मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसूची, ओली समूहलाई पर्खदै सांसदहरु


९ फाल्गुन २०७७, आईतवार
pradesh 12021 01 21 09 24 43

विराटनगर, ९ फागुन । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभाको आज (आइतबार) को बैठक सत्तारुढ नेकपा ओली समूहले बहिष्कार गर्ने भएको छ ।

आइतबार मुख्यमन्त्री शेरधन राईको कार्यालयमा बसेको ओली समूहको सांसदहरुको बैठकले प्रदेशसभामा सहभागी नहुने निर्णय गरेको हो । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ जना नेकपा सांसदलाई मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका थिए । उनीहरु सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने भनी सभामुखलाई जानकारी गराएको ओली समूहमा रहेका मन्त्री जगदीश कुशियतले जानकारी दिएका छन् ।

आजको वैठकमा मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश हुने कार्यसूची थियो । प्रदेश सचिवालयले जारी गरेको कार्यसूचीअनुसार आज मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्तावमाथि छलफल हुने जनाइएको थियो ।

प्रदेश–१ को प्रदेशसभाको बैठक आइतबार दिउँसो २ बजेका लागि बोलाए पनि ओली समूह उपस्थित भएको छैन । प्रदेशसभामा अरु दलका सांसदहरु आए पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको ओली समूहका सांसद आएका छैनन् । ओली समूहका सांसद नआएका कारण वैठक अघि बढ्न नसकेको हो ।

सभामुख प्रदीपकुमार भण्डारीले बैठकको कार्यसूची सार्वजनिक गरेका छन्, तर दिउँसो २ बजेसम्म प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रमुख सचेतकहरु रहेको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन ।

यसअघि आजको प्रदेश सभा बैठक रोक्न मुख्य मन्त्री राईले सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गरेका थिए तर, सभामुख भण्डारीले भने मुख्यमन्त्रीको आग्रह अस्वीकार गर्दै कार्यसूची समेत प्रकाशन गरेका छन् । प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले हस्ताक्षर गरेको विज्ञप्तिमा, ‘मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव ऐ. नियमावलीको नियम १२९(४) बमोजिम पेश हुने,’ उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७