भारतमा एक करोड ४२ लाख बढीले लगाए कोरोना खोप


१५ फाल्गुन २०७७, शनिबार
korona

नयाँदिल्ली, १५ फागुन । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मीहरु रहेका छन् । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ ।

सरकारी अधिकारीले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने भएको छ । त्यसैगरी दिर्घरोगी छन् भने ४५ वर्ष माथिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप दिइने अधिकारीको भनाइ छ ।

केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा गत बुधबार जानकारी दिएका थिए । सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेले भने आफैले रकम तिर्नुपर्ने व्यवस्था गरिएको उनले बताएका छन् ।

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११३ जनाको मृत्यु भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ४८८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड १० लाख ७९ हजार पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ ।

कोरोना भाइरस शुरु भएयता हालसम्म भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५६ हजार ९३८ जना पुगेको छ । हाल भारतमा एक लाख ५९ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने १ करोड ७ लाख ६३ हजार भन्दा बढी कोरानामुक्त भएका छन् ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबारसम्म देशभर २१ करोड ५४ लाख ३५ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । शुक्रबार एकै दिनमा मात्र सात लाख ७३ हजार ९१८ जना व्यक्तिको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७