकमा आउन आह्रवान गर्दा जनता आउने अवस्था नै हुदैन थियो । तसर्थ यो खास बिषय कुर्सीको लडाई नभएर संबिधान रक्षा, लोकतन्त्रको रक्षा, यो मुलुकलाई समृद्धितिर लैजाने र जनतालाई न्याय समनता दिने बिषय प्रमुख हो ।



आज तपाईहरुले जसबाट प्रतिगमन भयो भनीरहनु भएको छ । प्रतिक्रान्ति भयो भनी राख्नु भएको छ । उहाँलाई पार्टी प्रमुख, संसदीय दलको नेता र प्रधानमन्त्री बनाउनमा तपाईहरुकै भूमिका छ त । कस्तो नेतृत्व छनोट गर्नुभयो त ?
-यो अर्को पार्टीको अत्यन्तै महत्व राख्ने प्रश्न हो । खासगरी राष्ट्रपति र प्रधानमन्त्रीले जे प्रतिगामी चाल्नुभयो । उहाँहरु जस्तो मानिस यो पार्टीमा कसरी जन्मिन सम्भव भयो ? यो पार्टीमा उहाँहरुको कसरी विजय सम्भव भयो ? यो हठात् हुने कुरा होइन । यो पार्टीका संरचना, सञ्चालन, नेतृत्व छनोटमा वा पार्टीले लिइरहेको कार्यनीतिमा कही न कही त्रुटी छ । यदि यो त्रुटीलाई अब पनि नसच्चाउँने हो भने फेरि अर्को केपी ओली वा अर्को विद्या भण्डारी जन्मिन्छ । त्यसो भएकोले नेतृत्व छनोटमा मेरो वा तात्कालिन प्रतिनिधिहरुको मात्रै दोष छैन । यो पार्टी संरचना, पार्टी सञ्चालनको पद्धति वा पार्टीले लिइरहेको कार्यनीति सच्चाउँनुपर्छ ।

तपाईहरु अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाह भन्नुहुन्छ, निरंङ्कुश भन्नुहुन्छ । तपाईहरु त्यही पार्टीको नेता हुनुहुन्छ । यदि तपाईहरुले भने जस्तै ओली तानाशाह नै हुनु भने त्यो तानाशाहा जन्माउँनमा तपाईहरुको पनि त भूमिका रह्यो नी ? आफ्नो भूमिकालाई चहि फर्केर कसरी हेर्नु हुन्छ ?
-हामीले चाहिँ सकेसम्म सकरात्मक भूमिका निर्वाह गरेका हौं । केपी ओली जस्तो नेता मुल नेतृत्वमा नवाओस् भनेर हामीले महाधिवेशनमा पनि भूमिका खेलेका थियौं । तर हाम्रो प्रणाली नै त्यस्तो छ । संगठन विस्तार र सञ्चालनको पद्धति नै यस्तो छ की चुनाव जित्नको निम्ती जस्तोसुकै मान्छेहरुलाई पनि भर्ना गर्नुपर्दछ । जसरी पनि चुनाव जित्नुपर्ने पद्धतिको कारण कम्युनिष्ट सिद्धान्त र मान्यता बोक्नेहरुको संख्या कम हुने र गैर कम्युनिष्ट सिद्धान्त बोक्नेहरुको भर्ती बढी हुने, संख्या बढी हुने अवस्था छ । त्यस्तो अवस्थाले केपी ओली र विद्या भण्डारीले जित्ने अवस्था निर्माण भएको हो । तर हाम्रो भूमिका चै अहिलेसम्म सही नेतृत्व छनोट गर्ने र पार्टीलाई सही ढंगले अगाडि बढाउनेमा रही आएको छ ।

