श्रमिकबाट उठाइएको ६५ अर्ब प्रयोजनविहीन


१० फाल्गुन २०७७, सोमबार
money
फाइल फोटो

काठमाडौं, १० फागुन । सरकारले विभिन्न शीर्षकमा श्रमिकको नाममा करिब ६५ अर्ब संकलन गरे पनि सदुपयोग पक्ष भने कमजोर देखिएको छ ।

वर्षौंदेखि सरकारले सामाजिक सुरक्षा कर, कल्याणकारी कोष, सामाजिक सुरक्षा योजनाका नाममा छुट्टाछुट्टै हिसाबले श्रमिकबाट उठाए पनि त्यसको उपयोग हुन सकेको छैन । २०६६–६७ देखि तत्कालीन सरकारले १ प्रतिशतका दरले श्रमिकको परिश्रमिकबाट कर कट्टी गर्न थालेको थियो ।

अहिलेसम्म सो शीर्षकमा ३५ अर्बभन्दा बढी कर संकलन भइसकेको छ तर त्यो रकम केमा खर्च भइरहेको छ भन्नेबारे सरकारले पुष्टि गर्न सकेको छैन । त्यसो त यो शीर्षकमा जम्मा भएको संकलित राजस्व सामाजिक सुरक्षा कोषमा ल्याउन कोषले धेरै प्रयास गरे पनि सफलता पाउन सकेको छैन ।

सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले १ प्रतिशत कर अन्तर्गतको रकम सामाजिक सुरक्षा कोषमा ल्याउन बारम्बार अर्थ मन्त्रालयसँग निवेदन गरिए पनि सुनुवाइ नभएको बताउँछन् ।

उनका अनुसार यो कर श्रमिककै हितमा खर्च गर्नेगरी कोषले आफ्नो मातहतमा ल्याउन खोजेको हो । तर, अर्थ मन्त्रालयबाट सुनुवाइ भएको छैन । यता अर्थ मन्त्रालयका अधिकारीहरूले भने त्यो रकम सरकारको राजस्व खातामा जम्मा हुने भएकाले अन्य नियमित काममा खर्च भएको बताउँछन् ।

अर्थका एक उच्च अधिकारीका अनुसार सरकारले सञ्चालन गरिरहेको सामाजिक सुरक्षाअन्तर्गतका वृद्धभत्ता, अपांग, विधवा भत्ताजस्ता काममा त्यो पैसा खर्च भइरहेकाले सामाजिक सुरक्षा कोष मातहतमा पठाउन नसकिएको हो । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७