धुर्मुस-सुन्तली फाउन्डेशनको नाममा एनआरएनको ठगी धन्दा, प्रहरीमा उजुरी


११ फाल्गुन २०७७, मंगलवार
prabin

चितवन, ११ फागुन । धुर्मुस–सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा अनुमानित तीन अर्ब लागतमा क्रिकेट रंगशाला निर्माण शुरु गरे पनि त्यसलाई सम्पन्न गर्न सकेको छैन ।

फाउन्डेशनलाई रंगशाला निर्माणका लागि दाताहरुले प्रतिबद्धता जनाएको सहयोग नदिएका कारण कामले गति लिन सकेन । फाउन्डेशनका सञ्चालक सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले दाताहरुले प्रतिबद्धता जनाएअनुसार सहयोग नगरेकाले निर्माण कार्यले गति लिन नसकेको बताएका छन् ।

धुर्मुस–सुन्तली फाउन्डेशनलाई स्वदेशदेखि विदेशका नेपाली संघसंस्था तथा व्यक्तिहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यही प्रतिबद्धताका आधारमा उनीहरुले रंगशाला निर्माण शुरु गरेका थिए । तर प्रतिबद्धताअनुसार रकम नदिएपछि उनीहरु रंगशाला निर्माण अवरुद्ध हुने चिन्तामा छन् ।

152018695 898010957665599 7104599047329617441 n
प्रवीण गुरुङ-एनआरएन मध्यपूर्वका संयोजक

फाउन्डेशनलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) का विभिन्न च्याप्टरले सहयोग गर्ने आश्वासन दिएका थिए । एनआरएन कतारले दुई वर्ष अगाडि धुर्मुस–सुन्तलीलाई अतिथि बोलाएर २०७६ जेठमा ‘भ्वाइस अफ नेपाल’ को ग्राण्ड फिनालेका दिन क्रिकेट रंगशाला निर्माणका लागि १० लाख दिने घोषणा गरेको थियो । एनआरएन मध्यपूर्व तत्कालीन उपसंयोजकका हैसियतले प्रवीण गुरुङले उक्त सहयोगको राशि घोषणा गरेका थिए ।

तर दुई वर्ष बितिसक्दा पनि प्रवीण गुरुङले उक्त सहयोग फाउन्डेशनलाई दिएका छैनन् । गुरुङ अहिले एनआरएनए मध्यपूर्वको संयोजक छन् । उपसंयोजक हुँदा बोलेको रकम फाउन्डेशनलाई उनले अहिलेसम्म दिएका छैनन् । उक्त कार्यक्रममा धुर्मुस–सुन्तलीलाई सँगै राखेर उनले सहयोग गर्ने घोषणा गरेका थिए ।

एनआरएन कतार मात्र होइन, यसैगरी फाउन्डेशनलाई सहयोग गर्ने आश्वासन दिएका धेरै संस्था वा व्यक्तिले आफ्नो प्रतिबद्धता पूरा नगरेका कारण रंगशाला निर्माण अवरुद्ध हुन पुगेको छ ।

चर्चामा आउनका लागि सहयोग राशि दिने घोषणा गर्ने र पछि नदिने प्रवृत्तिले धुर्मुस सुन्तलीलाई अप्ठेरो परेको छ । त्यत्रो रकम भरतपुर महानगरपालिकाले मात्रै व्यहोर्ने अवस्था छैन । रंगशाला निर्माणमा महानगरपालिकाले भरपुर सहयोग त गरेको छ, तर ३ अर्ब लागतको रंगशाला निर्माणका लागि महानगरले मात्रै धान्ने अवस्था छैन ।
एनआरएनमा बद्नाम हावी हुँदा
एनआरएन मध्यपूर्वका संयोजक प्रवीण गुरुङले धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा निर्माण शुरु गरिएको क्रिकेट रंगशालालाई सहयोग गर्ने घोषणा गरेर नदिएपछि उक्त संस्थाकै बद्नाम भएको छ । प्रवीण गुरुङ जस्ता सुन तस्करी र नेपाली महिलाको श्रम शोषण गरी बद्नाम भएका व्यक्तिलाई एनआरएनको नेतृत्वमा पुर्‍याउँदा त्यो संस्थाको बद्नाम हुन पुगेको हो ।

गुरुङले कतारमा सञ्चालन गरेको एसियाना दोहोरी साँझमा काम गर्न नेपालबाट लगेका युवतीहरुलाई तलब त परै जाओस्, पानी समेत खान नदिएर मानवअधिकार विरोधी व्यवहार गरेको विषय पीडितले सार्वजनिक गरेका थिए । शौचालयको पानी पिएर ज्यान बचाउँदै बल्लतल्ल नेपाल आउन सफल भएका तीन युवतीले विमानस्थलमा रुँदै प्रवीण गुरुङले दिएका सास्तीका बारेमा बताएका थिए ।

