कृषिमा यान्त्रीकरण : लागत र समयको बचत, उत्पादन वृद्धि


१५ फाल्गुन २०७७, शनिबार

दाङ, १५ फागुन । कृषिमा यान्त्रीकरण भएपछि दाङका किसानको बाली उत्पादनमा वृद्धि भएको छ । परम्परागत रुपमा जोत्दै आएको खेतबारीलाई आधुनिक यन्त्रको प्रयोग गर्दा कम लागतमा उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ ।

किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यान्त्रीकरणतर्फ किसानको आर्कषण बढेको छ । दाङको घोराही उपमहानगरपालिका–४ का लक्षुराम चौधरीले पुर्खौंदेखि खेत जोत्न प्रयोग हुँदै आएको ‘गोरुले जोत्न’ छाडेका छन् ।

उनले अहिले खेतबारी जोत्नका लागि गोरुको ठाउँमा (पावर टिलर) को प्रयोग गर्छन् । ‘कम श्रममा एकै पटक धेरै खेत जोत्न सकिने भएपछि गोरु बेचेर पावर टिलर खरीद गरेको हुँ’, उनले भने, ‘गोरु पाल्नका लागि घरका अरु सदस्यले घाँस काट्ने, खुवाउने र चराउने काम पनि घटेको छ । पावर टिलर खरीद गरेपछि काम छिटोछरितो भएको छ ।’

पावर टिलरको प्रयोग गरेपछि चार दिनको काम दुई घण्टामा पूरा भएको कृषकको भनाइ छ । कृषि यन्त्रको सहयोगले कृषि कार्यले काममा सहज हुनुका साथै समयको बचत भएको उनी बताउँछन् । कृषि उत्पादनमा विगतको तुलनामा दोब्बरले वृद्धि भएको छ । पावर टिलरले जोतेको खेतमा बाली धेरै उब्जनी भएको छ । गोरुले जोतेकोभन्दा धेरै राम्रोसँग माटो जोतिने भएकाले रोपाइँ गर्दा पनि एकदमै छिटो र सजिलो हुन्छ ।

आफ्नो जमीन जोतेर सकियो भने अरुको खेत जोतर आम्दानी पनि हुने गरेको छ, गाउँघरका अरुका खेतबारी जोतेर आम्दानी हुने गरेको छ अहिले आफूसँग कर्नसेलर, पावर टिलर र रिपरलगायतका कृषि यन्त्र रहेको चौधरी बताउँछन् । राप्ती गाउँपालिका–४ का चरण चौधरीले विगत तीन वर्षदेखि खेतबारी जोत्न पावर टिलरको प्रयोग गर्दै आएका छन् । उनले प्रयोग गर्ने पावर टिलर अनुदानमै पाएका हुन् ।

पावर टिलरले जोतेको माटो मसिनो र एकनाशले जोतिने भएकाले बाली लगाउनलाई सजिलो हुने र मेलो सजिलै सर्ने गरेको उनको अनुभव छ । यसले कृषि उत्पादनमा समेत वृद्धि भएको कृषक चौधरी बताउँछन् । ‘धान, गहुँलगायतका बाली भित्र्याउँदा विगतमा धेरै जनशक्ति प्रयोग गरेर बाली भित्र्याउनु पथ्र्यो । गोरुको सहायताले दाईं गर्नुपथ्र्यो, खेतबाट खलियानमा ल्याउन र खलियानमा ल्याएको बाली घरमा भित्र्याउनका लागि महिनौँ कुर्नुपथ्र्यो’, उनले भने, ‘अहिले खेतमै पावर टिलर, ट्याक्टरमा ट्राली जोडेर खलियानसम्म बाली ल्याउन सजिलो भएको छ । यन्त्रमा रिपर जडान गरेर धान गहुँ दाउन थ्रेसरको सहायताले छिटो काम हुन थालेको छ ।’

कृषिमा परम्परागत साधनको प्रयोगले पहिले पहिले मजदूरको सहयोग लिँदा धेरै खर्च हुने गरेको अनुभव रहेको बताउँछन् कृषक चौधरी । उनले आधुनिक कृषि यन्त्रको प्रयोगले समय र लागत समेत कम भएको बताए । मजदूर पनि नपाइने भएकाले यन्त्रको प्रयोग गरेर खेती गर्दा कम लागतमा कृषिको उत्पादन लिन सकिएको बताउँदै चौधरीले भने, ‘अब धान रोप्ने यन्त्र पनि ल्याउने सोचाइमा छु ।’

