कांग्रेस पदाधिकारी बैठक : सत्ता समीकरणबारे अवस्था हेरेर अगाडि बढ्ने निष्कर्ष


१३ फाल्गुन २०७७, बिहीबार
Nepali congress meeting

काठमाडौं, १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज (बुधबार) को पदाधिकारी वैठकले नेकपा प्रचण्ड–नेपाल पक्षको सत्ता सहकार्यको प्रस्तावमा निर्णय गर्ने अनुमान गरिएको भए पनि कांग्रेसले यसबारे कुनै निर्णय गरेन ।

कांग्रेस पदाधिकारीको आजको वैठकले सत्ता समीकरणबारे छलफल गर्ने अवस्था अझै आइनसकेको जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले नेकपाको अबको अवस्था हेरेर अगाडि बढ्ने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।

‘अहिले के गर्नै भन्ने स्थिति आएकै छैन, परिपक्क स्थिति बनेकै छैन । कम्युनिष्ट पार्टी कसरी अगाडि बढ्छ । अहिलेसम्म एकै छ, संसदीय दलको नेता ओलीजी नै हुनुहुन्छ’ सहमहामन्त्री महतले थपे, ‘यो अवस्थामा भोलि उहाँहरुको पार्टी कसरी अगाडि बढ्छ, एकै रहन्छ अथवा अर्को परिस्थिति आउँछ भन्ने कुरा कांग्रेसको नियन्त्रणको कुरा होइन ।’

पदाधिकारी बैठकको शुरुमै सभापति देउवाले नेकपाका दुवै समूहले कांग्रेससँग सत्ता साझेदारीका लागि प्रस्ताव गरेको जानकारी गराएका थिए । पदाधिकारीहरुले देउवालाई पार्टीको लाइन के हो भन्ने प्रष्ट बनाउन आग्रह गर्दै ओलीसँग सहकार्यको नजिक पुगेको भन्दै आशंका व्यक्त गरेका थिए ।

जवाफमा देउवाले आफूले कुनै पनि समूहलाई बचन दिइनसकेको र नेकपा वैधानिक रुपमा बिभाजन नभएसम्म सहकार्य हुन नसक्ने बताएको जानकारी गराएको कांग्रेस नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७