कोभिडले शैक्षिक सत्र लम्बियो : विश्व बैंकले विपन्नलाई दिएको छात्रवृत्तिको ६ करोड सरकारी खातामै


५ फाल्गुन २०७७, बुधबार
DurgaDevkot Tikapur RSS 27 schoolsuru21

काठमाडौं, ५ फागुन । कोरोना भाइरसका कारण माथिल्लो तहमा अध्ययन गर्न नपाएका विद्यार्थीले छात्रवृत्ति समेत पाएका छैनन् ।

उच्च शिक्षा सुधार परियोजनाअन्तर्गत विश्वविद्यालय अनुदान आयोगमार्फत उपलब्ध हुने चौथो वर्षको छात्रवृत्ति उनीहरूले नपाएका हुन् । गत ३१ डिसेम्बरमा परियोजनाको समय सकिएको र कोभिडका कारण माथिल्लो कक्षामा पुग्न नपाएका गरिब विद्यार्थी छात्रवृत्ति पाउनबाट वञ्चित भएका छन् ।

विपन्नका लागि छुट्याएको रकम विश्व बैंकबाट सरकार हुँदै विद्यार्थी वित्तीय सहायता कोषमा जम्मा भएको छ । कोषमा ६ करोड एक लाख २० हजार रुपैयाँ सञ्चित छ । तर, परियोजना सकिएकाले विद्यार्थीले रकम पाएनन् । परियोजना सकिने दिन ३१ डिसेम्बरमा कोषमा रकम आइपुगेको थियो । कोभिडका कारण विद्यार्थीहरू एउटै वर्षमा धेरै समय बस्नुपरेको र ४ जनवरीमा मात्र चौथो वर्षमा आएकाले उनीहरूले पाएका छैनन् । कोषको कार्यालय खारेज भएर अहिले शिक्षा तथा मानवस्रोत केन्द्रबाट कार्यसञ्चालन भइरहेको छ ।

उच्च शिक्षा अध्ययन गरिरहेका तीन हजार तीन सय ४० विद्यार्थीले पाएको छात्रवृत्ति जोखिममा परेको हो । प्रतिविद्यार्थी वार्षिक रूपमा १८ हजारका दरले रकम प्राप्त गर्दै आएका थिए । चार वर्षे स्नातक तहमा अध्ययनरत एक विपन्न विद्यार्थीलाई ७२ हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रम थियो ।

अन्तिम वर्षमा छात्रवृत्ति नपाउँदा पढाइमा असर
उच्च शिक्षा अध्ययनका लागि सहयोग पुर्‍याउन परियोजनामार्फत छात्रवृत्ति पाएका विद्यार्थी अहिले निराश भएका छन् । सिन्धुली बहुमुखी क्याम्पसमा विपन्नको छात्रवृत्तिमा अध्ययन गरिरहेका आशिक तामाङले अन्तिम वर्षमा छात्रवृत्ति नपाउँदा पढाइलाई नै असर पर्न थालेको बताए ।

‘छात्रवृत्ति पाउने भएपछि भर्ना भएर पढेको हो, अन्तिम वर्षमा आउँदैन भन्ने हल्ला छ,’ उनले भने, ‘पढ्दै गर्दा घरमा सपोर्ट गर्नुपर्ने अवस्था छ, हामी चौथो वर्षमा नआउँदै प्रोजेक्ट सकिएछ । छात्रवृत्ति नआए कलेजमा शुल्क तिर्न, खान बस्न नै समस्या हुने देखिएको छ ।’

रकम प्राप्तिका लागि तीन हजार तीन सय ४० विद्यार्थीले सबै प्रक्रिया पूरा गरे पनि रकम पाउन सकेनन् ।
विभिन्न समस्यासँग जुधेर अध्ययनलाई अगाडि बढाएका विद्यार्थीहरू छात्रवृत्ति नपाएपछि छटपटिएका छन् । गरिब भएको पहिचान गरेपछि विश्वविद्यालय अनुदान आयोगमार्फत विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको हो ।

धादिङ गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसका प्रशासन प्रमुख रामकुमार श्रेष्ठले विपन्न विद्यार्थीले छात्रवृत्तिका विषयमा दिनदिनै क्याम्पसमा गुनासो राख्ने गरेको बताए । विपन्नलाई उच्च शिक्षामा धेरै सहयोग भएको उनको भनाइ छ । प्रोजेक्ट सकिए पनि विद्यार्थीले छात्रवृत्ति रकम पाइन्छ कि भन्ने आसले सोधिरहने गरेको श्रेष्ठले बताए । परियोजना सुरु भएपछिको तेस्रो ब्याचले चौथो वर्षको रकम नपाएका हुन् ।

विश्वविद्यालय अनुदानआयोगका सदस्यसचिवशंकर भण्डारी भन्छन्– छात्रवृत्तिबारे हामी सकारात्मक छौँ

विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्रा. शंकर भण्डारीले विद्यार्थीले छात्रवृत्ति पाउने विषयमा आफूहरू सकारात्मक भएको बताए । प्रक्रिया पुर्‍याएर काम गर्ने उनको भनाइ छ । विद्यार्थी वित्तीय सहायता कोषका अनुगमन अधिकृत तारा चौहानलेप्रोजेक्ट सकिएकाले सिस्टममा काम गर्न समस्या भएको उल्लेख गरे । रकम भए पनि विद्यार्थीलाई वितरण गर्न नसकिएको चौहानले बताए ।

विश्वविद्यालय अनुदान आयोगले विपन्न विद्यार्थीका लागि आएको रकम फुकुवा गर्ने निर्णय गरेमा वितरण गर्न सकिने उनले बताए । आयोगले कोषमार्फत पिएमटीका आधारमा विपन्न विद्यार्थी पहिचान गरी स्नातक तहमा तीन वर्षमा सात हजार पाँच सय विद्यार्थीलाई वार्षिक १८ हजारका दरले छात्रवृत्ति रकम उपलब्ध गराउने लक्ष्य राखेको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७