यस्तै घोराही उपमहानगरपालिका–२ निमुरियाकी अनिता चौधरीले पहिले पहिले घर परिवारको खर्चका लागि मात्र खेतीपाती गर्दै आएकामा कृषिमा सहयोग पुगोस् भनेर पावरटिलर र रिपर अनुदानमा पाएपछि व्यावसायिक तरकारी खेतीमा लागेको बताइन् । ‘यन्त्रको प्रयोग भएपछि काममा सजिलो भएको छ, खनजोत गोडमेल गर्न ज्यालामा मजदूर खोज्न परेको छैन, घर परिवारले मात्रै सजिलै काम गर्न सकेका छाैं ।’

व्यावसायिक खेती गर्ने अधिकांशले परम्परागतरुपमा प्रयोग गर्दै आएका कृषि साधनको साटोमा आधुनिक कृषियन्त्रको प्रयोग गरेकाले सबैलाई खेती गर्न सजिलो भएको छ । अहिले यान्त्रिक हलो प्रयोग गर्न थालेपछि गाउँघरमा व्यावसायिक खेती गर्नेको संख्या बढेको उनले बताइन् । खतजोत गर्न सजिलो भएपछि ग्रामीण क्षेत्रका कृषकले वर्षभरि नै मौसमी र बेमौसमी तरकारी उत्पादनमा लागेका छन् ।

घोराही उपमहानगरपालिका कृषि शाखा प्रमुख चोपनारायण खनालले व्यावसायिक किसानलाई छनोट गरी उत्पादकत्व बढाउन सहयोग पुगोस् भनेर ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गर्न थालेको बताए । उनले किसानलाई आवश्यक परेका कृषि औजार माग गर्न किसानको जानकारीका लागि सूचना जारी गरेपछि किसानले मेसिन माग गरेअनुसार प्रक्रिया पु¥याएर कृषियन्त्र वितरण गर्ने गरेको बताए । त्यसमध्ये कम लागतमा साना व्यावसायिक किसानले किन्नसक्ने भएकाले अनुदानमा किसानले पावरटिलरको माग धेरै गरेको उनी बताउँछन् ।

कृषि कार्यका लागि किसानले पावर टिलर र औजारको प्रयोग गर्न थालेपछि आम्दानीमा वृद्धि भएको र समयको बचत भएको प्रतिक्रिया छ । यस वर्ष पावर टिलर, रिपर, सिड ड्रिल, मिनी टिलर, कर्न सेलर कृषि यान्त्रीकरण औजार वितरणका लागि प्रक्रिया अगाडि बढाइएको खनालले जानकारी दिए । कृषि ज्ञान केन्द्र घोराहीका प्रमुख सन्देश धितालले आधुनिक कृषियन्त्र तथा औजार विगतका वर्षमा किसानलाई पावर टिलर, रिपर, कमानहार्डभेस्टर, रोटावेटर, ठूलो ट्याक्टरलगायतका कृषियन्त्र वितरण गरिएको बताए ।

कृषियन्त्र र औजारको प्रयोगले किसानलाई खेतीमा आर्कषण गरेको छ । सरकारले कृषिको उत्पादकत्व बढाई कृषि उत्पादनको लागत खर्च कटौती गर्नका लागि यन्त्रको मूल्यअनुसार ५० देखि ६० प्रतिशत अनुदानमा कृषियन्त्र उपलब्ध गराउन थालेपछि किसानले कृषियन्त्रको प्रयोगलाई प्राथमिकता दिन थालेकाले यतातिर किसानको आकर्षण बढेको छ । साना किसानका लागि पावरटिलर र ठूला किसानका लागि ठूलो टेक्टर अनुदानमा प्रदेश सरकारले विगतका वर्षमा उपलब्ध गराएको थियो ।

किसानले पावर टिलर, रोटा भेटर, तावा, टेक्टर जस्ता यन्त्र प्रयोग गरेर काम गरिरहेका छन् । पछिल्लो समयमा स्थानीय सरकारले यसको व्यवस्थापन गरेसँगै कृषिमा व्यवसायीकरण हँुदै आधुनिक कृषियन्त्रको प्रयोग हुन थालेको हो । स्थानीय सरकारलाई अधिकार दिएपछि पछिल्लो समयमा दाङका १० वटै पालिकाका स्थानीय सरकारले किसानलाई कृषियन्त्र वितरणको काम थालेका छन् । पछिल्लो समय जिल्लाका किसान प्रविधिको प्रयोग गरेर आम्दानीमा वृद्धि भएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७