नागरिक अभियन्ताले भत्काए कमलपोखरी बीचमा बनाइएको कंक्रिट, प्रहरीको हस्तक्षेप


१४ फाल्गुन २०७७, शुक्रबार
Kamalpokharo

काठमाडौं, १४ फागुन । कमलपोखरीलाई सुन्दर बनाउने नाममा काठमाडौं महानगरपालिकाले कंक्रिटको जथाभावी प्रयोग गर्न थालेको भन्दै बृहत् नागरिक आन्दोलनले मार्चपास गरेको छ ।

सडक विस्तारका नाममा स्थानीयको उठिबास लगाएको भन्दै बृहत् नागरिक समाज, बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायतका विभिन्न संघसंस्थाहरुको आयोजनामा माइतीघर मण्डलमा विरोध प्रदर्शनपछि कमल पोखरीसम्म मार्चपास गरेका थिए ।

बिहीबार कमलपोखरीका तीन स्थानमा कंक्रिट संरचना राखिएको थियो । नागरिक अभियन्ताहरुले त्यसको विरोध गर्दै भत्काउन खोज्दा अभियन्ता र प्रहरीसँग धक्कामुक्की भएको हो ।

अभियन्ताहरु नारायण वाग्ले, आलोकसिद्धि तुलाधर, राजेन्द्र महर्जनलगायत ४०–५० जनाको समूह संरचना भत्काउन पुगेको थियो । कमलपोखरीको निर्माण कार्य रोकी मौलिक स्वरूपकै पोखरी बनाउनुपर्ने उनीहरुको माग छ ।

उनीहरुले कमलपोखरी पुनर्निर्माणका क्रममा पोखरीको बीच भागमा बनाइएको कंक्रिट संरचना भत्काएका थिए । उक्त संरचना भत्काउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । विभिन्न समूहको मार्चपास कमलपोखरी पुगेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
रानिपोखरीबाट पाठ नसिकेको भन्दै सम्पदा र पर्यावरणप्रति सचेत नागरिकले कमलपोखरीको संरक्षणका लागि महानगरलाई दबाब दिनुपर्ने अभियन्ताको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७