प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते, विद्यालय तनावग्रस्त


११ फाल्गुन २०७७, मंगलवार
d1015bd82f6165f3831b494765dbbb50 w1000 h500 cp

कञ्चनपुर, ११ फागुन । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् । कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका हुन् ।

कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिए पनि अवस्था जटिल भएका कारण थप उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ । छात्रा नाथको टाउकामा चोट लागेको छ ।

छात्राका बुवा पदम नाथले विद्यालय गएकी छोरीमाथि प्रधानाध्यापक विष्टले कुटपिट गरी घाइते बनाएको बताए । ‘छोरी विद्यालय गएकी थिइन्’, उनले भने, ‘घर आउँदा बेहोस भइन् । अस्पताल ल्याएका छौँ, टाउकामा चोट लागेको छ ।’

छात्रामाथि कुटपिट गर्ने प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले छात्रामाथि कुटपिट गरेका प्रअलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको बताए ।

घटनाबारे विद्यार्थी सङ्घसङ्गठन, महिला अधिकारकर्मीले विरोध जनाएका छन् । उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारवाहीको माग अघि सारेका छन् । अनेरास्ववियू कञ्चनपुरका नेता रमेश पन्तले घटना दुःखद् भएको भन्दै प्रअमाथि कारवाहीको माग गरे ।

महिला अधिकारकर्मी शारदा चन्द, मीना भण्डारी र निर्मला भट्टसहितका अधिकारकर्मीले महिला, बालबालिकामाथि भइरहेका घटनाको भत्र्सना गर्दै दोषीउपर कारवाहीको माग गरेका छन् ।

प्रधानाध्यापकलाई प्रहरीले नियन्त्रणमा लिएपछि मंगलबार विद्यालयमा अवस्था तनावग्रस्त बनेको छ। विद्यालयको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७