जग्गा मुद्दामा साक्षी बसेका व्यक्तिको दम्पति नै बेपत्ता, ओच्छ्यामा रगत भेटिएपछि खोजी तीब्र


११ फाल्गुन २०७७, मंगलवार
bepata 1

जनकपुरधाम, ११ फागुन । महोत्तरीमा मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका व्यक्तिको दम्पति अचानक बेपत्ता भएपछि खोजी तीब्र पारिएको छ ।

महोत्तरीको पिपरा गाउँपालिका–५, सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी राति सुतेकै ठाउँबाट बेपत्ता भएका हुन् । झा दम्पति सुतेको ठाउँमा रगत भेटिएकाले घटना शंकास्पद भन्दै खोजी तीब्र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबाहदुर केसीले जानकारी दिएका छन् । आज (मंगलबार) बिहान अबेरसम्म झा दम्पति नउठेपछि हेर्न जाँदा दुवै ओछ्यानमा नभेटिएपछि र त्यहाँ रगत पनि देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।

मोसाफिर झा मोही जग्गा विवादको मुद्दामा साक्षी बसेका थिए । मुद्दा अदालतमा विचाराधीन रहेका बेला मुद्दाका विपक्षीसँग उनको विवाद भएको जानकारी स्थानीयले दिएका छन् । झा मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी हुन् । राति खाना खाएर श्रीमान् श्रीमती बेग्लाबेग्लै कोठामा सुतेका थिए ।

घरमा एक बुहारी र नातिनातिना छन् । बिहानै उठ्दा सासु–ससुरालाई ओछ्यानमा नदेखेपछि बुहारीले स्थानीयलाई खबर गरेकी थिइन् । ‘घटना शंकास्पद देखिएकाले घर घेरा हालेर अनुसन्धान गरिरहेका छौं । घटनाको सूक्ष्म अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर (डग टोली) पनि घटनास्थलमा आएर अनुसन्धान गरिरहेको छ’, प्रहरी उपरीक्षक केसीले भने । झा दम्पति बेपत्ता भएपछि उनीहरू पत्ता लगाउन माग गर्दै स्थानीयले जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७