मेलम्चीको पानी दोस्रोपल्ट सुरुङमा छाडियो : परीक्षण अवधि दुई महिना, वैशाखमै पानी आउने निश्चित छैन

१७–१७ करोड लिटरको याङ्ग्री र लार्के आयोजना अघि बढाइने


प्रकाशित मिति : February 23, 2021

काठमाडौं, ११ फागुन । गत ३० असारमा मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको गेट नम्बर १७ मा दुर्घटना भएपछि पानी परीक्षण नै स्थगित गरियो । हेलम्बु गाउँपालिका–१ अम्बाथानको अडिटको मुख्य गेट फुटेर निस्केको पानीले आयोजनाका इन्जिनियर सतिश गोइत र चालक राधाकृष्ण थापा चढेको गाडी नै बगायो ।

मुख्य गेट फुटेर निस्केको पानीले इन्जिनियर र चालक बेपत्ता बनाएपछि सुरुङ परीक्षणको काम केही महिनाका लागि स्थगित भयो । त्यसपछि एसियाली विकास बैंक (एडिबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरी मर्मत गरेपछि सोमबार साढे २६ किलोमिटर सुरुङमा पानी हालेर परीक्षण सुरु गरिएको छ ।

नौ महिनाअघिकै दुर्घटना दोहोरिने हो कि भनेर सोमबार निकै तयारी गरिएको थियो । परीक्षण कार्यक्रममा खानेपानीमन्त्री मणिचन्द्र थापा, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, पूर्वमन्त्री शेरबहादुर तामाङ, स्थानीय नेता, स्थानीयवासी, बुद्धिजीवीलगायतको उपस्थिति थियो ।

पहिलाको जस्तै दुर्घटना भइहाल्ला कि भनेर आयोजनाले पूर्वतयारीस्वरूप उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौंस्थित विभिन्न अस्पतालसँग समन्वय गरेको थियो । हेलिकोप्टर पनि तयारी अवस्थामा राखिएको थियो । कार्यक्रममा उपस्थित सहभागीमा पनि यस्ता आशंका उब्जेका थिए । तर, खानेपानीमन्त्री थापा, आयोजनाका आयोजनाप्रमुख तिरेश खत्री भने सबैलाई निश्चिन्त हुन आग्रह गर्दै थिए ।

खानेपानीमन्त्री थापाबाट कन्ट्रोल कक्षको स्विच थिचेर पानी परीक्षण सुरुवात भएको थियो । काठमाडौंवासीलाई सहज तरिकाले खानेपानी उपलब्ध गराउने लक्ष्यस्वरूप आयोजनाको सुरुङ परीक्षण सुरु भएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख खत्रीका अनुसार सुरुङको सम्पूर्ण सुरक्षाका मापदण्डको पुनरावलोकन तथा सुधार कार्य सम्पन्न भएलगत्तै पानी प्रवाह गरी परीक्षण कार्य सुरु गरिएको हो ।

आयोजनाका अनुसार सुरुमा परीक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड दुई सय ६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिनेछ । पानी प्रवाह गर्दा सुरुङ भरिन करिब १६ दिन लाग्ने प्राविधिक अनुमान छ । परीक्षण अवधि दुई महिनाको हुनेछ ।

१७–१७ करोड लिटरको याङ्ग्री र लार्के आयोजना अघि बढाइने
दुई महिनाको परीक्षण अवधि सफल भएमा २०७८ वैशाख महिनामै १७ करोड लिटर पानी उपत्यकामा आउनेछ । आयोजनाले पहिलो चरणमा सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने प्रशोधन केन्द्रको निर्माण सम्पन्न गरिसकेको छ । हेडवक्र्स कार्य निर्माण पनि अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ ।

हाललाई हेडवक्र्स स्थलभन्दा एक सय मिटरमाथि निर्माण गरिएको अस्थायी बाँधबाट डाइभर्सन टनेल हुँदै सुरुङमार्गमा पानी प्रवाह गरिएको छ । अस्थायी व्यवस्थाअन्तर्गत पूर्ण रूपमा पानी प्रवाह भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौंमा उपलब्ध हुनेछ । त्यसले उपत्यकाको खानेपानी समस्या निवारणमा महत्वपूर्ण सहयोग हुने आयोजनाले बताएको छ ।

काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग भए पनि हाललाई काठमाडौं उपत्यका खानेपानी लिमिटेडले दैनिक आठ करोड लिटर पानी मात्रै वितरण गर्दै आएको छ । पानी पथान्तरण सुरु भएसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम पानी बहाव क्षेत्रहरूसँगै बागमती नदीमा कुनै पनि वेला पानीको बहाव बढ्न सक्ने भएकाले आसपासका खोलानाला र नदी किनारमा जानुपर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आयोजनाले आग्रह गरेको छ ।

