गलकोटका किसानले शुरु गरे सामुहिक किबी खेती


१० फाल्गुन २०७७, सोमबार
Kibi

बागलुङ, १० फागुन । बागलुङको गलकोट नगरपालिका–४ खरुवाका किसानले सामुहिक किबी खेती अभियान थालेका छन् । समूहमा खेती गरेर किबीको व्यावसायिक उत्पादनका लागि किसान एकै ठाउँमा भएका हुन् । समूहमा खेती गर्दा बजारीकरणमा सहज हुने र खेती गर्ने जमीनको समेत एकीकरण हुने भएकाले सामुहिक खेती थालेको किसान बताउँछन् ।

गलकोट नगरपालिकाको रु एक लाख ५० हजार आर्थिक सहयोग र बराहथान किबी उत्पादक कृषक समूहको आफ्नो लगानीबाट शनिबार ३०० किबीका बिरुवा रोपिएको हो । किबीका लागि खाडल खन्ने, ढुवानी र रोपण गर्ने समयसम्म रु सात लाख खर्च भएको समूहका अध्यक्ष उमाकान्त सुवेदीले बताए ।

‘नगरले समूहलाई अनुदान दिएको छ, किसानको मेहनत र नगद लगानी समेत सामूहिक रुपमा भएको छ’, उनले भने, ‘व्यावसायिक उत्पादनको आशा राखेका छौं ।’ किसानले एक हजार ५०० बिरुवा रोप्ने योजना बनाएका छन् ।

पहिलो चरणमा १५ रोपनी जमीन व्यवस्थापन गरेर थालिएको अभियानलाई अझै बढाउने र किबीको पकेट क्षेत्र बनाउने योजना पनि उनीहरुले सुनाए । सुवेदीले भने, ‘यो पहिलो चरणको थालनी मात्रै हो ।’ किसानले थालेको अभियानमा वडाध्यक्ष बलबहादुर खत्रीले साथ दिने प्रतिबद्धता जनाए ।

साथै उनले बिरुवा खोजी र बजारीकरणको अभियानमा साथ दिने बताए । गलकोट नगरपालिकाका कृषि अधिकृत हरिदत्त सुवेदीले किसानको मेहनतलाई प्राविधिक सहयोग गरेर सफल बनाउने बताए । गलकोट क्षेत्रका केही किसानले व्यक्तिगत रुपमा लगाएको किबीले राम्रो फसल दिएकाले यहाँको माटो किबीका लागि उर्वर रहेको मानिएको छ ।

‘धान कोदो लगाउँदा दुःख धेरै आम्दानी कम हुने अवस्था छ’, किसान सुवेदीले भने, ‘किबीको बजार राम्रो छ, तत्कालै नगद पर्ने भएकाले पनि किसानका खर्च चलाउन सहज हुन्छ ।’ खेतबारी र पाखोबारीका साथै किसानले वनमारा फँडानी गरेर खेतीयोग्य जमीन छेउका पखेरामा समेत बिरुवा लगाउने योजना बनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७