हिउँ परेर ताप्लेजुङ सेताम्मे, मुहान जमेपछि खानेपानीको समस्या


५ फाल्गुन २०७७, बुधबार
thumb 9

ताप्लेजुङ, ५ फागुन । गए राति ताप्लेजुङको विभिन्न ठाउँमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मंगलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सासहित ठाउँमा चिसो बढेको स्थानीय पेमा शेर्पाले जानकारी दिए ।

रातभर हिमपात हुँदा अहिले गाउँमा करिब एक फिटसम्म हिउँ जमेको शेर्पाले बताए ‘सबैतिर सिसा जस्तै हिउँ जमेको छ,’ शेर्पाले भने, ‘पानीका मुहान सबै जमेपछि खानेपानी समेत समस्या भएको छ । चिसोका कारणले घर बाहिर निस्किनै सकिँदैन । घरभित्र आगो तापेर बसेका छौं ।’

चौंरी र गाईवस्तु हिउँ कम पर्ने ठाउँमा झारिएको फले निवासी लाक्पा भोटियाले बताए । घुन्सागाउँ समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा पर्छ। समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला र समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा याङमा गाउँ छ ।

यी बस्तीमा शुक्रबार बेलुकीदेखि अहिलेसम्म बाक्लो हिउँ परिरहेको फक्ताङलुङ गाउँपालिका–६ निवासी मनुकुमार राईले बताए । हिमाली क्षेत्रका समुदाय हिमपातले प्रत्यक्ष प्रभावित भएका छन् । सिरिजङ्घा गाउँपालिकाको याम्फुदिनमा हिउँ परेपछि जाडोले बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएको स्थानीयवासी कमल राईले बताए ।

मिक्वाखोला गाउँपालिका पापुङ क्षेत्रमा पनि शुक्रबारदेखि आज रातभरि हिमपात भएको रिङ शेर्पाले जानकारी दिए । यतिबेला ताप्लेजुङ जिल्ला हिउँले सेताम्मे भएको छ । ताप्लेजुङमा बुधबार बिहान न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७