फैसलाको घडी नजिक संसद विघटनको मुद्दा, आजदेखि ‘हेर्दाहेर्दै’ मा


११ फाल्गुन २०७७, मंगलवार
sarbochha 1

काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा फैसलाको घडी नजिक आइपुगेको छ । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधि सभा विघटन मुद्दा आज (मंगलबार) देखि हेर्दाहेर्दैमा जाने भएको छ ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको बहस सकिएसँगै आज (मंगलबार) पेसी तोकिएको छ । ४ माघ यता निरन्तर सुनुवाइ हुँदै आएकामा गत शुक्रबार बहस सकिएपछि सर्वोच्च अदालत अब फैसलाको तयारीमा जुटेको छ । अर्थात् अब छिट्टै सर्वोच्च अदालतमा निसु (निर्णय सुनाउने) प्रक्रियामा अघि बढ्ने छ ।

संसद् विघटनविरुद्ध परेका रिटका पक्ष र विपक्षमा बहस गरेका अधिवक्तालाई बहस नोट बुझाउन हिजो (सोमबार) सम्मको समय दिएको इजलासले आजदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर जुनसुकै बेला फैसला हुन सक्ने जानकारी गराएको हो ।

संवैधानिक इजलासमा गत माघ ४ देखि भएको बहस गत शुक्रबार सकिएको थियो । संसद विघटनविरुद्ध परेका रिटबारे सुनुवाइ भने पुस ८ गते सुरु भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले संविधानको धारा १३७ (३) बमोजिम मुद्दा संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको थियो ।

त्यसपछि संसद् विघटन मुद्दाको बहस संवैधानिक इजलासमा भएको थियो । अदालतले गत १० पुसमा प्रतिनिधिसभा विघटनको विषयमा गम्भीर संवैधानिक प्रश्न उठेको भन्दै एमिकस क्युरी झिकाउने निर्णय गरेको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध १२ वटा रिटको सुनुवाइमा पक्ष र विपक्षीको मत सुनेपछि एमिकस क्युरीको राय लिइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७