एमालेकाे चुनाव परिचालन अध्यक्ष ओलीको नेतृत्वमा


२५ आश्विन २०७४, बुधबार
KP sharma oli

काठमाडौं  : एमालेले अध्यक्ष केपी ओलीको नेतृत्वमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन परिचालन गर्ने भएको छ । संसदीय दलको कार्यालय, सिंहदरबारमा मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीकै संयोजकत्वमा दुवै तहको निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको हो ।

KP Sharma oli

चुनावी परिचालन कमिटीमा अन्य नेताहरू पनि रहनेछन्, तर समग्र नेतृत्व भने ओलीले नै गर्नेछन् । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलसहित सबै पदाधिकारी प्रत्यक्षतर्फ निर्वाचन लड्ने निश्चित भएकाले बैठकले ओलीलाई नै संयोजक बनाउने निर्णय गरेको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए । ‘चुनावी परिचालनको नेतृत्व अध्यक्षले नै गर्नुहुनेछ,’ श्रेष्ठले भने ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचन परिचालन कमिटीको नेतृत्व भने महासचिव ईश्वर पोखरेलले गरेका थिए । यसअघि समग्र चुनाव परिचालनका लागि शीर्ष तहको कुनै नेताले प्रत्यक्षतर्फ निर्वाचन लड्ने कि नलड्ने भन्ने बहस एमालेमा थियो । निर्वाचन परिचालन कमिटीअन्तर्गत प्रचार, आर्थिकलगायतका कमिटी पनि रहने एमालेले जनाएको छ । एमालेमा अध्यक्ष ओली झापा–५, नेपाल काठमाडौं–२, खनाल इलाम–१, उपाध्यक्ष गौतम प्युठान या बर्दिया–१, महासचिव पोखरेल काठमाडौं–५ बाट निर्वाचन लड्ने निश्चित भएको छ ।

बैठकले वाम एकतालाई अझ बलियो बनाउन साना वाम दलसँगको वार्तालाई तीव्रता दिने निर्णय गरेको छ । राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा संयुक्त, नेमकिपासहित सबै साना वाम दललाई मिलाएर बृहत् वाम गठबन्धन बनाउने एमालेको तयारी छ । राजमो र मालेले निश्चित सिट संख्या लिएर गठबन्धनमा सामेल हुने तयारी गरिरहेका छन् । त्यस्तै, बैठकले विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन र सहयोग गर्न आह्वानसमेत गरेको छ ।

(नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७