देउवा निवासमा कांग्रेस शीर्ष नेताको वैठक बस्दै, सत्ता समीकरणबारे गर्ला निर्णय ?


१३ फाल्गुन २०७७, बिहीबार
congress gut

काठमाडौं, १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको शीर्ष नेताहरुको वैठक पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आज (बिहीबार) बस्दैछ ।

प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको राजनीतिक परिस्थितिमा देउवाको निवास बुढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताहरुको वैठक अहिले केहिबेरमा बस्न लागेको हो । आजको वैठकमा आगामी महाधिवेशनको तयारी तथा संसद पुनर्स्थापनापछिको नयाँ राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने कांग्रेसले जनाएको छ ।

बैठकमा सरकार समीकरणका सम्भावना र सहकार्यका विकल्पबारे छलफल गरेर कांग्रेसले आफ्नो पोजिसन स्पस्ट गर्ने कांग्रेस स्रोतले जानकारी दिएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र महाधिवेशनबारे छलफल हुने जानकारी पार्टी कांग्रेस पार्टी कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसअघिको बैठकले यही फागुनमा हुनुपर्ने महाधिवेशनलाई आगामी भदौंमा गर्ने गरी सारेको छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलगायतका अन्य वरिष्ठ नेताहरू तथा पार्टीका पूर्व पदाधिकारीहरु समेत सहभागी हुने छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि नेकपाको ओली पक्ष र प्रचण्ड –नेपाल दुवै पक्षले अब सत्ता समीकरणका लागि कांग्रेससँग सहकार्य गर्न प्रस्ताव राखेका छन् । अहिलेसम्म कांग्रेसले सरकारमा जाने नजाने स्पस्ट गरेको छैन । कानुनी रुपमा अझै पनि नेकपा विभाजित भइनसकेकोले यसको आधिकारिकताको टुंगो लागेपछि मात्र कांग्रेसले आफ्नो रणनीति र प्राथमिकता तय गर्ने बताइएको छ ।

ओलीले राजीनामा दिएमा वा उनलाई अविश्वास प्रस्तावबाट हटाइएमा नयाँ सरकार निर्माणमा कांग्रेसको भूमिका महत्वपूर्ण हुने देखिएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री बन्न १३८ सांसदको समर्थन चाहिन्छ । नेकपाका १७३ जना छन् । एक पद रिक्त छ । कांग्रेसका ६३ र जसपाका ३४ सांसद छन् ।

नेकपाका विभाजित समूह र जसपा मात्रै मिलेर सरकार बनाउने सम्भावन सहज नभएकोले कांग्रेसको भूमिका महत्वपूर्ण देखिएको हो । यस्तो बेला सरकारमा जानुभन्दा महाधिवेशनको तयारीमा केन्द्रित भएर आगामी चुनावका लागि पार्टीलाई सुदृढ बनाएर लैजानुपर्ने पक्षमा पार्टीका नेता कार्यकर्ता देखिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७