तपाईहरुले यसो भनीरहदा भोली फेरि तपाईहरुकैवीचबाट फेरि अर्को केपी ओलीको उदय नहोला भन्ने ग्यारेन्टी कहाँ छ ? अर्को कुरा तपाईहरु पनि खोटरहित त पक्कै हुनुहुन्न । अहिले जनताको बीचमा जार्दै गर्दा जनताको बीचमा श्वेतपत्र जारी गरिनुपर्छ भनेर पनि माग उठेको देखिन्छ ? यी सवाल बारेमा के भन्नुहुन्छ ?
-यहाँ व्यक्ति परिर्वतन भएर मात्रै समधान हुदैन । व्यक्ति परिवर्तनले उन्नाइसको बीस होला । श्वेतपत्र प्रतिज्ञापत्र पनि जारी गरिनुपर्छ । त्यसमा बाँधिनु पनि पर्छ । तर मुल रुपमा हामीले मापदण्ड बनाएर असल कार्यकर्ताको भर्ती गरिनुपर्दछ । उनीहरुलाई तिखारिहनु पर्छ । चुनाव जितेपछि सबथोक हुन्छ भनेर जस्तासुकै मान्छेहरुलाई टिकट दिने, चुनावमा सहयोग लिने, हाटहुट पैसा भएकाहरुलाई बढवा दिने यस्ता कुराहरुलाई हामीले रोक्नु पर्दछ । त्यसका लागि प्रतिबद्धता पत्र, प्रतिज्ञापत्र, आचार संहिता, विधानलाई कडा बनाएर कार्यान्वयन गरेर गए मात्रै अर्को विद्या भण्डारी, अर्को केपी ओली वा त्यो प्रवृत्ति नजन्मिने ग्यारेन्टी हुन्छ ।

प्रतिनिधिसभा विघटन लगत्तै जनताको बिचमा जानु भएको छ । तेश्रो चरणको आन्दोलन सम्पन्न गरेर चौथो चरणको घोषणा गर्नुभएको छ । तपाइले भने जस्तो यो कदम सडकबाट रोक्छौं भनेर विश्वास पलाएको छ त ?
-जरुर । क्रमसः आन्दोलनको जनताको उपस्थीति बढिरहेको छ । सुरुमा चै केही भ्रम थियो । कम्युनिष्ट पार्टीकै अध्यक्ष प्रधानमन्त्री र राष्ट्रपति भएको बेला कसरी प्रतिगमन भयो त ? भन्ने भ्रम थियो । दोस्रो सत्ताको लाभ लिएकाहरु त्यता लागिरहेका थिए । यो सत्ता ढल्दैछ भन्ने उनीहरुलाई पनि लाग्न थालेको छ । रामकुमारी झाँक्रीको गिरफ्तारी, नागरिक समाजमाथिको दमन, हत्या, बलत्कार जस्ता घटना आदिले सरकारप्रति आक्रोश पैदा भएको छ । नेकपा बाहेकका प्रतिपक्षी पार्टी पनि आन्दोलनमा जोडिने सम्भावना बढेको छ । अब छिट्टै उभारकारी र उथलपुथलकारी आन्दोलन पैदा हुने अवस्था भएको छ । यो सरकारले बैसाख चुनाव गराउने भनेको छ । अब सरकारले बैसाख नै देख्दैन ।

२०६२/०६३ को जनआन्दोलनमा जनतालाई भन्नुभएको थियो, ‘यो अन्तिम लडाई हो । ‘राजतन्त्र फालेर गणतन्त्र स्थापना गरौं ।’ अहिले चहि जनतालाई के भनिरहनु भएको छ ?
-कम्युनिष्टहरुको दुई तिहाईको सरकार बनीसकेपछि समाजवादमा प्रवेश गर्ने कार्यक्रम र अभियान सञ्चालन हुनुपथ्र्यो । तर केपी ओली नेतृत्वको सरकारले पाइला नै चालेन । यदि यो केपी ओलीको सरकार ढल्यो र अब हाम्रो सरकार आयो भने हामी वास्तवमै समाजवादको बाटोमा प्रवेश हुने कार्यक्रम र अभियान सञ्चालन गछौं । त्यो भनेको जनतालाई न्याय, समानता, धनी, खुसी र खुसी दिने काम हो । देशलाई छिटो समृद्धिमा लैजाने काम गछौं ।
हेर्नुहोस् पुरा अन्तर्वार्ता :-

प्रतिक्रिया दिनुहोस्