टुँडिखेलमाथि नागरिक दाबी गर्न आज मार्च


प्रकाशित मिति : February 19, 2021

काठमाडौं, ७ फागुन । ७ फागुन ००७ मा टुँडिखेलको खरिबोटबाट राजा त्रिभुवनले भनेका थिए, ‘यो वर्तमान समयमा श्री ३ महाराज मोहनशमशेर जंगबहादुर राणाले हाम्रोतर्फबाट औं हाम्रो नाममा यो राज्यको शासन चलाइआएको हो, औ हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएको छ ।’

हो, नेपाली जनता ‘रैती’बाट ‘नागरिक’ भएको र देशमा प्रजातन्त्र आएको उद्घोष भएको स्थान टुँडिखेलको खरिबोटमा अहिले नेपाली सेनाले काँडेतार लगाएको छ । यो ऐतिहासिक स्थानमा नेपाली जनता जान सक्दैनन् । प्रजातन्त्रको प्रतीक खरिबोटमा किन सेनाको काँडेतार ? अहिलेको नागरिक आन्दोलनको प्रश्न छ । यो ठाउँ जनताका लागि खुला हुनुपर्छ भन्ने मागका साथ नागरिक अभियन्ता शुक्रबार अपराह्न २ बजे टुँडिखेलभित्र छिर्दै छन् । हो, देशमा प्रजातन्त्र आएको ७० वर्षपछि यो संगठित प्रयास हुँदैछ ।

२४ मंसिर १९८१ मा चन्द्रशमशेरले पनि यहीँबाट दासप्रथा उन्मूलनको घोषणा गरेका थिए । त्यस्तै, दोस्रो विश्वयुद्ध लडेका नेपाली सिपाहीको सम्मान पनि सन् १९४५ मा टुँडिखेलमै गरिएको थियो । राजा महेन्द्रले टुँडिखेलको खरिबोट परिसर भत्काएका थिए । त्यसपछि एउटा इतिहास भग्नावशेषमा परिणत भयो । त्यही ठाउँमा सैनिक मञ्च स्थापना भयो, जनताका लागि त्यो ठाउँ सदाका लागि बन्द भयो ।

जनताले रैतीबाट आफूलाई नागरिक घोषणा गरेको ७० वर्ष बिते पनि शासकले नागरिकलाई रैती नै मानिरहेकाले टुँडिखेल मार्चको तयारी गरेको अभियन्ता प्रणिका कोयू बताउँछिन् । भन्छिन्, ‘हामीलाई अहिले पनि रैती मात्र मानिन्छ । त्यो हामीलाई स्वीकार्य छैन भन्ने उद्घोष गर्न टुँडिखेल मार्च हुँदैछ ।’

अभियन्ता रिता साह अझ अगाडि बढेर भन्छिन्, ‘पञ्चायतमा गजेन्द्रनारायण सिंहले टुँडिखेलमा सभा गर्न खोज्दा मधेसी भनेर रोकियो । उहाँको धोती खोसेर अपमानित गरियो, ढुंगा हानियो । टुँडिखेल सबै नेपालीको हो, विभेद किन ? समानताको आवाज लिएर टुँडिखेल मार्च गर्दै छौँ ।’

टुँडिखेलले बोकेको नेपाली जनताको इतिहास सेनाले खोसेको बताउँछन् अभियन्ता अनुभव अजित । भन्छन्, ‘लोकतन्त्रमा पनि ऐेतिहासिक ठाउँमा जान नपाउने भन्ने अकल्पनीय कुरा हो । त्यो सैनिक बस्ने ठाउँ होइन, नागरिकले कार्यक्रम गर्ने थलो हो । यो आवाज त्यहीँ गएर उठाउँछौँ ।’
‘टुँडिखेल जनताको हो, तर जनतालाई नै प्रतिबन्ध किन ?’ अभियन्ता सिएन थारूको प्रश्न छ, ‘नागरिक आफ्नो सम्पत्तिको दाबी गर्न टुँडिखेल जान लागेका हौँ ।’

अभियन्ता राजेन्द्र महर्जन नागरिकको ‘स्पेस’ राज्यले कब्जा गर्न नसक्ने बताउँछन् । ‘नागरिकले मनका कुरा अभिव्यक्त गर्ने, सल्लाह र असन्तुष्टि व्यक्त गर्ने ठाउँ हुनुपर्छ । तर, त्यही ऐतिहासिक ठाउँ नै नागरिकका लागि बन्देज गरिनु अराजनीतिक हो । नागरिकको शक्तिलाई कमजोर बनाउने कोशिस हो । त्यसको प्रतिवाद गर्न टुँडिखेल जान लागेका हौँ,’ उनले भने ।

