जातीय दुर्व्यवहार गर्दै अभिभावकले दलित शिक्षक कुटे


१५ फाल्गुन २०७७, शनिबार
kutpit 1
सांकेतिक तस्वीर

बर्दिवास, १५ फागुन । बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित जनता माविका शिक्षक नेत्रबहादुर रम्तेलमाथि एक अभिभावकले जातीय दुव्र्यवहार गर्दै कुटपिट गरेका छन् । गौरीडाँडाकै मनीष अर्यालले शिक्षक रम्तेलमाथि जातिसूचक शब्दहरू प्रयोग गरी दुव्र्यवहार गर्दै कुटेका हुन् ।

शिक्षक रम्तेलले शुक्रबार आफूमाथि भएको जातीय विभेद र कुटपिटविरुद्ध उनले प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले जाहेरीको आधारमा अनुसन्धान अगाडि बढाएको छ । २७ वर्षदेखि अध्यापन गराउँदै आएका रम्तेल सो विद्यालयका पूर्व प्रधानाध्यापक समेत हुन् । हाल उनी प्राविधिक धार, दश प्लस दुई र अन्य संकायका इन्चार्ज छन् ।

बिहीबार साढे ४ बजेतिर विद्यालय परिसरमै आएर अर्यालले विद्यार्थीलाई मधेसी र पहाडेका रूपमा विभाजित गराएको आरोप लगाउँदै दुव्र्यवहार सुरु गरेका थिए । त्यसक्रममा उनले सर्टको कलर समातेर लछारपछार गर्दै कुटपिट गरेका थिए । शिक्षक रम्तेलको कोर्ट, सर्ट र गन्जी च्यातिएको छ । अर्यालले ढुंगाले समेत हिर्काएका थिए ।

विद्यालयका वरिष्ठ शिक्षासेवीलाई दुव्र्यवहार भएको देखेपछि नजिकै रहेका अन्य शिक्षक, अभिभावक र विद्यार्थीले अर्याललाई समातेर प्रहरीलाई बुझाएका थिए । तर, प्रहरीले केहीबेरमै छाडेको थियो । अर्याललाई छाडेको थाहा पाएपछि अभिभावक, शिक्षक र विद्यार्थीहरूले इलाका प्रहरी कार्यालयमा नाराबाजी गर्दै ढुंगामुढा गरेपछि प्रहरीले पुनः गिरफ्तार गरेको थियो ।

शुक्रबार सयौँ विद्यार्थीको प्रदर्शन
घटनाको विरोधमा विभिन्न शिक्षक संगठनले विज्ञप्ति निकालेर विरोध जनाएका छन् । उनीहरूले शिक्षकलाई जातीय दुव्र्यवहार तथा कुटपिट गर्ने अर्याललाई कडा कारबाहीको माग गरेका छन् । प्रहरीले अर्याललाई कारबाही नगर्ने आशंका गर्दै शुक्रबार विद्यार्थीले जुलुस निकालेका छन् ।

सयौं विद्यार्थी प्रदर्शनमा निस्किएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले घटनाबारे जाहेरी दर्ता भइसकेकाले दोषीलाई कारबाही हुनेमा ढुक्क हुन आग्रह गरे । सुरुमा कमजोरी भए पनि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको बताए ।

घटनापछि शिक्षक रम्तेलले आफूले वर्षौंसम्मको अध्यापनको क्रममा सधैँ जातीय सद्भाव, सहिष्णुता र भाइचारामा विद्यार्थीहरूलाई जोड दिँदै आए पनि यस्तो दुव्र्यवहार भोग्नुपरेको भन्दै दुःख व्यक्त गरे । ‘मैले विद्यालयलाई सधैँभरि जातीय विभेदबाट निकै टाढा राखेँ । आपसमा मिलेर बस्न सिकाएँ, तर आज आफैँ जातीय विभेदमा पर्दा मन खिन्न भएको छ,’ उनले भने, ‘यो विद्यालयमा झण्डै ३२ जिल्लाका एक हजार चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यहाँ कुनै भेदभाव छैन ।’

रम्तेलले आफू जुन जातिमा जन्मिए पनि शिक्षण पेसाले जातभातको विभेद नगर्ने बताए । ‘एकजना अभिभावक आएर मेरो जाति मलाई देखाउन खोजे । मैले शिक्षकको जात नै शिक्षक हुन्छ भनेर सम्झाउन खोजेँ,’ रम्तेलले नयाँ पत्रिकासँग भने, ‘तिनले तेरो जन्म तल्लोजातिमा भएको हो, भन्दै दुर्व्यवहार र कुटपिट गरे । तर, यो विद्यालयमा अध्ययन गरिरहेका उनका दुई सन्तानलाई मैले अहिले पनि आफ्नै सन्तानसरह ठानेको छु र समान शिक्षा दिएको छु, दिइरहनेछु ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७