यी हुन् श्रीमतीकाे दाइजोले धनी बनेका ‘गरिब’ नेताहरू


२५ आश्विन २०७४, बुधबार

हेर्नुहोस् कसले कति पाए दाइजो

काठमाडौं : सरकारमा सामेल ‘ज्वाइँ मन्त्री’हरूलाई दाइजो दिएर ‘पहेंलपुरै’ बनाइदिने ससुरालीको आम्दानीको स्रोत के होला ? देउवा मन्त्रिमण्डलमा सामेल केही मन्त्रीको दाइजोमा आर्जित सुन, चाँदी, हीरा, मोतीको विवरण देख्दा ‘हर्ट अट्याक’ होला भन्ने डर !

चार महिनापछि सोमबार अपराह्न देउवा मन्त्रिमण्डलमा सामेल केही मन्त्री तथा राज्यमन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण नियाल्दा सर्वसाधारणको मनमा उठ्ने सवाल हो यो ।  प्रधानमन्त्री देउवासँग १० थान असर्फी, ४ तोलाको सुनको सिक्री, ५ तोलाको ब्रासलेट, ४ तोलाको हीरा, पन्ना, रुबी, मुगाजडित औंठी रहेछ ०५१ सालमा दाइजोमा पाएको । उपप्रधानमन्त्री गच्छदारसँग ७५ तोला सुन र २ सय ५ तोला चाँदी दाइजोबाटै आर्जित । माओवादीबाट परेका कृष्णबहादुर महरासँग सम्पत्तिको नाममा एभरेष्ट बैंकमा नगद ९० हजार मात्र । गोपालमान श्रेष्ठसँग ५० तोला सुन र १ सय १० तोला चाँदी । गिरिराजमणि पोखरेलले देखाएको सम्पत्ति विवरणमा नगद ८ लाख १५ हजार २ सय २६ रुपैयाँ ६६ पैसा मात्र, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दाइजोमै पाएको ३० तोला सुन, २ सय ५० तोला चाँदी, दुई सेट हीराको हार । यो बाहेक नगद ५ लाख ७५ हजार रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

singdarbar PM Office

श्रममन्त्री फरमुल्ला मन्सुरसँग ५ तोला सुन, ११ तोला चाँदी र नगद ७ लाख रहेको भनिएको छ । आफूसँग भएको सुन, चाँदीलाई उनले पैतृक सम्पत्ति भएको उल्लेख गरेका छन् । गृहमन्त्री जनार्दन शर्मासँग ५ तोला सुन र २० तोला चाँदी छ । पटक–पटक मन्त्री भएका उनले नगद सम्पत्तिको नाममा एभरेष्ट बैंकमा एक लाख रुपैयाँ मात्र देखाएका छन् र लक्ष्मी शर्माका नाममा एक लाख ५० हजार रहेको सम्पत्ति विवरणमा देखिन्छ ।

प्रभु साहले आफूसँग सम्पत्तिको नाममा नगद २० लाख रहेको देखाएका छन् । पर्यटनमन्त्री बनेर विवादमा तानिएका जितेन्द्रनारायण देवले ४० तोला सुन र सय तोला चाँदी दाइजोमा पाएको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै, उनीसँग हिमालयन बैंकमा २१ लाख रकम फिक्स डिपोजिट, एसबिआईमा १८ लाख, एभरेष्ट बैंकमा २७ लाख, कृषि विकास बैंकमा १० लाख र सनराइज बैंकमा २२ लाख रहेको विवरण छ ।

गोपाल दहितले ३ सय तोला चाँदी र ६ तोला सुन रहेको विवरणमा देखाएका छन् । उनले सम्पत्ति विवरणमा ३० लाख भरेका छन् । सञ्चारमन्त्री मोहन बस्नेतले ०५६ सालमा विवाह गरी दाइजोमा १०२ तोला सुन र २ तोला चाँदी पाएको उल्लेख गरेका छन् । कृषिमन्त्री रामकृष्ण यादवले ५० तोला सुन, ५ तोला चाँदी दाइजोमा पाएको, भौतिक पूर्वाधारमन्त्री वीरबहादुर बलायरले २५ तोला सुन दाइजोमा पाएको उल्लेख गरेका छन् । उनकी श्रीमती शर्मिला राई बलायरको नाममा बैंकमा १५ लाख ७१ हजार २३८ रुपैयाँ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट आर्जित र परिवार नियोजन संघबाट आर्जित ८ लाख ७ हजार ३ सय ४४ नगद मौज्दात रहेको देखाइएको छ ।

मीन विश्वकर्माले देखाएको सम्पत्ति विवरणअनुसार २९ तोला सुन छ । यज्ञबहादुर थापासँग ३० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ । रक्षामन्त्री भीमसेनदास प्रधानसँग हीरा जवाहरात ७ थान, सुन २० तोला, चाँदी ७ केजी रहेको उल्लेख छ । यो सम्पत्तिलाई उनले पुख्र्यौली भएको जिकिर गरेका छन् । त्यस्तै, सिञ्चाइमन्त्री सञ्जय गौतमसँग ६५ तोला सुन, सय तोला चाँदी र हीरा सेट २ थान रहेको विवरणमा उल्लेख छ ।

प्रचण्डलाई हराएर वाहवाही कमाएका खेलकुदमन्त्री राजेन्द्र केसीसँग ६५ तोला सुन रहेको उल्लेख छ । उनले दाइजोस्वरूप चितवनमा पाँच कठ्ठा जमिन पाएको भनेका छन् । जसको मूल्य दुई करोड ५० लाख उल्लेख गरिएको छ । माओवादीमन्त्री टेकबहादुर बस्नेतसँग २ तोला सुन रहेको उल्लेख छ । उक्त सुनलाई उनले पुख्र्यौली भनेका छन् । महिला, बालबालिकामन्त्री आशा कोइरालाले ५० तोला सुन पेवा भएको उल्लेख गरेकी छन् ।

महेन्द्रबहादुर शाहीले ६ तोला सुन र दुई सय तोला चाँदी आफूसँग रहेको सम्पत्ति विवरणमा देखाएका छन् । त्यस्तै, सन्तकुमार थारूसँग १० तोला सुन, चाँदी २० तोला रहेको उल्लेख छ । शिवकुमार केवटसँग साविकको तुलनामा ५ तोला सुन थपिएको सम्पत्ति विवरणमा उल्लेख छ । सामाजिक सुधार व्यवहार ऐन २०३३ ले भन्छ– कुनै पनि व्यक्तिले दुलही वा दुलाहा पक्षबाट दाइजो र तिलक लिन पाइँदैन । तर, समाज रूपान्तरण गर्न राजनीतिमा होमिएको दाबी गर्ने चाहे क्रान्तिकारी, कांग्रेस हुन् वा राजावादी – सबैजसो मन्त्रीले सम्पत्ति विवरणमा दाइजोबाट सुनका गरगहना पाएको सगर्व उल्लेख गरेका छन् ।

अध्येताहरूका लागि खोजीको विषय हो, एउटै ज्वाइँमन्त्रीका लागि ७५ तोलासम्म सुन दाइजो दिने ल्याकत राख्ने ससुरालीको आम्दानीको स्रोतचाहिँ के होला ? यसमा लाटोले पनि लख काट्न सक्छ ससुरालीबाट दाइजोमा आर्जित सम्पत्ति भनेपछि न अख्तियारले समाउने डर न त सम्पत्ति शुद्धीकरणकै खोजीमा पर्ने पिर ! दाइजोबाट आर्जित सम्पत्ति भन्यो– हाइसञ्चो ।

जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७