उनीहरुले गुरुङविरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेको थाहा पाएपछि उनले हतारहतार एनआरएनए मध्यपूर्वकका उपसंयोजक मनोज गोर्खालीमार्फत् ५ लाख रुपैयाँ दिएर केस मिलाएका थिए । तीनै युवतीहरु कलाकार थिए ।

उनीहरुलाई गुरुङले आकर्षक सेवा सुविधा दिने आश्वासन दिएर कतार लगेका थिए । तर खान समेत नदिए नेपाल आउन पनि ती कलाकारले आफन्तसँग सहयोग मागेर टिकट काट्नुपरेको थियो । प्रवीण गुरुङको शोषणमा परेका गायिका सना महर्जन, लोकदोहोरी गायिका निरुता विश्वकर्मा र डान्सर रेश्मा राई हुन् । उनीहरुले नेपाल आएपछि प्रवीण गुरुङको अत्याचारका बारेमा व्यक्त गरेका बिलौनाहरु युट्यूब र समाचारमा अहिले पनि हेर्न सकिन्छ ।
को हुन् प्रवीण गुरुङ ?
प्रवीण गुरुङ चितवनका हुन् । उनी सुन तस्करीमा समेत संलग्न रहेको आरोप लाग्दै आएको छ । सुन तस्कर गुप्तलाल भुसाल उर्फ रोशन र उनको व्यावसायिक साझेदारी छ । काठमाडौंको सामाखुसीमा उनीहरुले संयुक्तरुपमा विशाल कम्प्लेक्स निर्माण गरिरहेका छन् । गुरुङ र भुसालले सुन तस्करीबाट अर्बाैंको साम्राज्य खडा गरेका छन् ।

त्यसै मध्येको काठमाडौंको सामाखुसीस्थित टोखा रोडमा निर्माणाधीन व्यापारिक कम्प्लेक्स पनि हो । साविक गोंगबु गाविस–५ ‘क’ २४९ को ३ रोपनी ८ आना ३ पैसा क्षेत्रफलको जग्गामा शान्दार कम्प्लेक्स गुरुङ र भुसालको हो । जुन कम्प्लेक्सको बारेमा सम्पत्ति शुद्धीकरणा अनुसन्धान विभागमा उजुरी पनि परेको स्रोत बताउँछ । यो कम्प्लेक्सको जग्गा मिलाउने काम प्रवीण गुरुङले नै गरेका थिए । गेम्जो गुरुङबाट प्रवीण गुरुङले भुसालसँग मिलेर उक्त जग्गा खरिद गरेका थिए ।

प्रवीण गुरुङले ४ वर्ष अगाडि कतारमा भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले गर्दा पार्टनर राखेका प्रदीपकुमार शर्मालाई पनि धोका दिएका थिए । ग्राण्ड फिनालेमा गुरुङले शर्मालाई एक करोडभन्दा बढी रकम ठगी गरेका थिए । शर्माले नेपाल प्रहरीमा गुरुङका विरुद्ध ठगीमा उजुरी दिएका थिए । एनआरएनएको गत वर्षको चुनावमा गुरुङ नेपाल आउँदा उनलाई एयरपोर्टमै पक्राउ गर्ने थाहा पाएपछि उनले अदालतमा रिट दायर गरी पक्राउ नगर्ने निषेधाज्ञा ल्याएका थिए ।

एनआरएनको चुनावमा अन्तरिम आदेशका भरमा भाग लिएका गुरुङको अन्तरिम आदेशको अवधि सकिसकेको छ । अब उनी नेपाल आउँदा जुनसुकै बेला पनि पक्राउ पर्ने सम्भावना छ । गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्त नियुक्त भएका जयबहादुर चन्दको नाम भजाएर प्रदीप शर्मालाई धम्की दिएको भन्दै प्रहरीमा उजुरी पनि दिएका थिए ।

त्यतिखेर हालका एसएसपी अशोक सिंह काठमाडौं परिसरका एसपी थिए । तर गुरुङले चन्दको पावर लगाई पक्राउ पर्नबाट जोगिएका थिए । गत बर्ष गुरुङबिरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ आदेश जारी गरिसकेको छ । त्यस्तै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनको अवैध सम्पत्तिमाथि छानबिन गरिरहेको विभागका एक अधिकारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७