शिविर कुर्दै बुढेसकाल


प्रकाशित मिति : February 20, 2021

मोरङ, ८ फागुन । छत्रमाया राईले भुटान छाडेको ३० वर्ष नाघ्यो । अनेक हन्डर खाँदै मोरङको पथरी शनिश्चरे शरणार्थी शिविरमा जीवनको उर्वर समय बिताइन् । यो बीचमा न भुटान फर्किन सकिन् न त नेपाली भन्न सक्ने कानुनी आधार प्राप्त गरिन् ।

भन्छिन्, ‘न यताको न उताको, बाटोको जुत्ता जस्तै हाम्रो जिन्दगी ।’ छाडेर जाने आफन्त तेस्रो देश पुनर्वासमा गए । नौ जनाको परिवारमा शिविरको झुपडी कुर्ने राई दम्पती र वृद्धा आमा आशामती मात्रै छन् ।

छत्रमायाका दुई छोरा अमेरिका भासिएको तीन वर्ष भयो । उनीहरू फोन गर्न समय मिल्दैन भन्छन् । मुस्किलले एक महिनामा सन्तानसँग बात मार्छ राई दम्पती । भन्छिन्, ‘छाडेर जानेहरूलाई छाडिनेको माया लाग्दैन सायद । छाडिसकेको गुँड सम्झेर को पो आउला र ?’
छत्रमाया चार वर्षअघि पति मनबहादुरसँग आफन्त भेट्न भारतको सरलपाडा पुगेकी थिइन् । फर्किंदा लाभरघोटे जंगलमा बम विस्फोटमा परे । उनीहरू नराम्रोसँग घाइते भए । मनबहादुरलाई त ६ महिना अस्पताल राख्नुपर्‍यो । बिरामी मनबहादुर र वृद्धा सासू आशामतीसँगै दिन काटिरहेकी छन् छत्रमाया ।

भुटानको गाउँको माया लागिरहन्छ । त्यहाँ आफ्नै घर थियो । जग्गा थियो । पाखो नै भए पनि भकारीभरि अन्न फल्ने बारी थियो । गाउँ सम्झिँदै भन्छिन्, ‘कोदो, गहुँ, मकै खुब फल्थ्यो । पाखाभरि पहेंलपुर सुन्तला झुल्थे । यहाँ त एउटा रूख समेत रोप्न पाइएको छैन । अर्काको ठाउँमा जति नै गरे पनि आफ्नो नभइने रहेछ ।’

उनीहरूले असुरक्षा महसुस गरेपछि भुटान छाडेका थिए । काखे बच्चाहरू बोकेर कैयौँ दिन जंगलै जगल हिँडे । जीवनभरको कमाइ दुइटा डोकोमा बोके । गाउँ छाडेको २० आँै दिनमा मात्रै उनीहरू नेपाल आइपुगेका थिए ।

यो ३० वर्षमा न कुनै आधिकारिक परिचय बन्यो आशामतीको न त प्रमाणित कुनै कागजात । ८१ वर्षीया आशामतीले वृद्ध भत्ता समेत पाउँदिनन् । उनीहरू आउँदा जंगल फाँडेर बनाएको स्याउलाको घर अहिले बाँसको चोयाले अड्याइएको छ । रातोमाटोले लिपपोत गरेर चिटिक्क बनाइएको छ । अलिअलि रकम जम्मा गरुँभन्दा बैंक खातासम्म खोल्न पाइँदैन । आफ्नो नाममा घरजग्गा जोड्ने रहर अधुरै छ । नागरिकता अभावमा जग्गा पास गर्न सक्ने अवस्था छैन ।

आशामती भन्छिन्, ‘उमेर ढल्किँदै गएपछि आफ्नाहरूको रहर लाग्ने र’छ । आफ्नो घर, आफ्नो सन्तान, परिवार । सानो होस् आफ्नै घरमा मर्न पाए पनि हुन्थ्यो ।’ उनीहरूजस्तै धेरै भुटानी शरणार्थीले आफ्नोपनको आभाष गर्न पाएका छैनन् ।

मोरङको पथरी शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरका अधिकांश घरमा वृद्धवृद्धा देखिन्थे । बाँसबाट बनेका अधिकांश घरमा ताला लागेको थियो। धेरै भुटानी शरणार्थी तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत विदेश उडिसके । परिवारको माया, विदेश जान नचाहने, भुटान फर्कन चाहने र केही अपांगता व्यक्ति भने पुनर्वासमा जान सकेनन् । उनीहरू शिविरमै अलमलिए। टाढिएका आफन्त र सन्तानसँगको पुनर्मिलनको आसमा बसिरहेका उनीहरू केही उदास र हतास देखिन्थे ।

शिविरको पल्लो कुनामा ढुंगा खात लगाउँदै गरेको अवस्थामा भेटिएकी थिइन्, खोटाङकी अनिता भुजेल । उनी बिहे नगर्दासम्म नेपाली थिइन् । तर, भुटानी शरणार्थी केदारनाथ भुजेलसँग बिहे गरेपछि नेपाली नागरिक रहिनन् । उनको नाम पछाडि ‘भुटनिज’ जोडिएको छ । तर, उनलाई अहिलेसम्म थाहा छैन भुटान कहाँ छ र कस्तो छ ? उनी त्यहाँको नागरिक बन्न पाउँछिन् वा पाउँदिनन् ?

विराटनगर आफन्तकहाँ गएको बेला केदारनाथसँग भेट भएको थियो २० वर्षअघि । उही उनीहरूले मन साटे । मायाले परिचय र देश खोजेन उनीहरू एक भए । बिहेपछि उनको नेपाली परिचर गायव जस्तै भयो । बाबुआमा सानैमा गुमाएकी उनी दाजुभाइ र आफन्तसँग पनि सम्पर्कमा छैनन् । जन्मेको घरमा केही बाँकी छैन । परिवार जस्तै छिन्नभिन्न भयो उनको नेपाली परिचय पनि । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्