सिनो हाइड्रो र मजदूरबीच सहमतिपछि काम शुरु


१७ फाल्गुन २०७७, सोमबार
tanahu hydropower

दमौली, १७ फागुन । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको प्याकेज–२ अन्तर्गतको निर्माण कम्पनी सिनो हाइड्रो कर्पोरेशन र मजदुरबीच भएको विवाद समाधान भएको छ ।

सिनो हाइड्रो र नेपाली मजदुरबीच शुक्रबारदेखि विवाद हुँदा मजदुर आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि काम अवरुद्ध भएको थियो । शुक्रबार राति विद्युत्गृहमा चालक पुष्कर थापाले स्काभेटर सफा गर्ने क्रममा पानी उछिट्टिँदा चिनियाँ व्यक्ति भिजेपछि त्यसको प्रतिशोधमा चिनियाँ व्यक्तिले ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट स्काभेटरको सिसा फुटेपछि सिनो हाइड्रो र मजदुरबीच विवाद हुँदा मजदुर आन्दोलनमा उत्रिएका थिए ।

आइतबार सिनो र मजदुरबीच भएको छलफलपछि विवाद समाधान भएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए । उनका अनुसार स्काभेटरमा ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई कारवाही गर्ने, मजदुरको मागबमोजिम जिल्ला दररेट समितिले निर्धारण गरेको पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको छ । ‘मजदुरहरुले राखेका अन्य माग पनि क्रमिकरूपमा पूरा गर्दै जाने सिनो र मजदुरबीच सहमति भएको छ’, घिमिरेले भने, ‘उक्त सहमतिसँगै सोमबारदेखि मजदुर काममा फर्कन सहमत भएका छन् ।’

आयोजनाको प्याकेज–१ का लागि निर्माण कम्पनीसँग पनि सम्झौताको तयारी गरिएको छ । पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेकामा एशियाली विकास बैंकले सोङ्दा भियतनाम–कालिका जेभीलाई छनोटको स्वीकृति दिएपछि उक्त कम्पनीसँग सम्झौताको तयारी गरिएको आयोजनाले जनाएको छ ।

पहिलो प्याकेजअन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इण्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम–कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ । कम्पनीले यसअघि पहिलो प्याकेजका लागि सिएमसीसँग ठेक्का रद्द गरेर पुनः बोलपत्र आह्वान गरेको थियो ।

प्याकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले काम गरिरहेको छ । प्याकेज–२ अन्तर्गत सिनोले सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । त्यस्तै प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि रु तीन करोड खर्च भएको छ । प्रसारण लाइन निर्माणका लागि भारतको केइसी इन्टरनेशनल लिमिटेडले ठेक्का पाएको छ ।

आयोजनाले प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले त्यसको प्रक्रियालाई समेत अगाडि बढाइसकेको छ । टावर राख्नका लागि ५३ व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्नेछ । आयोजनाको प्रसारण लाइन निर्माणका क्रममा टावर राख्नका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिनेछ भने तार तान्नका लागि २१ हेक्टर क्षेत्रफललाई क्षतिपूर्ति दिइनेछ ।

दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । चालु आर्थिक वर्षमा प्रसारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ । आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्युत्गृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुक्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन हुनेछ ।

आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।

बागलुङको विकट गाउँ सल्यानमा केन्द्रीय विद्युत्

गलकोट– बागलुङ जिल्लाको विकट गाउँ सल्यानमा केन्द्रीय विद्युत् पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । जिल्लाको बरेङ गाउँपालिका–४ सल्यानमा नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् सेवा विस्तार गरी सञ्चालनमा ल्याएपछि स्थानीयवासीमा खुशीयाली छाएको हो ।

केन्द्रीय विद्युत् प्रसारणसँगै त्यहाँका ११ अतिविपन्न परिवारलाई निःशुल्क विद्युत मिटर बक्स समेत वितरण गरिएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख इन्जिनीयर शिवनारायण गोशलीले जानकारी दिए । ‘सल्यान गाउँमा आइतबारदेखि विद्युत् बल्न थालेको छ, विपन्न घरधुरीलाई केन्द्रीय विद्युत् सेवाबाट वञ्चित हुन नदिन प्राधिकरणको अभियानअन्तर्गत निःशुल्क मिटर बक्स प्रदान गरिएको हो’, गोशलीले भने, ‘जिल्लामा हालसम्म ६० प्रतिशत केन्द्रीय विद्युतीकरण भइसकेको र केही महिनामा ८० प्रतिशत विद्युतीकरण गर्ने योजनाका साथ प्राधिकरण लागि परेको छ ।’

सल्यानमा केन्द्रीय विद्युतीकरण गर्न प्राधिकरणले रु ४५ लाख खर्च गरेको छ । केन्द्रीय विद्युत सेवा सञ्चालनमा आएपछि लामो समयदेखि लघु जलविद्युतको भरमा रहेका सल्यानवासी केन्द्रीय विद्युतको पहुँचमा जोडिएका छन् । केन्द्रीय विद्युतीकरणको विस्तार र सञ्चालनसँगै वडाभित्रका १२५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

सल्यानको राजरुख टोल र कालेशोरा टोलका ६९ घरधुरीले तीन वर्ष पहिलेदेखि नै बरेङ गाउँपालिका–५ सुखौरमा रहेको ट्रान्सफर्मरमार्फत केन्द्रीय विद्युत् उपभोग गर्दै आइरहेका छन् । योसँगै सल्यानमा पूर्णरूपमा केन्द्रीय विद्युतीकरण भएको वडा सदस्य जनबहादुर खत्रीले जानकारी दिए । घरमा केन्द्रीय विद्युत् आएपछि उज्यालो हुनुका साथै मोबाइल चार्ज, रेडियो सुन्न, विद्यार्थीलाई पढ्न लेख्नका साथै गाउँमा घरेलु उद्योग सञ्चालनका लागि सहज हुने स्थानीयवासी सञ्जु विश्वकर्माले बताइन् ।

सल्यानमा केन्द्रीय विद्युत् नहुँदा साना उद्योग, व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको र केन्द्रीय विद्युतको सेवा सञ्चालनमा आएसँगै जनताको दैनिकीमा सहजता हुने बरेङ–४ का वडाध्यक्ष लीलाबहादुर खत्रीले बताए । लघुजलविद्युत् सञ्चालन गर्दा थुप्रै चुनौतीको सामना गर्नुपरेको र अब उक्त समस्या टरेको वडाध्यक्ष खत्रीको भनाइ छ । त्यस्तै विद्युत् प्राधिकरणले बरेङ–५ सुखौराका पाँच विपन्न घर परिवारलाई पनि निःशुल्क विद्युत् मिटर वितरण गरेको वडाध्यक्ष अमरबहादुर शेरपुर्जाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७