विना कारण प्रदेश–२ का प्रमुख बर्खास्त, राज्यविरुद्धको अपराधमा पक्राउ परेका झा प्रदेश प्रमुख नियुक्त


८ फाल्गुन २०७७, शनिबार
tilak pariyar2021 02 20 05 42 22

काठमाडौं, ८ फागुन । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश–२ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । तर, परियारलाई पदमुक्त गर्नुको कारण भने खुलाइएको छैन । राजनीतिक दलहरूले राष्ट्रपतिको यो कदमको विरोध गरेका छन्न् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश २ का प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा शुक्रबारै राजेश झालाई प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गरेकी छिन् ।

झाले शुक्रबारै शपथ लिएका छन् । राजेश अहिराजका रूपमा चिनिने झाले आफै प्रकाशक तथा सम्पादक रहेको पत्रिका मधेशवाणीमा तत्कालीन भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) को सशस्त्र समूहमा भर्ना खुलेको भन्दै विज्ञापन छापेका थिए । यही विषयमा राज्यविरुद्धको अपराधमा उनी गिरफ्तार परेका थिए ।

शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा सहभागी भएनन् । संसद् विघटन गर्ने सरकारको कदमप्रति उपराष्ट्रपति पुन र सभामुख सापकोटाले असहमति राख्दै आएका छन् । परियारले राजनीतिक प्रतिशोधका आधारमा आफूलाई पदमुक्त गरिएको प्रतिक्रिया दिएका छन् ।

‘मलाई कुनै जानकारी छैन, पदबाट हटाइएको सञ्चारमाध्यमबाट थाहा पाएको हुँ, पछि मात्रै इमेल पाएको थिएँ । किन पदमुक्त गरियो भन्ने मलाई केही पनि जानकारी छैन । यो एक ढंगले नेकपाको विभाजनको प्रतिछाया हो कि भन्ने लागेको छ,’ उनले थपे, ‘मैले पदको मर्यादालाई कायम गरेर आफ्नो भूमिकालाई तटस्थ र निष्पक्ष भएर निभाएको थिएँ । अब यसबारे कानुनविद्हरूसँग सल्लाह गरेर कानुनी उपचार खोज्छु ।’

परियार १८ कात्तिक ०७६ मा प्रदेश प्रमुख नियुक्त भएका थिए । राष्ट्रपति भण्डारीले त्यसवेला पनि मन्त्रिपरिषद्को सिफारिसमा त्यसअघि कांग्रेस सरकारले नियुक्त गरेका सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेकी थिइन् । सरकारको सिफारिसमा भण्डारीले अकस्मात् प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्ति गरेकोप्रति नेकपाको प्रचण्ड–नेपाल समूह र कांग्रेसले विरोध एवं भत्र्सना गरेका छन् ।

नेकपाको प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले गैरकानुनीपूर्ण, ज्यादतीपूर्ण र बलमिच्याइँपूर्वक कदम चालिरहेको र यो त्यसकै एउटा रूप भएको बताए ।‘नेपाली जनताले सात दशकसम्म बलिदानीपूर्ण संघर्ष गरेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तन, समाजवादउन्मुख समावेशी लोकतन्त्र र त्यसलाई संस्थागत गरेको संविधानको रक्षाको निम्ति हामी हरहालतमा अगाडि बढ्छौँ,’ श्रेष्ठले भने, ‘संसद् विघटन गरेर आफैँ कामचलाउ सरकारमा परिणत भइसकेको सरकारले गैरकानुनीपूर्ण, ज्यादतीपूर्ण र बलमिच्याइँपूर्वक जुन कदम चालिरहेको छ, यो केही समयका लागि भएको निर्लज्ज र दमनकारी अभिव्यक्ति मात्रै हो ।’ उनले सरकारले नयाँ ढंगले फासीवाद लागू गर्ने दिशातिर आफूलाई अघि बढाएको बताए । ‘यो फासीवादको अभिव्यक्ति मात्रै हो । हामी यसलाई छिट्टै तह लगाउनेछौँ,’ उनले भने ।

त्यसैगरी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्ति अत्यन्तै गलत र आपत्तिजनक भएको बताएका छन् । ‘अघिल्लो सरकारको पालामा प्रक्रियाबमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो, अहिले फेरि त्यही प्रवृत्ति दोहोर्‍याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ,’ प्रवक्ता शर्माले भनेका छन्, ‘निर्वाचन घोषणा गरेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ।’

कांग्रेसले संसद् विघटनको असंवैधानिक कदमपश्चात् कामचलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न बिल्कुलै नमिल्ने र नपाइने भन्दै विरोध गरेको छ । ‘स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न कांग्रेस सरकारलाई चेतावनी दिन चाहन्छ,’ शर्माले भनेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७