अनुगमनको नाममा राज्यकोषबाट लाखौं स्वाहा


२५ आश्विन २०७४, बुधबार

काठमाडौं : अनुगमन आतंक छ सिंहदरवारतिर ! फुलमन्त्री भएको ठाउँमा राज्यमन्त्रीको काम हुन्छ नै के ? काम नभएका राज्यमन्त्रीहरू अनुगमन भन्दै जिल्लातिर दौडेको र लाखौंको बिल पेस गरी राज्यकोषमा ब्रह्मलुट मच्चाउन उद्यत रहेको तथ्य हो यो । अस्ति सोमबार मात्र विभिन्न राज्यमन्त्रीले अनुगमनको नाममा राज्यकोषबाट २० औं लाख स्वाहा पारेका छन् ।

singdarbar PM Office

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार यसरी सबैभन्दा बढी पैसा भुक्तानी लिने मन्त्री हुन् खानेपानीका महेन्द्र यादव । उनले आफ्ना सहयोगी वीरेन्द्रकुमार यादवमार्फत अस्ति मात्र ४ लाख २५ हजार ९ सय रुपैयाँ बुझेका छन् । भूमिसुधारमन्त्री गोपाल दहितले २ लाख ३७ हजार ६ सय २० रुपैयाँ सहयोगी मीनबहादुर चौधरीमार्फत हात पारेका हुन् ।

सहकारी राज्यमन्त्री चम्पादेवी खड्काले ८५ हजार ३ सय रुपैयाँ सहयोगी तिलबहादुर अधिकारीमार्फत बुझेका छन् । त्यस्तै, शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले ४५ हजार २ सय ५० रुपैयाँ विकास अधिकारीमार्फत बुझेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । भूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामाले ७८ हजार ९ सय ५० रुपैयाँ बुद्धिमान तामाङमार्फत लिएकी छन् ।

कानुनमन्त्री यज्ञबहादुर थापाले ४६ हजार ९ सय ५०, वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले ३१ हजार ७ सय ५०, आपूर्ति राज्यमन्त्री कर्ण बूढाले १ लाख १५ हजार ५ सय ५०, महिला राज्यमन्त्री मोहम्मद जबिर हुसैनले १ लाख ८४ हजार ४ सय ५० रुपैयाँ सहयोगी राजेन्द्रप्रसाद ओझामार्फत अस्ति बुझेका छन् ।

त्यस्तै, प्रभु साहले ३० हजार २०, गिरिराजमणि पोखरेलले १ लाख ७४ हजार ६ सय २०, संस्कृति, पर्यटन राज्यमन्त्री सुमित्रा थरुनीले ३२ हजार २ सय, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६१ हजार ८ सय ५० र वीरबहादुर बलायरले अनुगमनको नाममा १ लाख ७४ हजार ३५० रुपैयाँ लिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७