कुखुराको दानाको मूल्य बढाउने तयारी


१६ फाल्गुन २०७७, आईतवार
kukhura

काठमाडौं, १६ फागुन । नेपाल दाना उद्योग संघले कुखुराको दानाको मूल्य बढाउने तयारी गरेको छ । दाना उत्पादनका लागि आवश्यक कच्चापदार्थको मूल्य बढेपछि संघले यस्तो तयारी थालेको हो । यसअघि गएको माघमा समेत प्रतिकिलो २ रुपैयाँका दरले दानाको मूल्य बढाएको संघले पुनः प्रतिकिलो २ रुपैयाँ मूल्य बढाउने भएको छ ।

अहिले अन्तरराष्ट्रिय बजारमै दाना उत्पादनका लागि आवश्यक पर्ने मुख्य कच्चापदार्थ (भटमास)को मूल्य र यसको ढुवानी भाडादर समेत बढेको संघले बताएको छ । सोहीकारण दानाको मूल्य बढाउनैपर्ने अवस्था आएको नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले बताए ।

‘अबको २ साताभित्र मूल्य बढाउने तयारी गरिएको छ,’ उनले भने । भटमासको मूल्य अझ बढ्ने सम्भावना रहेकाले दानाको मूल्य अबको महिनामै बढ्न सक्ने संकेत उनले गरे ।

उनका अनुसार मंसिरमा प्रतिकिलो ६५ रुपैयाँ रहेको भटमासको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ । अहिले भटमासको मूल्य बढ्नुपर्ने खास कारण नभए पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको बहानामा व्यापारीहरूले मूल्यवृद्धि गरेको बताइएको छ ।

अहिले ‘बी जिरो’ दानाको मूल्य प्रतिकिलो ६२ रुपैयाँ, ‘बी वान’को मूल्य प्रतिकिलो ६१ रुपैयाँ, ‘बी टू’को मूल्य प्रतिकिलो ६० रुपैयाँ र ‘बी थ्री’को मूल्य प्रतिकिलो ५९ रुपैयाँ छ । मूल्य बढेसँगै सबै प्रकारको दानाको प्रतिकिलो मूल्य क्रमशः ६४, ६३, ६२ र ६१ रुपैयाँ पुग्नेछ ।

नेपालमा दाना बनाउन प्रयोग गरिने भटमास र मकै अमेरिका, ब्राजिल, भारत लगायत देशबाट आयात गरिन्छ । दानाका लागि वार्षिक मागको ९९ प्रतिशत भटमास र ७० प्रतिशत मकै बाह्य मुलुकबाटै आयात गर्नुपर्ने अवस्था छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७