नेकपाले आज टुँडिखेललाई मानव साङलोले घेर्दै


६ फाल्गुन २०७७, बिहीबार
Nepal Communist Party Protes 6 scaled

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभा विघटनविरुद्ध चौंथो चरणको सडक आन्दोलनमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (बिहीबार) काठमाडौंमा मानव साङ्लो प्रदर्शन गर्दैछ ।

नेकपाले आज प्रतिनिधि सभा विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै अपराह्न ४ बजे बजेदेखि एक घण्टासम्म काठमाडौं टुँडिखेललाई मानव साङलोले घेराउ गर्न लागेको हो ।
मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि नेकपाले उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ ।

मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म खटाइने छ । भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता–कार्यकर्ताहरु रहने जनाइएको छ ।

सबै सहभागीहरुलाई पौने चार बजेसम्म तोकिएको आर्कमा पुगिसक्न निर्देशन दिइएको छ । सहभागीहरुलाई ब्यानर, झण्डा, प्लेकार्ड, भेषभुषा, बाजागाजा सहितका आवश्यक प्रबन्ध आफैं गर्न भनिएको छ ।

नेकपाले प्रतिनिधिसभा विघटनको विरोधमा हाल चौथो चरणको आन्दोलन शुरु गरेको छ । फागुन ७ गते सबै वडामा विरोध कार्यक्रम हुनेछ भने १५ गतेसम्म सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गरिने संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिएका छन् ।

नेकपाले यसअघि काठमाडौं, बुटवल, धनगढीलगायत देशका ठूला शहरहरुमा वृहत जनसभा गर्दै शक्ति प्रदर्शन गरिसकेको छ । यस्तै विभिन्न जिल्लाहरुमा समेत सभा आयोजना गर्दै सरकारले गरेको प्रतिनिधिसभा विघटन, असंवैधानिक रुपमा गरिएको संवैधानिक नियुक्तिको विरोध गर्दै आएको छ ।

सरकारले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा बाहेक नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, मानवअधिकारकर्मी, नागरिक अगुवा र विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७