भत्ताले एकल पुरुषको जीवन सहज


८ फाल्गुन २०७७, शनिबार
bhatta

काठमाडौं, ८ फागुन । ललितपुरको बागमती गाउँपालिका–४ स्थित प्युटारका एकल पुरुष बलबहादुर घलेलाई गाउँपालिकाले प्रदान गरेको ‘एकल पुरुष’ भत्ताले दैनिकी चलाउन सहज भएको छ ।

६३ वर्षीय एकल पुरुष घलेको अन्य कुनै आम्दानीको स्रोत नहुँदा गाउँपालिकाले प्रदान गरेको मासिक एक हजार रुपियाँ भत्ताबाट उनले राहत भएको महसुुस गरेका हुन् । ‘दैनिक नुन तेल, चियाको गर्जाे राम्ररी टरेको छ’, घलेले भने । घलेको १९ वर्षअघि श्रीमतीको मृत्यु भएको थियो । दुई सन्तानका पिता घलेकी छोरी विवाह गरी अन्यत्रै गएपछि हाल सम्पर्कमा नभएको र छोरो समेत पत्ता नलागेको उनले बताए ।

घले जस्तै गाउँपालिका–३ स्थित भट्टेडाँडाका अर्का एकल पुरुष हरिबहादुर सिञ्जालीले पनि गाउँपालिकाले प्रदान गरेको एकल पुरुष भत्ताले राहत पाएको महसुस गरेका छन् । ६९ वर्षीय एकल पुरुष सिञ्जालीकी श्रीमतीको केही वर्षअघि नै मृत्यु भएको र बालबच्चा कोही पनि नजन्मेको उनले बताए ।

‘गाउँपालिकाले प्रदान गरेको मासिक एक हजार रुपियाँले चिया खाजा खान सजिलो भएको छ’, उनले भने, ‘हामी जस्ता एकल पुरुषलाई गाउँपालिकाले भत्ता प्रदान गरेर ठूलो गुन लगाएको छ ।’ गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७