परीक्षा हलमै टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्ध, शिक्षकलाई कारबाही
काठमाडौं, ६ फागुन । परीक्षा हलभित्रै टिकटक बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने कक्षा १२ का एक विद्यार्थीको परीक्षा रद्ध भएको छ ।
गएको मंसिरमा भएको कक्षा १२ को परीक्षामा सहभागी कालिका मावि, सिंहासैन दैलेखका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले रद्ध गरेको हो । शाहीले परीक्षा समयमै टिकटक बनाएर सामाजिक सञ्जालमा राखेका थिए । उनको चालु खण्डको परीक्षा रद्ध गरिएको बोर्डले सूचना जारी गरेर जानकारी दिएको छ ।
त्यसैगरी सोही विद्यालयका केन्द्रध्यक्ष चक्रबहादुर शाही र परीक्षा निरीक्षक कमलबहादुर शाहीलाई पनि बोर्डले कारबाही गरेको छ । उनीहरुलाई तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गरिएको बोर्डले जनाएको छ ।