‘गाउँ–गाउँमा इजरायलको अत्याधुनिक कृषि प्रविधि’


१३ फाल्गुन २०७७, बिहीबार
Capture 7

लम्जुङ, १३ फागुन । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले गाउँगाउँमा इजरायलको अत्याधुनिक कृषि प्रविधि पुर्‍याइने बताएकी छिन् । लमजुङको बेँसीशहर नगरपालिका–२ मा निर्माणाधीन श्रीजङ्ग गण नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्रको आज अवलोकन गर्दै मन्त्री अर्यालले सो जानकारी दिएकी हुन् ।

उनले भनिन्, ‘विश्वमै अगाडि मानिएको इजरायलको कृषि प्रविधि गाउँगाउँमा पुर्‍याउन सके देश समृद्धितर्फ अघि बढ्नेछ । कृषिको विकास हुन सकेमा मात्र देशको विकास हुनेमा हामी स्पष्ट छौँ ।’

व्यावसायिक कृषि, आधुनिकरण र यान्त्रिकीरण भए मात्र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार हुँदै देश समृद्ध हुने मन्त्री अर्यालको भनाई छ । नेपालका लागि इजरायलका राजदूत खनान गोडरले ७० वर्षअघिसम्म खाद्यान्न अभाव हुने इजरायल अहिले अत्याधुनिक प्रविधिको उपयोगकै कृषिमा आत्मनिर्भर भई कृषिजन्य उत्पादन निकासी गर्ने अवस्थामा पुगेको बताइन् । उनले आधुनिक प्रविधिसँग जोड्ने हो भने नेपालमा पनि कृषि क्षेत्रमा परिवर्तन सम्भव रहेको बताइन् ।

सो मन्त्रालयका सचिव डा. योगेन्द्र कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रभुकुमार शर्मा, बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याललगायतले युवा शक्तिमा चासो र लगनशिलताका साथ कृषि पेशामा लागेमा मुलुक कृषिमा फड्को मार्न सक्ने जनाए ।

नेपाली सेनाको कल्याणकारी कोषले नमूना परियोजनाका रुपमा शुरु गरेको यस तालीम केन्द्रले सैनिक परिवारका २० जना युवा युवतीलाई छानेर पढाइरहेको छ । बीएस्सीएजीसम्मको पढाइ सञ्चालन गर्ने लक्ष्य राखेको यो तालीम केन्द्र ३६७ रोपनी क्षेत्रफलमा फैलिएको छ । सेवा निवृत्त सैनिक, उनीहरुका परिवार र सर्वसाधारणलाई आधुनिक कृषि तालीम दिने लक्ष्य लिएको यो तालीम केन्द्रमा पनि इजरायलको प्रविधि भित्र्याइने भएको छ । यहाँ करिब रु १५ करोड बढी लागतमा यस तालीमको भवन निर्माण भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७