सर्वोच्चले भीड होइन, संविधान नै हेर्छ : रघुजी पन्त


१० फाल्गुन २०७७, सोमबार

काठमाडौं, १० फागुन । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रतिनिधिसभा विघटनको कदम सर्वोच्च अदालतले सच्याउनेमा आफूहरु पूर्णरुपमा विश्वस्त रहेको बताएका छन् ।

नेपाल दलित मुक्ति सङ्गठनले प्रतिनिधिसभा विघटनको विरोधमा आज (सोमबार) काठमाडौंमा आयोजना गरेको विरोध र्‍यालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पन्तले असंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतको फैसलाद्वारा सच्चिने सम्भव रहेको बताए ।

सर्वोच्च अदालतले कसैको जुलुस हेरेर नभई नेपालको संविधान हेरेर फैसला गरी संसद पुनर्स्थापना गर्नेमा विश्वास रहेको उनले बताएका छन् । जनतालाई जागरुक बनाउन र संसद पुनर्स्थापनाको पक्षमा जनमत बनाउन निरन्तर विरोध प्रदर्शन भइरहेको र सर्वोच्चको फैसला नआउञ्जेलसम्मलाई विरोधको कार्यक्रम जारी रहने पन्तले बताएका छन् ।

माइतीघर मण्डलादेखि बानेश्वरसम्म भएको र्‍यालीमा प्रदर्शनकारीहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नाराबाजी गरेका थिए । नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिका संयोजक दलजित श्रीपाइलीले प्रतिनिधिसभा विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता पैदा गरेको आरोप लगाएका छन् ।

संविधान, गणतन्त्र, संघीयता, धर्म निरपेक्षतामाथि ‘कू’ भएको भन्दै संयोजक श्रीपाइलीले संविधानमा भएका दलितका अधिकारहरू समेत खोसिएको अनुभूति भएकाले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा आन्दोलन गर्नुपरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७