भारतका ९१ जिल्लामा फेरि बढे कोरोनाका संक्रमित, सार्वजनिक कार्यक्रममा प्रतिबन्ध


प्रकाशित मिति : February 22, 2021

काठमाडौं, १० फागुन । भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा फेरि बढ्न थालेको छ । ९१ जिल्लामा कोरोना बिरामीको संख्यामा बढोत्तरी देखिएको छ । यीमध्ये ३४ जिल्ला महाराष्ट्रका छन् । यहाँ पछिल्ला केही दिनदेखि दैनिक संक्रमितको संख्या निको हुने बिरामीको संख्याभन्दा बढी छ ।
एकै दिनमा ४,४१२ सक्रिय संक्रमित
आइतबार भारतमा १३ हजार ९७९ नयाँ बिरामी भेटिए । यस्तै ९,४७६ संक्रमित निको भए, यसका साथै ७९ को मृत्यु भयो । ४,४१२ सक्रिय संक्रमित बढे जुन ८७ दिनमा सबैभन्दा बढी हो । यसअघि २५ नोभेम्बरमा ७,२३४ सक्रिय संक्रमित बढेका थिए । सक्रिय संक्रमित अर्थात् जुन बिरामीको उपचार चलिरहेको छ ।

महाराष्ट्रमा कोरोनाभाइरस संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएकोमा राज्य सरकारले चिन्ता व्यक्त गरेको छ । मुख्यमन्त्री उद्धव ठाकरेले सोमबारदेखि राज्यमा भीडभाडयुक्त राजनीतिक र धार्मिक कार्यक्रममा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उनले स्थितिमा सुधार नभए राज्य सरकार पुनः लकडाउन गर्न बाध्य हुने बताएका छन् ।

उद्धव ठाकरेले आइतबार मानिसहरुलाई ८ दिनको अल्टिमेटम दिँदै लकडाउन नचाहने हरुलाई मास्क लगाउन आग्रह गरेका छन् । नीजि कम्पनीलाई घरबाटै काम गर्ने नीति अपनाउन आग्रह गरिएको छ । उनले अबको ८ देखि १५ दिनभित्र यो कोरोनाको दोस्रो लहर हो होइन भन्ने थाहा हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्