प्रचण्ड–माधव समूहलाई जसपाले भन्यो : ‘तपाईंहरूको पार्टी कुन हो ?’


१४ फाल्गुन २०७७, शुक्रबार

काठमाडौंं, १४ फागुन । नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्रीविरुद्ध साझा अविश्वास प्रस्ताव दर्ता गर्नेदेखि नयाँ सत्ता समीकरणका विषयमा सहकार्यको प्रस्ताव अन्य शक्तिसँग अघि सारेको छ । उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले यही प्रस्ताव लिएर बिहीबार जनता समाजवादी पार्टी (जसपा) नेताहरूसँग छलफल गरेका छन् । तर, नेकपाको विवाद पहिले टुंगिनुपर्नेमा जसपा देखिएको छ ।

जसपा वरिष्ठ नेता राजेन्द्र महतोले दाहाल–नेपाल पक्षको पार्टी कुन हो ? त्यो स्पष्ट हुनुपर्ने विषयमा कुरा उठाएको जानकारी दिए । ‘उहाँहरू (दाहाल–नेपाल) कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ कि भनेर कुराहरू राख्नुभयो’, नेता महतोले भने, ‘तपाईंको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो । त्यो के हो ? त्यो प्रस्ट पार्नुस् पहिले भनेर हामीले जिज्ञासा राख्यौं ।’

दाहाल–नेपालसँग छलफल गर्न जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ कोटेश्वर पेरिसडाँडा पुगेका थिए । श्रेष्ठले बुधबार पनि दाहाल र नेपालसँग छलफल गरेका थिए । झन्डै डेढ घण्टा छलफल चलेको थियो ।

पुस ५ मा आफू पक्षका सांसदको हस्ताक्षरमा अविश्वास प्रस्ताव दर्ता गरे पनि अहिले कांग्रेस, जसपा र आफूहरूबीच सहमति भए अर्काे प्रस्ताव ल्याउने पक्षमा दाहाल–नेपाल देखिएका छन् । ‘त्यस बेला त्यस्तै परिस्थिति थियो । त्यही परिस्थितिसँग जुध्न एक खाले अविश्वास प्रस्ताव दर्ता गर्ने काम भयो’, दाहाल–नेपालले भने, ‘अहिले परिस्थिति अर्काे छ, कांग्रेस, तपाईंहरू (जसपा) र हामी मिलेर साझा अविश्वास प्रस्ताव दर्ता गरौं । सत्ता समीकरण निर्माण गरौं । मिलेरै अगाडि बढौं ।’

प्रधानमन्त्रीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्न एक चौथाइ सांसद आवश्यक पर्छ । प्रधानमन्त्रीको नामसमेत उल्लेख गरेर प्रस्ताव दर्ता गराउनुपर्ने हुन्छ । दाहाल–नेपाल पक्षले पुस ५ मा दर्ता गराएको अविश्वास प्रस्तावमा वैकल्पिक प्रधानमन्त्रीमा दाहालको नाम समावेश गरेको थियो । तर, त्यो नाममा पनि लचिलो हुने गरी छलफल गरौं भन्ने प्रस्ताव दाहाल–नेपाल पक्षले गरेको छ । ‘कांग्रेस, तपाईंहरू (जसपा) र हामी पहिले बसौं। प्रधानमन्त्रीका लागि जसको नाममा सहमति बन्छ, उसैको नाम समावेश गरौं र साझा अविश्वास प्रस्ताव दर्ता गराएर जाऔं,’ दाहाल–नेपालले प्रस्ताव राखे ।

जसपाका नेताहरूले तर यो छलफललाई प्रारम्भिक भन्दै मोडालिटीका विषयमा प्रश्न गरेका थिए । ‘सहकार्यको प्रस्ताव आएको छ, यसको मोडालिटी प्रस्ट हुनुपर्छ। संविधान संशोधनका विषयमा हाम्रा मुद्दाहरू छन् । संविधानमा धेरै खाले त्रुटि छन् । रेशम चौधरी, आन्दोलनका क्रममा उहाँमाथि झुटा आरोप लगाएको छ ।

