देउवालाई रामचन्द्रको प्रश्न : देशभर कार्यकर्ता जुलुस गर्दैछन्, नेता चाँहि चुनाव–चुनाव भन्ने ?


६ फाल्गुन २०७७, बिहीबार
Ram chandra paudel

काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भ्रममा पार्ने काम नेतृत्वबाट हुन नहुने बताएका छन् ।

आज (बिहीबार) नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ को कदमलाई असंवैधानिक, लोकतान्त्रमाथि प्रहार र तानाशाही भनेको भन्दै उनले तानाशाहीको विरोध गर्नु कांग्रेसको कर्तव्य भएको बताए ।

sherbahadur deuwa

उनले भने, ‘त्यही कर्तव्यलाई बुझेर कांग्रेसका नेता कार्यकर्ताले देशभर र्‍याली गर्नु भएको छ, सभा गर्नु भएको छ । लोकतन्त्रको रक्षाका लागि विरोधमा उत्रिनु भएको छ ।’

सँगै कार्यक्रममा रहेका सभापति शेरबहादुर देउवातर्फ इंगित गर्दै नेता पौडेलले भने, ‘अनि यो पार्टीका नेताहरुले जनतालाई कन्फयुजनमा पार्ने कुरा बोलेर हिँड्ने ? जे मन लाग्यो त्यही बोलेर हिंड्ने ?’ उनीभन्दा अगाडि बोलेका देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भनेर आन्दोलन नगर्ने, तर पुनस्थार्पना वा चुनाव जे फैसला गर्छ स्वीकार गर्ने बताएका थिए ।

वरिष्ठ नेता पौडेलले भने प्रधानमन्त्री ओलीले संविधानमाथि हमला गरेको बेला अदालतले के गर्छ भनेर हेरेर बस्ने हो कि लोकतन्त्रका रक्षाका लागि आफैं अगाडि सर्ने भनेर प्रश्न गरेका छन् । ‘अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ, त्यही भन्नुपर्छ,’ उनले भने, ‘कांग्रेसले किन नभन्ने ?’

संविधान र लोकतन्त्र बच्यो भने मात्र चुनावको अर्थ हुने भन्दै उनले उनले भने, ‘किन चुनाव चुनाव भन्ने ? चुनाव त पञ्चायतको बेलामा पनि भएको थियो ।’ पछिल्लो राजनीतिक घटनालाई लिएर कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच फरक धारणा रहँदै आएको छ । देउवा अदालतले जे फैसला गर्छ त्यहि स्वीकार्नु पर्ने पक्षमा छन् भने पौडेल प्रधानमन्त्री ओलीको कदमलाई सच्याउन सशक्त सडक आन्दोलन गर्नुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७