४० वर्ष डेरामा, विद्यार्थीबाट शिक्षकलाई घर गुरुदक्षिणा


६ फाल्गुन २०७७, बिहीबार
602db354851a8 Untitled 1 7qLQ78Dy4N

काठमाडौं, ६ फागुन । जीवनभर भाडामा बस्दै आएका शिक्षक पशुपतिलाल कर्ण अचेल निकै खुसी छन् । आफ्नै पूर्वविद्यार्थीले गुरुदक्षिणास्वरूप घर निर्माण गरिदिएपछि कर्णका आँखामा हर्षका आँशु टलमलाएका छन् । खल्तीबाट रुमाल झिकेर आँशु पुछ्दै उनले भने, ‘आज मेरो जीवनको सबैभन्दा खुसीको दिन हो । मैले मेरा शिष्यबाट गुरुदक्षिणा प्राप्त गरें ।’

कङ्काली माध्यमिक विद्यालयमा ३३ वर्षसम्म शिक्षक र प्रधानाध्यापक रहेका कर्ण अहिलेसम्म डेरामा थिए । आफ्नै पूर्व विद्यार्थीबाट गुरुदक्षिणास्वरूप घर नै उपहार पाएपछि उनमा खुसीको सीमा छैन । उनले भने, ‘यो उपहार मेरा लागि अमूल्य छ ।’

२०३६ सालदेखि २०६८ असोजसम्म शिक्षण पेसामा रहेका कर्णले अवकाश लिए पनि उनलाई विद्यालयले भने छाडेन । पुनः उनलाई विद्यालयले २०६९ चैतसम्म निजी स्रोतमा राख्यो ।

आजीवन शिक्षण पेसा अवलम्बन गरेका कर्ण सरले अहिले विद्यालय त छोडे तर पूर्व विद्यार्थीको मनबाट भने उनी बाहिरिन सकेनन् । फलस्वरूप गुरुदक्षिणाका रूपमा घर पाए । पूर्व विद्यार्थी समाज कङ्काली माविले २५ लाख रुपियाँको लगानीमा सो घर निर्माण गरेको समाजका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए ।

‘जीवनभर अर्काको घरमा बसेर हामीलाई पढाउनु भयो तर जीवनको उत्तराद्र्धमा पनि अरूकै घरमा बस्नुपर्ने बाध्यता अन्त्य गर्न घर बनाइदिएका हौं’, उनले भने, ‘विद्यालय नजिकै कर्ण सरकी धर्मपत्नी बुद्धमावती देवीको नाममा सात धुर जग्गा रहेछ । हामीले यही जग्गामा पक्की घर बनाइदिएका हौँ ।’ गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७