पहिलो चरणको यो परीक्षण सफल भएमा याङ्ग्री र लार्केबाट पनि पानी ल्याउने काम सुरु हुनेछ । याङ्ग्री र लार्केबाट पानी ल्याउन डिपिआर तयारी भइसकेको आयोजनाले जनाएको छ । मेलम्चीसँगै याङ्ग्री र लार्केबाट पनि पानी ल्याउन सकिएमा उपत्यकामा ५१ करोड लिटर पानी आउनेछ । मेलम्ची खानेपानी उपत्यकावासीको घरघरमा पुर्‍याउन २०५५ देखि मेलम्ची विकास खानेपानी विकास समिति गठन गरेर पानी पथान्तरणका लागि काम भइरहेको छ ।

स्थानीयको माग अझै भएनन् पूरा
मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण सुरु हुँदा स्थानीयले आफ्ना माग अझै पूरा नभएको भन्दै असन्तुष्टि जनाए । आयोजनाको औपचारिक पथान्तरणअगावै प्रभावित क्षेत्रका स्थानीय तहले प्राप्त गर्ने लेबीको यथाशीघ्र कानुनी व्यवस्था गर्नुपर्ने, आयोजना पथान्तरणसँगै दीर्घकालीन विकास निर्माणका कामहरूको सम्बोधन गर्नुपर्ने, सुख्खायाममा मेलम्ची खोलामा न्यूनतम मापदण्डबमोजिम पानी झारिने अनिवार्य रूपमा प्रत्याभूत गर्नुपर्ने, सिएमसीपीडित मजदुरको मागको उचित व्यवस्था गर्नुपर्ने, आयोजना कार्यान्वयनका क्रममा अम्बाथान, ग्याल्थेन, सिन्धुखोला तटीय क्षेत्रका खानेपानीको मुहान र खेतीयोग्य जमिनको संरक्षण गर्नुपर्ने माग सम्बोधन नभएको उनीहरूले बताएका छन् ।

‘मेलम्ची खानेपानीको आयोजनाको मुहानबाट पानी पथान्तरण गरी सुरुङको पुनः परीक्षण हुँदा खुसी लागेको छ । काठमाडौंवासीको वर्षौदेखिको मेलम्चीको पानी खाने सपना पूरा हुने अवस्थामा पुग्दा हामी मुहानवासी हुनुले गौरवको अनुभूति गरिरहेका छौँ । तर, हाम्रो माग भने अझै पूरा भएनन्,’ सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम समिति अध्यक्ष उपेन्द्र तामाङले भने, ‘विगतमा आयोजनाको पक्षबाट भएको गम्भीर खालको कमीकमजोरीलाई सामान्य ठानिए । स्थानीयवासीको न्यायोचित मागलाई आयोजनाविरोधीका रूपमा परिभाषित गरियो । यहीकारण आयोजना लम्बिन पुगेको हो । तर, अब यस्तो नहोस् ।’

इटालियन कम्पनी सिएमसी टाट पल्टेर फिर्ता भएपछि आयोजनाको काम अन्योल भएको थियो । अहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले बाँकी काम गरिरहेको छ । आयोजनाको ‘हेडवक्र्स’ सकिन अझै केही महिना लाग्ने भएकाले अस्थायी बाँधबाट पानी पथान्तरण भएको छ ।

आयोजनाअन्तर्गत सुरुङ, हेडवक्र्स र दुई पानी प्रशोधन केन्द्र निर्माण भएको हो । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्न सुन्दरीजलमा दुईवटा ट्यांकी निर्माण भइसकेको छ । यहाँको प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको आयोजनाले जनाएको छ ।

खानेपानीमन्त्री मणिचन्द्र थापा भन्छन्– परीक्षण सफल भएमा मात्र पानी आउने मिति तोक्छौँ
दुई महिनाको समयावधि राखेर परीक्षण गरेका हौँ । परीक्षण सफल हुन्छ भन्ने विश्वास लिएका छौँ । परीक्षण सफल भएमा मात्र हामी यो दिनदेखि उपत्यकावासीको धारामा मेलम्चीको पानी आउँछ भन्न सक्छौँ । त्यो अगाडि यसै भन्न सकिने अवस्था छैन । हिजो जुन रूपमा दुर्घटना भयो, त्यस्तो खालको दुर्घटनाबाट हामीले बचाएका छौँ ।

दुर्घटना हुँदैन भनेर ग्यारेन्टी गर्न त सकिन्न, तर त्यही प्रकृतिको दुर्घटना हुँदैन । किनभने टनेलको तयारी र काठमाडौंसम्म पानी लैजान भनेर जुन खालको तयारी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले गरेको छ, त्यो तयारी सकारात्मक छ । त्यो सफल हुन्छ भन्ने विश्वास लिएका छौँ ।

स्थानीयवासीको जुन खालको समस्या छ, त्यसमा मन्त्रालय गम्भीर छ । स्थानीयको समस्या समाधान गर्नुपर्ने दायित्व सरकारको भएकाले उहाँहरूको समस्या क्रमैसँग प्राथमिकताका आधारमा समाधान गर्छाैं । उपत्यकामा पानी पनि पठाउँछौँ र स्थानीयको समस्या पनि समाधान गर्छौं । यी दुई कुरालाई मन्त्रालयले सँगसँगै लैजान्छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्