शपथ गराउने अनि संसद्मा हाजिर हुन नदिने काम भएको छ’, नेता श्रेष्ठले भने, ‘सहकार्य गर्न खुला हृदय हुनुपर्‍यो । समीकरण प्राकृतिक हुनुपर्छ । असैद्धान्तिक र अप्राकृतिक गठबन्धन ग¥यो भने आज फेरि सत्ताका लागि गठबन्धन हुन्छ । फेरि त्यो टुट्छ । त्यसैले हाम्रो जोड कुनै पनि गठबन्धन गर्दा प्राकृतिक हुनुपर्छ भन्ने छ। प्रारम्भिक वार्ता भएको हो । कार्यकारिणी समितिको बैठकले जे निर्णय गर्छ त्यही हुन्छ ।’

श्रेष्ठले दाहाल–नेपालले प्रधानमन्त्रीविरुद्ध संयुक्त रूपमा अविश्वास प्रस्ताव राखौं भन्ने प्रस्ताव गरेको खुलाए । दाहाल–नेपालको प्रस्ताव उद्धृत गर्दै श्रेष्ठले भने, ‘संयुक्त रूपमा अविश्वासको प्रस्ताव राखौं । संवैधानिक व्यवस्थाअनुसार सहमतिको आधारमा नयाँ प्रधानमन्त्री चयन गरौं । सरकारमा पनि मिलेरै जाऔं । दुई वर्षभित्र देशका सबै समस्या हल गरेर जाऔं भन्ने प्रस्ताव राख्नुभयो ।’

अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेलगत्तै दाहाल र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गर्दै मिलेर जानुपर्ने प्रस्ताव गरेका थिए । दुवै जनाले बुधबार बूढानीलकण्ठ पुगेर देउवासँग सहकार्यको प्रस्ताव दोहोर्‍याएका थिए । तर, कांग्रेस र जसपा नेकपा विवादको अन्तिम टुंगो कसरी लाग्छ भन्नेमा पर्ख र हेरको नीतिमा जान खोजेको देखिन्छ । कानुनी रूपमा विभाजन भइनसक्दा कतै आगामी दिनमा नेकपा एकै हुन्छ कि भनेर आशंकाको दृष्टिले हेरिरहेका छन् ।
छिमेकीको चासो

प्रतिनिधिसभा विघटनको निर्णय बदर भएको अवस्थामा दुई छिमेकी भारत र चीनले चासो देखाएका छन् । भारतीय राजदूत विनयमोहन क्वात्राले बिहीबार कांग्रेस सभापति देउवासँग भेट गरी पछिल्लो परिस्थितिबारे छलफल गरेका हुन् । यस्तै, चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री रामबहादुर थापासँग भेट गरी विभाजित नेकपाको एकता सम्भावनाबारे चासो राखेकी हुन् ।

गौतमले भेटे दाहाल
पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले बिहीबार बिहान दाहाललाई उनकै निवास खुमलटारमा भेट गरेका छन् । गौतमले प्रधानमन्त्री ओलीलाई सम्मानजनक रूपमा बहिर्गमन गर्ने, विकल्पमा नेकपाकै तर्फबाट प्रधानमन्त्री बनाउने, पार्टी एकता बचाउने काममा लाग्नुपर्ने प्रस्ताव दाहालसँग गरेका थिए ।

दाहालले आफू पार्टी एकताकै पक्षमा भए पनि अब ओलीसँग मिलेर जान नसकिने बताएका थिए । ‘तपाईं लाग्दै गर्नुस्, ओलीजीलाई राजीनामामा सहमत गराउनुस् । त्यसपछि अन्य विषयमा छलफल हुँदै जान्छ’, गौतमलाई दाहालले भने । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७