लोकतन्त्रको उद्घोष भएको ठाउँ हो टुँडिखेल । तर, आजको लोकतन्त्रमा पनि जनताको अधिकार सुरक्षित छ भन्ने महसुस हुन नसकेकाले आफूहरू टुँडिखेल मार्चमा निस्कन लागेको बताउँछन् अभियन्ता युग पाठक ।

‘लोकतन्त्र उद्घोष भएको ७० वर्षपछि हामी लोकतन्त्रकै दाबी गर्न टुँडिखेल जाँदै छौँ,’ पाठक भन्छन्, ‘त्यो ठाउँ सबैको हक, उत्तरदायित्व र जिम्मेवारी महसुस गर्ने बिम्बका रूपमा जनतासँग हुनुपर्छ । तर, त्यहाँ सेनाको परेड, सलामी, गुलामी मात्रै हुनेगर्छ । त्यही भएकाले टुँडिखेलबाटै लोकतन्त्रको नयाँ चरणको आन्दोलन सुरु भयो भन्ने सन्देश दिन खोजेका हौँ ।’

जनताले आफ्नो भविष्यको फैसला आफै गर्ने र त्यो अधिकार निरंकुश तानाशाहलाई दिँदैन भन्ने सन्देश टुँडिखेलबाट दिन खोजेको अभियन्ता भास्कर गौतम बताउँछन् । ‘हामीले कस्तो भविष्य लिएर जाने भन्ने संघर्षको प्रतीक टुँडिखेल हो । ००७ सालदेखि अहिलेसम्म घात–प्रतिघात मात्रै भयो । त्यसैको विरुद्ध नागरिक मार्च टुँडिखेल जाँदैछ,’ उनले भने ।

टुँडिखेलमा सेनाले बनाएको ब्यारेक अवैध मात्रै नभएर सुरक्षा रणनीतिले पनि गतल भएको अनुभव अजितको छ । ‘सेनाको महत्व छँदै छ । तर, उसले लोकतान्त्रिक अभ्यास गर्नुपर्छ । जनताको पहुँचमा हुनुपर्ने भूमि ओगट्ने काम गर्नुहुन्न । सेना आफ्नो ब्यारेकमा जानुपर्छ,’ अजित भन्छन् ।

अजितसँगै महर्जन पनि टुँडिखेलबाट सेना हट्नुपर्ने धारणा राख्छन् । ‘सेनाले अभ्यासै गर्दा पनि विदेशी खुफिया एजेन्सीले नदेख्ने एकान्तमा गर्नुपर्छ ।’ उनी भन्छन्, ‘त्यस्तो जटिलता भएको ठाउँमा सेनाको मुख्यालय भवन बन्नु उचित होइन । झनै सेनाले महानगरपालिकाको सामान्य सर्त पनि नमानेको देखिन्छ । उसको नक्सा पास हुँदैन । सेना आफैँ लोकतान्त्रिक हुने हो ।’

साँघुरिएको टुँडिखेल

कुनै समयको विशाल टुँडिखेल खुम्चिएर अहिले साँघुरो बनेको छ । सहिद गेट बनेपछि टुँडिखेल दुई भागमा विभाजित भयो । हिजो र आजको टुँडिखेलमा आकाश–पाताल भिन्नता छ । आज टुँडिखेल सेनाको परेड खेल्ने ठाउँ मात्र भएको छ । त्यस्तै, उत्तरतर्फ त ठेकेदारको सामान राख्ने ठाउँ भएको छ ।

आजको टुँडिखेल काँडेतारले बारेर नागरिकलाई प्रवेश गर्न बन्देज गरिएको छ । खासमा टुँडिखेल साँघुरिएको छ । अभियन्ता सञ्जीव उप्रेती भन्छन्, ‘जुन तरिकाले टुँडिखेल साँघुरो बनाउँदै गइयो, त्यहीअनुसार सामाजिक न्याय, अधिकार पनि साँघुरो बनाउँदै लगेका छन् । यस्तो काम जनताले निर्वाचित गरेको प्रतिनिधिले होइन, तानाशाहले गर्छ ।’

मानव अधिकारवादी अभियन्ता मोहना अन्सारी भन्छिन्, ‘विश्वका जुनसुकै देशमा जहाँ–जहाँ ऐतिहासिक उद्घोष भएको हुन्छ, त्यो ठाउँ नागरिकका लागि छाडिएको हुन्छ । तर, अहिले सेनाले कब्जा गरेर बसेको छ । सेनाका लागि होइन त्यो ठाउँ । नागरिकले सेनाको स्पेस दाबी गरेको होइन, आफ्नो स्पेसमा हक दाबी गरेको हो,’ उनी भन्छिन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्