‘जबज’ छोड्ने एमालेको पहिलो नेता केपी ओली हुन् : अध्यक्ष प्रचण्ड

‘माधव नेपाललाई चार जिल्लामा सीमित गर्ने ओलीको योजना थियो’


१५ फाल्गुन २०७७, शनिबार
Prachanda

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन एमाले जनताको वहुलीय जनवाद (जवज) छाड्ने पहिलो नेता नै केपी शर्मा ओली भएको बताएका छन् ।

ललितपुरको जावलाखेलमा आज (शनिबार) आयोजित प्रचण्ड–नेपाल पक्षका शिक्षकहरूको राष्ट्रिय भेलामा अध्यक्ष प्रचण्डले ओलीले आफूहरुलाई एमाले र अर्को पक्षलाई माओवादी भनेर भ्रम सिर्जना गर्न खोजेको बताए ।

‘आजभोेलि केपी ओलीले ‘जबज हामी, एमाले हामी अर्को त माओवादी हो’ भनेर जो भ्रम दिन खोजिरहेका छन् योभन्दा ठूलो झुट, योभन्दा ठूलो बेइमानी, योभन्दा ठूलो अनैतिकता केही पनि हुन सक्दैन,’ प्रचण्डले भने, ‘जनताको बहुदलीय जनवाद ‘ड्रप’ गर्ने पहिलो एमालेको कोही नेता छ भने त्यो खड्गप्रसाद ओली अर्थात केपी ओली नै हो । त्यसको प्रमाण छ, राजनीतिक प्रतिवेदन, सबै जनसमितिका दस्तावेजमा केपी ओली र प्रचण्डका जेठ ३ गते भएका हस्ताक्षर छन् । यो चाहिँ सत्य हो ।’

विचारमा एकता भएपछि मात्र पार्टी एकता सम्भव भएको बताएका छन् । उनले पार्टी एकता विचार, विधि र पद्धतिको विषय भएको बताए । ‘फेरि केपी ओलीसँग सहमति हुन सक्छ सक्दैन भन्ने सन्दर्भमा सहमति को सँग हुन्छ कोसँग हुँदैन, व्यक्तिगत रुपले को कसलाई मन पर्छ वा मन पर्दैन भन्ने विषय यो होइन,’ उनले थपे, ‘यो विचारको विषय हो । यो विधि, पद्धतिको विषय हो । विचारमा एकता भयो भने एकता हुन्छ, नभए हुँदैन ।’

नेपालमा लोकतन्त्रका लागि भएको आन्दोलनमा शिक्षकरुहको भूमिका महत्वपूर्ण रहेको उनले बताएका छन् । उनले आफू समेत शिक्षकबाट आन्दोलनमा होमिएको स्मरण गरे । उनले विगतमा भएका प्रायः सबै आन्दोलनमा शिक्षकहरुले ठूलो योगदान दिएको बताए ।

‘माधव नेपाललाई चार जिल्लामा सीमित गर्ने ओलीको योजना थियो’
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई चार जिल्लामा मात्र सीमित गर्न खोजेको खुलासा गरेका छन् । अध्यक्ष प्रचण्डले तत्कालीन एमाले र माओवादीबीचको एकतामा प्रधानमन्त्री ओलीले नेपाल पक्षलाई चार जिल्लामा सीमित गर्न खोजेको खुलासा गरेका हुन् ।

‘माधव नेपाललाई चार जिल्लामा सीमित गर्ने योजना थियो’, उनले भने, ‘प्रचण्डलाई उपयोग गर्ने र चार जिल्लामा मात्रै नेपाल पक्षलाई अध्यक्ष र अन्य पदाधिकारी दिने र माधवलाई निमोठेर सिध्याउने र प्रचण्डलाई किचिक्क पार्छु भन्ने रणनीति थियो । उनले एक महिनापछि मात्रै आफूले ओलीको रणनीति बुझेको बताए । एकताका बेला प्रधानमन्त्री ओलीले आफूलाई एमाले पार्टी हाक्ने दोस्रो नेता नभएका कारण आफूसँग एकता गर्न खोजेको बताएका स्मरण गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७