म्यानमारमा सैन्य ‘कू’ को विरोध गर्नेहरुमाथि गोली प्रहार, सात जनाको गयो ज्यान


१६ फाल्गुन २०७७, आईतवार
myanmar 4

काठमाडौं, १६ फागुन । म्यानमारमा आज (आइतबार) सैन्य ‘कू’ को विरोधमा प्रदर्शन गर्नेहरुमाथि सेनाले गोली चलाउँदा सात प्रदर्शनकारीको ज्यान गएको छ । अरु दर्जनौं प्रदर्शनकारी घाइते छन् । आइतबारको प्रदर्शन सेनाले दबाउन खोज्दा उक्त आन्दोलन यस साताकै तनाबग्रस्त बन्यो ।

सेनाले ‘कू’ गरेपछि म्यानमारमा लगातार जनप्रदर्शन हुँदै आएको छ । पछिल्लो समय जनप्रदर्शन व्यापक बन्दै गएपछि सेनाले प्रदर्शन दबाउन थालेको छ । यसअघि पनि गत साता सेनाको गोली लागेर २ जना प्रदर्शनकारी मारिएका थिए ।

नेतृ आङ सान सू चीलाई रिहा गर्न र सत्ता फिर्ता गर्न माग गर्दै सेनाविरुद्ध हरेक दिन प्रदर्शन हुँदै आएको छ । म्यानमारको ठूला शहर रंगुनसहित विभिन्न शहरमा हरेक दिन विशाल जनप्रदर्शन भइरहेका छन् । जनताको शान्तिपूर्ण प्रदर्शन दबाउन सेना अचानक आक्रामक बन्न थालेको छ ।
प्रदर्शनकारीहरुमाथि सेना र प्रहरीले रबरका गोली प्रहार गर्नुका साथै पानीको फोहोरा फ्याँकेका छन् । जसले गर्दा केही प्रदर्शनकारीहरु गम्भीर घाइते बनेको स्थानीय मिडियाले जनाएका छन् ।

म्यानमारमा गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा आन सान सू चीको पार्टीले वहुमत प्राप्त गरेपछि चुनावमा धाँधली भएको भन्दै सेनाले फेब्रुअरी १ मा सू ची नेतृत्वको सरकार अपदस्थ गरी सत्ता कब्जा गरेको थियो । साथै एक वर्षका लागि संकटकाल घोषणा गरेको छ ।

सू चीसहित अरु थुप्रै नेताहरुलाई सेनाले अझै नियन्त्रणमा लिएको छ । साथै रिहा गर्ने कुनै संकेत देखाएको छैन । स्थानीय मिडियाका अनुसार यहाँको सेनाले पक्राउ परेका नेताहरुलाई थप मुद्दा लगाउँदै नियन्त्रण अवधि लम्ब्याइरहेको छ । सेनाको यस्तो कदमप्रति अमेरिका, युरोपेली युनियन सहित थुप्रै देशले विरोध जनाएका छन् । चौतर्फी विरोधका बावजुद म्यानमारको सेना वार्ता वा सत्ता हस्तान्तरणमा लागि लचिलो देखिएको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७