भारतमा दोस्रो चरणको खोप अभियान शुरु हुँदै, ६० वर्षमाथिका सबैलाई खोप


१३ फाल्गुन २०७७, बिहीबार
korona khop 1 1

नयाँदिल्ली, १३ फागुन । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि शुरु हुने भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरूलाई खोप लगाइने छ ।

त्यसैगरी दिर्घरोगी छन् भने ४५ वर्ष माथीकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप दिइने अधिकारीहरूले बताएका छन् । केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका सुरु हुन लागेको जानकारी दिएका हुन् ।

सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेहरूले भने आफैँले रकम तिर्नु पर्ने व्यवस्था गरिएको छ । खोप लगाउनका लागि देशभरी सरकारी क्षेत्रबाट दश हजारभन्दा बढी खोप केन्द्रहरू तोकिएको छ । निजी क्षेत्रबाट २० हजारभन्दा बढी खोप केन्द्रहरू खोलिएका छन् ।

निजी क्षेत्रले लिने शुल्क पनि सरकारले तीन–चार दिनपछि तोकिदिने केन्द्रीय मन्त्री जवादेकरले जानकारी दिए । भारतमा पहिलो चरणमा एक करोड सात लाख ६७ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

कोरोना भाइरसको महामारीबाट धेरै प्रभावित मुलुकहरूको अग्रपंत्तिमा पर्ने भारतले गत जनवरी १६ देखि पहिलो चरणको खोप अभियान सुरु गरेको थियो । दोस्रो चरणमा लगाउनका लागि हामीसँग झण्डै १४ लाख खोप तयारी अवस्थामा रहेको छ । ‘यो खोप अधिकांश वृद्धवृद्धालाई नै दिइने छ,’ मन्त्री जवाडेकरले भने ।

भारतमा पहिलो चरणमा स्वास्थ्यकर्मीसहित अग्रपङ्क्तिंमा खटिएका व्यक्तिहरूलाई खोप लगाउने व्यवस्था गरिएको थियो । भारतमा प्राथमिकता क्रम निर्धारण गरेर खोप लगाउने गरिएको छ । भारत आफैले उत्पादन गरेको खोप लगाउने अभियान चलिरहे पनि कोरोनाबाट मृत्यु हुनेक्रम रोकिएको छैन ।

बुधबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा १०४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यसैगरी सोही अवधिमा १३ हजार ७४२ जना नयाँ सङ्क्रमित थपिएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरूको यो संख्या अघिल्लो दिनको भन्दा धेरै हो । भारतले आफूले उत्पादन गरेको खोप आफ्ना नागरिकसँगै विश्वका धेरै देशलाई पनि प्रदान गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७