डिआइजी उत्तम सुवेदी भन्छन्– पक्राउ गरिएका किशोरले नै हत्या गरेकोमा प्रहरी विश्वस्त छ


६ फाल्गुन २०७७, बिहीबार
utamraj subedi

बैतडी, ६ फागुन । २१ माघको बिहान १० बजे विद्यालय गएकी भागरथी भट्ट दिउँसो करिब २ बजे घरतर्फ फर्केकी थिइन् । उनी फर्किदा खोंचलेक बजारसम्म पुगेको मान्छेहरूले देखेका थिए । तर, त्यहाँबाट घर नपुगेर उनी हराएको अवस्था थियो । खोजतलास गर्दै जाँदा भोलिपल्ट विद्यालयबाट घर जाने बाटोमा पर्ने लवलेक जंगलमा सडकबाट करिब ३० मिटर तल उनी मृत अवस्थामा फेला परिन् ।

घटनास्थलको मुचुल्का गर्दा भागरथीको टाउकोमा चोट थियो । घाँटीमा दबाए जस्तो डाम थियो । खुट्टाको औंलामा नीलडाम र घाउ भएको तथा गोप्य अंगबाट रगत बगेको अवस्थामा उनको शव फेला परेको थियो ।

अहिलेसम्म खुल्न आएका तथ्यअनुसार भागरथी बिहान १० बजे अध्ययनका लागि स्थानीय सनातम धर्म मावि श्रीकोट गएकी थिइन् । पक्राउ गरिएका अभियुक्त पनि त्यही विद्यालयमा पढ्थे । त्यो दिन अन्तिम कक्षा नपढी पौन २ बजे नै विद्यालयबाट घर जान निस्किएका उनी (अभियुक्त) खोंचलेक बजारतर्फ गएका थिए । खोँचलेक बजारमा साथीहरूसँग छुट्टिएर उनी एक्लै चडेपानीस्थित आफ्नो घरतर्फ हिँडे ।

घर फर्किने क्रममा अभियुक्तकोे सिल्ला गाउँमा भागरथीसँग भेट भएको थियो । तर, उनलाई (भागरथी) पछाडि पार्दै अभियुक्त सरासर लवलेक जंगलको सडकै सडक अगाडि गए । भागरथीलाई मार्ने उद्देश्यसहित उनी घटनास्थल (लवलेक जंगलको बाटोमा) मा कुरेर बसेका थिए ।

भागरथी त्यहाँ पुग्नेबित्तिकै उनले सडकबाट तल भीरमा धकेले । र, आफू पनि तल ओर्लेर घाइते भएकी भागरथीको घाँटी अठ्याएर हत्या गरे । त्यसपछि पाइन्ट घुँडामुनिसम्म फुकालेर करणी गर्ने कोशिस गरेको, तर त्यत्तिकै छाडेको अभियुक्तले प्रारम्भिक बयान दिएको छ । तर, यसमा हामीले थप अनुसन्धान गरिरहेका छौँ ।

त्यसपछि अभियुक्तले भागरथीसँग भएको मोबाइलको ब्याट्री झिकेर घटनास्थलनजिकै फालिदियो । र, सडकको बाटो हुँदै आफ्नो घरतर्फ गएको अनुसन्धानबाट खुलेको छ । भागरथीका दाइबाट आएको जाहेरीअनुसार हामीले अभियुक्तमाथि कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरका आधारमा मुद्दाको अनुसन्धान अघि बढाएका छौँ ।

विगतमा कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रहरी निष्कर्षमा पुग्न नसकेको अवस्थामा यो घटनामा पनि आफन्त, मिडिया, विभिन्न राजनीतिक दल र सर्वसाधारणबाट विभिन्न आशंका व्यक्त भइरहेका थिए । त्यसैले अनुसन्धानलाई तार्किक निष्कर्षमा पु¥याउन हामीले दबाबका साथ काम गरिरहेका थियौँ । स्थानीय प्रहरी चौकीमै बसेर घटनाको अनुसन्धान गरेका थियौँ । थप अनुसन्धान अहिले पनि जारी नै छ ।

आरोपितको गतिविधिदेखि उसलाई देखिजान्ने साथीहरू, पीडित परिवारको कुराहरू र समय सन्दर्भका आधारमा पक्राउ गरिएका व्यक्ति नै अपराधमा संलग्न रहेको प्रहरीको निष्कर्ष छ । त्यही आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । अब प्राविधिक अनुसन्धानलगायतका प्रमाणका आधारमा थप अनुसन्धान अगाडि बढ्छ ।

घटनास्थलको प्रकृति र अभियुक्तका गतिविधिका आधारमा यो घटना उसले नै गरेकोमा हामी विश्वस्त छौँ । अहिलेसम्मको अनुसन्धानमा घटनामा एकजना मात्रै संलग्न देखिएको छ । प्रहरीसँग घटनाको फरेन्सिक इभिडेन्सहरू छन् । पोस्टमार्टम रिपोर्ट आइसकेको छ । अब फरेन्सिक ल्याबको रिपोर्ट आउन मात्रै बाँकी छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७