ग्रामीण क्षेत्रमा सडक कालोपत्रे


१३ फाल्गुन २०७७, बिहीबार
kalopatre scaled

म्याग्दी, १३ फागुन । म्याग्दीको सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थालेका छन् । विसं २०५२ मा सडक सञ्जालमा जोडिएको म्याग्दीमा हालसम्म बेनी बजार, बेनी–गलेश्वर र रत्नेचौर–बेनीबाहेक अन्य सडक कालोपत्रे भएको थिएन ।

बेनी नगरपालिका–१ रत्नेचौर र मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारमा सदरमुकाम बाहिर पहिलो पटक सडक कालोपत्रे भएको छ । रत्नेचौरमा सडक डिभिजन कार्यालय बागलुङले एक हजार ३०० मिटर सडक डिभिजन कार्यालयले कालोपत्रे गरेको बेनी–१ का वडाध्यक्ष टेकबहादुर रावलले बताए । कालोपत्रे र ढलानका लागि सर्वसिद्धि कन्स्ट्रक्सन प्रालिले रु एक करोड ७३ लाखमा ठेक्का लिएको थियो ।

दोस्रो प्याकेजमा उपल्लाचौरदेखि अर्जम हुँदै भकुण्डे खण्डमा सडक विस्तार, पर्खाल र नाली बनाउन रु एक करोड ६९ लाखमा अर्को ठेक्का लगाइएको छ । रत्नेचौर बेनी नगरपालिकाले परिकल्पना गरेको चक्रपथको प्रवेश विन्दु हो । यो सडक बेनीको वडा नं २ भकुण्डे र वडा नं ३ भकिम्लीका बासिन्दाले प्रयोग गर्छन् ।

यसैगरी मङ्गला गाउँपालिकाले गण्डकी प्रदेश सरकारको साझेदारीमा बाबियाचौर बजारमा सडक कालोपत्रे गरेको छ । गाउँपालिकाका इञ्जिनीयर सुजन पौडेलले रु एक करोड १३ लाखको लागतमा ६२० मिटर सडक कालोपत्रे गरिएको बताए । ‘तीनदेखि चार मिटर चौडाइमा आक्सपाल्ट प्रविधिको कालोपत्रे बिछ्याइएको छ’, उनले भने, ‘गत वर्ष ठेक्का लगाए पनि लकडाउनले कार्यान्वयन हुन सकेको थिएन ।’ सोमरस निर्माण सेवाले ठेक्का लिएको थियो ।

दुई सयभन्दा बढी घरधुरी भएको बाबियाचौरमा यसअघि करिब रु ६० लाखको लागतमा ७२० मिटर पक्की नाली निर्माण भएको थियो । ‘घरघरमा निजी धाराबाट खानेपानी वितरण गरिएको छ’, बाबियाचौरका वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले भने, ‘यस वर्ष बाँकी ठाउँमा नाली र सडक कालोपत्रे गर्न रु ५० लाख विनियोजन भएको छ ।’

सडक कालोपत्रे भएपछि सहज र सर्वसुलभरूपमा छिटो छरितो यात्रा गर्न पाउने बाबियाचौरका बलबहादुर कार्कीले बताए। बाबियाचौरका हर्क छन्त्यालले साँघुरा सडकमा हिउँदमा धुलो र बर्खामा हिलाम्मे भएर जोखिम तथा कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था हट्ने अपेक्षा गरेको बताए । ४५ वडा रहेको म्याग्दीको गुर्जाबाहेक ४४ वडामा करिब ५०० किलोमिटर सडक निर्माण भएको छ । कच्ची सडकको स्तरोन्नति, नाली निर्माण र कालोपत्रेमा तीनै तहका सरकारले प्राथमिकता दिएका छन् ।

सडक विभागले म्याग्दीको बेनी–जोमसोम सडक, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर घार खिवाङ शिख चित्रे, प्रदेश सरकारले बेनी–दरवाङ र गलेश्वर–पिप्ले–भगवती–बेग सडक कालोपत्रे गर्न लागेका छन् । बेनी नगरपालिकाले बेनी–अर्थुङ्गे–घतान–पात्लेखेत सडक कालोपत्रे गर्न लागेको छ । म्याग्दीका विभिन्न खोलामा १० मोटरेबल पुल निर्माणाधीन छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७